Prakash Adhikari July 4, 2022

भीमदत्तनगर (कञ्चनपुर), २० आषाढ । महाकाली नदीमा भीमदत्त नगरपालिका १२ र चाँदनी दोधारा जोड्ने गरी ओदालीमा निर्माण भैरहेको नयाँ पुलको बनाउने कुमार सीएफइसी जेभीले नदीजन्य पदार्थ उपयोग गरेवापत भीमदत्त नगरपालिकालाई बुझाउनु पर्ने १६करोड भन्दा बढी रोयल्टी नबुझाएर आनाकानी गरिरहेको छ ।

महाकाली नदीमाथि ८ सय मिटर लामो चार लेनको पुल र सोसंगै ७ दशमलव ८ किलोमिटर लम्बाईको ६ लेन सडक निर्माण गर्ने ठेक्का कञ्चनपुरको कुमार सीएफईसी जेभी पाएको छ ।

२०७४ भदौ ७ गते निर्माण सम्झौता भएको यो योजना २०७७ भदौंभित्र सकिनु पर्ने थियो । तर कोरोना र अन्य कारण देखाउदै निर्माणको समयावधि बढाएर २०७८ जेठ १९ र त्यसपछि थपेर २०७८ फागुन १५ गते पुर्याइयो । पुल निर्माण अझै सम्पन्न भैसकेको छैन ।

३ अर्ब २७ करोड ९३ लाख ३४ हजारमा संझौता भएको यो पुलको लम्बाइ ८ सय मिटर र चौडाइ भने २३।८ मिटर रहेको छ । यो पुल आयोजना अन्तरगत भीमदत्त नगरपालिका तर्फको सीमानाका गड्डा चौकीसम्म जोड्ने ६ किलोमिटर र दोधरा चाँदनी नगरपालिकाको चाँदनीतर्फ डेढ किलोमिटर चार लेनको पहुँचमार्गको निर्माण गर्नुपर्दछ । यसका साथै गड्डाचौकी र भुजेला खोलामा पर्ने दुईवटा साना पुलको निर्माण पनि यसै अन्तरगत पर्दछ ।

पुल निर्माण स्थलमा २ किलोमिटर फैलिएको महाकाली नदीलाई पहुँचमार्गको लम्बाई बढाएर पुलको आकार छोट्याएकोले सो स्थानमा दुवैतिर २७०० मिटरका बाँध बन्ने भएका छन् । भने महाकालीका दुवै किनारामा गरी ५.५ किमी तटबन्ध गर्नुपर्नेछ ।

निर्माणको गर्दा कम्पनीले महाकाली नदीबाटै गिटी र बालुवा ठूलो परिणामा उपयोग गरेको छ । नगरपालिकाले २०७८ साल भदौ १५ सम्म आयोजनाले २०,५,३६५।०१ घनमिटर ढुंगा गिटी बालुवा प्रयोग गरेको र सो बापत प्रति घनमिटर रु ७५ का दरले रु १६,९९,५४,६८४। ७५(भ्याटसहित) नगरपालिकालाई बुझाउनु पर्नेमा ठेकेदारले जम्मा रु५७,९२,१९२। मात्र नगरपालिकामा दाखिला गरेकोले र महामलेखापरीक्षकको कार्यालयले आब २०७५।७६ को प्रतिवेदनमा १६,४१, ६२,४९२।७५ रकम बेरुजु निकालेकोले सो रकम चुक्ता गरी बेरुजु फस्यौट गर्न र रोयल्टी चुक्ता गर्न पत्राचार गरेको थियो ।

यो पत्राचार पछि पुलको निर्माता ठेकेदारले डोटी उच्च अदालत महेन्द्रनगर इजलाशमा दायर गरेको मुद्दामा सम्मानित अदालतले पुल निर्माण गरिने स्लको दक्षिण तर्फ ५०० मिटर र उत्तरतर्फ १ हजार ५०० मिटरभित्र नदीजन्य पदार्थ उत्खनन गरी अन्य काममा प्र्रयोग गरेकोमा बाहेक रोयल्टी नलिन र उल्लखित क्षेत्रमा नदीजन्य पदार्थको उत्खननको लागि ठेक्का नगर्न नगराउन आदेश दिएको थियो ।

