मार्तडी(बाजुरा), २६ आषाढ । बाजुराको बुढीगंगा नगरपालिकाको नतिजा नेकपा एमालेको पक्षमा गएको छ ।
आज सार्वजनिक भएको मत परिणाममा मेयरमा एमालेका रामबहादुर बानियाँ र उपमेयरमा एमालेकै मायाकुमारी खड्का (कुँवर) विजयी हुनुभएको छ ।
मेयरमा विजयी भएका एमालेका बानियाँले ४ हजार ७ सय ७७ मत पाउनुभएको छ । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रंगबहादुर खातीले ३ हजार ७ सय ७४ मत पाउनुभएको छ ।
उपमेयरमा निर्वाचित एमालेकी मायाकुमारीले ४ हजार ७ सय २७ मत पाउँदा कांग्रेसकी रिता शाहीले ३ हजार ७ सय ५५ मत पाउनुभयो।
नगरपालिकाको १० वटा वडामध्ये १, २, ३, ४, ५, ६, ९ र १० मा वडाध्यक्ष, खुला सदस्य, महिला सदस्य र दलित सदस्य सबै एमालेले जितेको छ भने वडा नम्बर ७ र ८ मा वडाध्यक्ष, खुला सदस्य, महिला सदस्य र दलित सदस्य सबै पदमा कांग्रेस उम्मेदवार विजयी भएका छन् ।
३० वैशाखमा भएको मतदानमा एमालेले बुथ कब्जा गरेको आरोप लगाउदै नेपाली कांग्रेसले पुनः मतदानको लागि निर्वाचन आयोगमा उजुरी दिएको थियो । निर्वाचन आयोगले स्थलगत अवलोकन पछि धाँधली भएको ठहर गर्दै बैशाख ३० को मतदान प्रक्रिया रद्द गरेर २३ असारमा पुनः मतदान गराएको थियो ।
१३ हजार ६ सय ५९ मतदाता रहेको बुढीगंगामा ९ हजार १ सय २८ मत खसेको थियो ।
बाजुराका बडिमालिका नगरपालिका, बूढीनन्दा नगरपालिका, गौमुल गाउँपालिका, जगन्नाथ गाउँपालिका र खप्तड छेडेदह गाउँपालिका नेकपा एमालेले जितेको छ ।
नेपाली कांग्रेसले त्रिवेणी नगरपालिका, हिमाली गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिका जितेको छ ।


















