Prakash Adhikari July 9, 2022

 

काठमाडौं, २५ आषाढ । जापानका पूर्वप्रधानमन्त्री एवम् नेपालका हितैषि शिन्जो आबेको निधनमा नेपाल सरकारले आज राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ ।

शुक्रवार बसेको मन्त्रिपरिषद्‌को बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना जापानी समकक्षीलाई समवेदना सन्देश पठाउने आबेको हत्याप्रति गहिरो दुस्ख व्यक्त गर्नुभएको छ।

मन्त्रालयले शुक्रवार जारी गरेको वक्तव्यमा देउवाले ‘आबेको अन्त्य जापानका लागि मात्र नभइ विश्वकै लागि अपूरणीय क्षति भएको’ सन्देशमा उल्लेख गरेको जनाइएको छ।

नेपालका प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेताले पनि आबेलाई ‘नेपालका असल मित्र’ भन्दै उनको निधनप्रति गहिरो दुस्ख प्रकट गरेका छन्।

आबेको हत्या

शुक्रबार जापानको नारा शहरमा चुनावी सभालाई सम्बोधन गरिरहेको बेला पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार गरिएको थियो ।

गोली प्रहार भएपछि गम्भीर घाइते हुनुभएका आबेलाई सुरक्षाकर्मीहरुले तत्कालै अस्पताल लगेका थिए । अस्पतालमा ३ घण्टा लामो अप्रेशन गरी उहाँलाई बचाउन चिकित्सकहरुले भरमग्दूर प्रयास गरेका थिए । तर अत्यधिक रक्तस्राव भएको कारण उहाँलाई जीवनदान दिन चिकित्सकहरु असफल भए । उहाँको शरिमा दुई गोली लागेको बनाइएको छ । एउटा गोलीले घाँटी छिचोलेको थियो भने अर्को गोली छातीमा लागेको थियो ।

घटनास्थलमा नै शारिरीक चाल गुमाउनुभएका आबेलाई अस्पतालमा मृत घोषित गरिएको थियो। उहाँ ६७ वर्षको हुनुहुन्थ्यो।

आबेमाथि आक्रमण गर्ने ४१ वर्षीय पुरुषलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएको थियो । उनी प्रहरी हिरासतमा छन्। ती व्यक्ति भूतपूर्व जलसैनिक भएको बताइएको छ।

घटनापछि टोक्योका पूर्वगभर्नर योइची मासुजोएले ट्वीट गर्दै आबे ‘मुटु र श्वासप्रश्वास नचलेको अवस्थामा’ भएको बताउनुभएको थियो।

जापानमा हाते बन्दुक प्रतिबन्धित छ। त्यहाँ यस प्रकारको घटनालाई एकदमै दुर्लभ मानिन्छ।

विश्व नेताको प्रतिक्रिया
जापानमा सबभन्दा लामो समय प्रधानमन्त्री रहेका आबेको हत्याप्रति विश्व नेताहरूले गहिरो दुख प्रकट गर्नुभएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडनले उहाँको निधनको खबरले आफू ‘अत्यन्त दुखित भएको’ बताउनुभएको छ।

ब्राजिलका राष्ट्रपति जइर बोल्सोनारुले तीन दिने राष्ट्रिय शोक घोषणा गर्नुभएको छ।

भारतमा पनि एक दिने शोक घोषणा गरिएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले आबेलाई ूविश्वका एक राजनेताू भन्नुभएको छ।

टोक्योस्थित चिनियाँ दूतावासले समवेदना प्रकट गरेको छ।

कसरी भयो आक्रमण ?
आफ्ना दलका एक उम्मेदवारको पक्षमा भाषण गरिरहेको बेला आबेमाथि गोली प्रहार भएको थियो।

बीबीसीका जापान संवाददाता रुपर्ट विङ्फील्ड(हेयसका अनुसार प्रत्यक्षदर्शीहरूले आफूले एउटा ठूलो बन्दुक बोकेको मान्छे देखेका बताएका छन्।

 

आक्रमणकारीले भाग्न प्रयास गरेनन्। सुरक्षाकर्मीले तत्काल समाते।

स्थानीय समाचार प्रसारक एनएचकेका अनुसार प्रहरीले उक्त हतियार बरामद गरेको छ तथा आक्रमणकारीको पहिचान गरेको छ।

को हुन् आबे ?