यो आदेशमा सो क्षेत्रको नदीजन्य पदार्थ त्यहा बन्ने पुलकै निर्माण र संरक्षणका लागि प्रयोग होस् भन्ने सदासय देखिन्छ । तर निर्माता ठेकेदारले भने सो क्षेत्रको नदीजन्य पदार्थ सडकको पहुँचमार्ग र अन्य साना पुलहरुको निर्माण पनि लगाएको देखिएको छ । अदालतले सो स्थानको ठेक्का अब नलगाउनु भने पनि विगतमा आयोजनाको ठेक्का लाग्नुपूर्व भएको सो स्थानको नदीजन्य पदार्थको ठेक्काको बारेमा अदालतले बोलेको छैन । पुलको निर्माता कुमार सीएफइसीले श्री भवानी कन्स्ट्रक्सन प्रा.लि.ले पहिल्यै नगरपालिकासंग ठेक्कामा लिएको स्थानबाट नदीजन्य पदार्थ लिएर प्रयोग गरेको थियो । सुरुका तीनबर्ष पुलको ठेकेदारले पैसा दिए पनि पछिल्ला बर्षमा नदीजन्य पदार्थको मूल्य बढेपछि त्यसको भुक्तानी दिएको पनि छैन ।

नगरपालिकाले पुलको ठेकेदारले पुलमा प्रयोग भएको परिणामभन्दा बढी नदीजन्य पदार्थको उपयोग गरेको बताएको छ । उसले आयोजनामा कति यस्ता सामग्री प्रयोग भयो भन्ने विवरण आयोजनाको नियोक्ता सडक विभागसंग विवरण ने मगाएको देखिन्छ ।

जथाभावी उत्खनन र बाढीको सन्त्रास

पुल र सडक निर्माण आयोजनाको ठेकेदार कुमार सीएफइसीले पुल निर्माण भएको महाकाली नदीको दायाँबाया किनारमा विगतमा गरिएको तटबन्धसमेत भत्काएर त्यहाँको ढुंगा प्रयोग गरेकोले महाकाली नदीको पूर्वी किनाराको ठाउँठाउँमा गत बर्ष असोजमा आएको बेमौसमी बढी पसेर वडा नंं १२ र १३ मा डुवान गरेको थियो

स्थानीयबासीहरुले यसरी भत्किएको तटबन्ध समयमा नै सम्पन्न गर्न पनि ठेकेदारसंग माग गरेका छन् । नयाँ पुललाई जोगाउन महाकाली नदीको ऐरीघाटदेखि नयाँ पुलसम्मको भीमदत्त नागरपालिकाको क्षेत्रमा २ हजार ६२६ मिटर र दोधारा(चाँदनीतर्फ २ हजार ६११ मिटर तटबन्ध गर्नुपर्ने योजना कार्यालयले जनाएको छ।

ठेकेदारले यथाशीघ्र तटबन्ध नगरेमा यो बर्षामा पनि वडा नम्बर १२ र १३ का चार बस्ती ऐरी, बडैपुर, पिपरीया र ओदालीमा कटान र डुबानको जोखीम पर्ने भएका छन्।

अख्तियारमा पनि उजुरी

महाकाली नदी किनारका स्थानीयले महाकाली नदी पुल र पहुँचमार्ग निर्माणमा मापदण्डविपरीत कार्य गरिएकोले छानबिन गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोग उजुरी दिएका छन् । उनीहरूले छानबिन गरी ठेकेदार कम्पनीलाई कारबाहीका लागि आयोगको कार्यालय कञ्चनपुरमा उजुरी दिएका हुन् ।

उजुरीमा नदी किनारका दुई सय बासिन्दाले हस्ताक्षर गरेका छन् । पुल निर्माण गरी रहेको कुमार सीएफसी जेभीले पुल निर्माण र पहुँच मार्ग निर्माणमा मापदण्डविपरीत निर्माणकार्य गरी सरकारी नियम कानुनको धज्जी उडाएकाले छानबिन गर्न उजुरीमा माग गरिएको छ ।

‘ठेकेदार कम्पनीले पुल र पहुँचमार्ग राष्ट्रिय गौरवको योजना भन्दै नियम, कानुन, मापदण्ड सबै कुराको धज्जी उडाउँदै कार्य गरिरहेको अवस्थामा हामी भीमदत्त नगरवासीको स्रोत, सम्पत्तिमाथिको दोहन करोडौँ रुपैयाँ राजस्व घोटाला र मापदण्डविपरीत पहुँचमार्ग निर्माणलगायतका बेथितिविरुद्ध सचेत र कर्तव्यनिष्ठ नागरिकका रूपमा हामीले आयोगका उजुरी दिएका छौँ ।’ स्थानीयले अख्तियारमा उजुरी दिएपछि सार्वजनिक प्रेस विज्ञप्तिमा भनिएको छ, ‘हामीलाई विश्वास छ, सम्मानित संवैधानिक आयोगले यस विषयमा गम्भीर छानबिन र आवश्यक कारबाहीका लागि यथाशीघ्र कारबाही गर्ने अपेक्षा लिएका छौँ ।’

Share Now

Leave a comment.