Prakash Adhikari July 5, 2022

काठमाडौं, २१ आषाढ । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिकतर्फको हवाइ इन्धनको मूल्यवृद्धि गरेको छ ।

निगमले सोमबार मध्यरातबाट लागूहुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ९ रुपैयाँ र आन्तरिकतर्फको हवाइ इन्धनमा प्रतिलिटर ५ रुपैयाँ मूल्यवृद्धि गरेको हो ।

सोमबार राति १२ बजेदेखि पेट्रोलको मूल्य प्रतिलिटर १८१, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७२ र आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर १९० पुगेको छ ।

खपत घटाउन सुझाव

पेट्रोलियम पदार्थमा घाटा बढ्दै गएपछि नेपाल आयल निगमले सरकारलाई पेट्रोलियम पदार्थको खपत घटाउन सुझाव दिएको छ।

निगमले मोटरसाइकललाई ५ लिटर तेल दिनेदेखि, सवारी साधन जोर–विजोर प्रणालीमा लैजानेसम्मको सुझाव दिएको हो।

सोमबार पेट्रोलियम पदार्थको खपत घटाउने उपायबारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलमा लिखित सुझाव दिएको निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले जानकारी दिनुभएको छ ।

निगमले सार्वजनिक तथा अत्यावश्यक सेवाका सवारी साधनबाहेक सरकारी तथा निजी सवारी साधनलाई जोर विजोर प्रणालीमा सञ्चालन गर्न पनि प्रस्ताव गरेको छ।

देशका प्रमुख सहरहरूमा प्रत्येक शनिबार गाडीरहित सार्वजनिक बिदाको घोषणा गर्नुपर्ने निगमको सुझाव छ।

पेट्रोल पम्पहरूले मोटरसाइकललाई एक–पटकमा पाँच लिटर र कार तथा जीप लगायतका सवारी साधनलाई २० लिटर इन्धन बिक्री गर्न निगमले सरकारलाई प्रस्ताव गरेको छ।

छोटो दूरीमा सवारी साधनको सकभर प्रयोग नगरी पैदल यात्रा गर्न आह्वान गर्ने तथा ढुवानी कार्यमा प्रयोग हुने मालबाहक सवारी साधनहरू पूर्ण क्षमतामा चलाउने, मोटरसाइकल, कार सवारी साधन आदिमा सिट अनुरूप नै यात्रु रहने गरी सञ्चालन गर्ने व्यवस्था मिलाउन निगमले सरकारलाई सुझाएको छ।

पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन लगायतका अन्य उपकरणहरूको आयात बन्द गर्नुपर्ने उनीहरूको भनाइ छ।

ठूला उद्योग, परियोजना, होटल, आदिले डिजेल तथा एलपी ग्यासको खपत नगरी विद्युतको खपत गर्न आह्वान गर्न प्रस्ताव गरेको छ।

खाना पकाउने एलपी ग्यासको खपत कम गर्न विद्युतीय चुल्हो सहुलियत दरमा बिक्री गर्ने र घरायसी प्रयोजनका लागि विद्युतीय शुल्क कम गर्ने प्रस्तावमा उल्लेख छ।

विद्युतीय सवारी साधनको प्रयोगमा वृद्धि गर्न प्रमुख सहर र राष्ट्रिय राजमार्गहरूमा निःशुल्क चार्जिङ स्टेसन निर्माण गर्ने तथा सार्वजनिक निजी पार्किङ स्थलमा विद्युतीय सवारीका लागि अलग्गै निस्शुल्क पार्किङस्थल तोकिदिने व्यवस्था मिलाउने निगमले सरकारलाई सुझाएको छ।

निगमले केही महिनाअघि पनि पेट्रोलियम पदार्थको खपत घटाउन सरकारलाई सुझाव दिएको थियो। त्यसमध्ये साताको दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय टिकेको थिएन।

भारतलाई ३० अर्ब तिर्न बाँकी,घाटा ५० अर्ब पुग्दै

नेपाल आयल निगमले घाटा चुलिएर थेग्नै नसक्ने अवस्था बनेको भन्दै प्रधानमन्त्री र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको ध्यानकर्षण गराएको छ ।

सोमबार दुवै निकायमा पत्राचार गर्दै निगमले आर्थिक स्रोतको जोहो नभए निकट भविष्यमै इन्धन आपूर्ति प्रभावित हुन सक्ने चेतावनी दिएको छ । निगमका कार्यकारी उमेश प्रसाद थानीले लेखेको पत्रमा भनिएको छ ‘विषम परिस्थितिमा निगमलाई कुनै स्रोतबाट आवश्यक रकम उपलब्ध हुन सकेन, मूल्य समायोजन पनि हुन नसकेको हुँदा निकट भविष्यमा नै पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या हुनसक्छ ।’

घाटा धान्नै नसकिने अवस्थामा पुगेको भन्दै निगमले यसबाट बच्नका लागि स्वदेशमा इन्धन खपत कम गर्नुको विकल्प नभएको पनि पत्रमा उल्लेख गरेको छ ।

निमगले चालु आर्थिक वर्षको अन्त्यसम्म संस्था ५५ अर्ब रुपैयाँ नोक्सानीमा जाने प्रक्षेपण गरेको छ । भारतलाई इन्धन खरिदको भुक्तानी गर्नुपर्ने रकम ३० अर्ब नाघेको पनि उल्लेख गरेको छ ।

निगमको वित्तीय अवस्था साह्रै बिग्रिएपछि प्रधानमन्त्री र वाणिज्य मन्त्रीलाई यसबारे ध्यानाकर्षण गराएको हो । । ‘सरकारले तत्काल नसोचे अवस्था भयावह हुनेवाला छ,’ निगमका कार्यकारी निर्देशक थानीले भन्नुभयो ‘सरकारलाई भनेका छौं अब जनताले पनि समस्या बुझिदिनुपर्छ ।’

Share Now

Leave a comment.