सरकार परिवर्तनका कारण राजनीतिक अस्थिरता बारम्बार दोहोरिने जापानमा दोश्रो बिश्व युद्दपछि लिबरल डेमोक्रेटिक पार्टी सत्तामा हावी रह्यो । आफ़्नै पार्टी भित्रको शक्तिसंघर्षका कारण जापानमा सरकार परिवर्तन भइरहने पृष्ठभूमीमा आबे झण्डै ९ बर्ष प्रधानमन्त्री हुनुभयो । उहाँले आफ्नो पार्टीलाई लगातार ६ वटा चुनाब जिताउनुभयो ।

सन १९९० को दशकदेखी सुरु भएको जापानको अर्थतन्त्रको यथास्थितिबाट जापानलाई उकास्ने नीति ल्याउनुभयो । जसलाई “आबेनोमिक्स” भनेर चिनियो । यस अन्तरगत बैंकको ब्याजदर लामो समय शून्यतिर राखियो र सरकारले आफ्नो लगानी र खर्च बढ़ाउदै लग्यो । देशको ऋण थपिए पनि यसले आर्थिक बृद्धिमा सघायो ।

चीनप्रति कडा, भारतसंग नरम र अमेरीकासंगको घनिष्ठ सम्बन्धको नीति उहाँकै प्रधानमन्त्रित्वकालमा अबलम्बन भयो । हवाईको पर्ल हार्बरमा आक्रमण गरेर अमेरिकालाई दोश्रो बिश्व युद्धमा ताने पनि अमेरिकाले हिरोशिमा र नागाशाकीमा परमाणु बम हानेपछि घुँडा टेक्न बाध्य भएको जापानका प्रधानमन्त्री आबेले पर्ल हार्बर गएर त्यस घट्नाका लागि माफी पनि माग्नुभएको थियो ।

तर उहाँले चीन र कोरियाका मामिलामा भने जापानको दोश्रो बिश्व युद्ध ताका गरेको ज्यादतिलाई लिएर पटक(पटक माफी मागिरहनु नपर्ने भन्नुभयो ।

दोश्रो बिश्व युद्धपछि बनेको जापानको संविधानले “युद्ध गर्नु राष्ट्रको अधिकार हो” भन्ने प्रावधानलाई वर्जित गरेकोमा आबेले ब्युताउनुभयो ।
आबेका हजुर बुबा र हजुर बुबाका भाई दुबै प्रधानमन्त्री हुनुहुन्थ्यो भने उहाँका बुबा बिदेश मन्त्री । आबेका भने छोरा छोरी छैनन ।

जापानमा सर्वाधिक समय प्रधानमन्त्री बन्नुभएका शिन्जो आबेले सन् २०२० मा स्वास्थ्यको कारण देखाउँदै पदत्याग गर्नुभएको थियो।

पछि उहाँले आफू पेटको रोगबाट पीडित भएको बताउनुभयो।

उहाँको सत्ता त्यागपछि योशिहिदे सुगा उनको उत्तराधिकारी बन्नुभयो। त्यसपछि फुमिओ किशिदा जापानको प्रधानमन्त्री निर्वाचित हुनुभयो।

दुर्लभ घटना
जापानमा गोलीकाण्ड दुर्लभ मानिन्छ।

जापानमा सन् २०१४ मा देशभरि केवल छवटा साङ्घातिक गोली प्रहारका घटना भएका थिए। अमेरिकामा सो वर्ष ३३,५९९ जनाको गोलीकाण्डमा मृत्यु भएको थियो।

जापानमा बन्दुक किन्न चाहने व्यक्तिले कडा परीक्षा दिनुपर्छ। उनीहरूको मानसिक स्वास्थ परीक्षण पनि गरिन्छ

Share Now

Leave a comment.