Prakash Adhikari July 10, 2022

 

काठमाडौं, २६ आषाढ । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओ आइतबार नेपाल आउँदै हुनुहुन्छ।

चारदिने नेपाल भ्रमणमा आउनुहुने नेता लिउले आजै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट्ने कार्यक्रम छ।

उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेटवार्ता गर्नुहुने बताइएको छ।

गत जुन महिनामा चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग प्रमुख नियुक्त हुनु५८ बर्षीय लिउ निकट छिमेकी र सामरिक महत्वको भौगोलिक अवस्थिति भएको नेपालका नेपालका प्रमुख दलसँग निरन्तर सम्पर्कमा रहनुभएको छ ।

लिउले गत जुन अन्तिम साता माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीसँग अलग अलग भिडिओ वार्ता गर्नुभएको थियो । त्यस लगत्तै उहाँले परराष्ट्रमन्त्री तथा कांग्रेस नेता नारायण खड्कासँग भिडिओमा कुराकानी गर्नुभएको थियो।

कम्युनिस्ट पार्टीका वरिष्ठ नेता लिउको हैसियत चीनमा मन्त्रीसरह हुन्छ।

नेपालको परिचयात्मक भ्रमणमा आउन लाग्नुभएका चिनियाँ वरिष्ठ नेताले यहाँ पार्टीगत सम्बन्ध विस्तार, नेपाल र चीनको द्विपक्षीय सम्बन्ध विकास र नेपालसंग जोडिएका भूराजनीतिक पक्षहरुको अवस्थाको बारेमा बुझ्ने काम गर्नुहुने बताइएको छ।

उहाँको भ्रमणको अर्को महत्वपूर्ण पक्ष नेपालका वामपन्थी दलबीच चुनावी तालमेल सम्भावनाबारे अध्ययन गर्नु रहेको छ । सर्वोच्च अदालतको फागुन २३ को फैसलाले तात्कालीन नेपाल कम्युनिष्ट पार्टी पूर्ववत् नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा अस्तित्वमा आएपछि दुवै दलका वरिष्ठ नेताहरुलाई बेइजिड. बोलाएर पुनः पार्टी एकीकरण गर्न दवाव दिएको थियो ।

चीनले नेपालमा बामपन्थी सरकार कायम रहदा आफ्नो राष्ट्रिय हित सुरक्षित देख्न थालेको छ ।

गैर बामपन्थी दलहरु सत्तामा रहे अमेरिका नेपालमा पस्छ कि भन्ने त्रास चीनमा देखिन्छ । अमेरिकाको मिलिनियम च्यालेञ्ज कर्पोरेशनमार्फत सडक र विद्युत प्रशारण लाईन निर्माणमा आएको ५० करोड अमेरिकी डलरको अनुदान संझौता संसदबाट पारित गर्ने सन्दर्भमा चीनले त्यसको ठाडै विरोध गरेर नेपालका कम्युनिष्ट पार्टीका नेताहरुलाई त्यसका विपक्षमा उभिन दवाव दिएको थियो ।

नेपालले अमेरिकी सेनामार्फत सञ्चालित हुने स्टेट पार्टनरशीप प्रोगाम कार्यक्रम रद्द गर्दा चीनले स्वागत नै गरेको थियो ।

Share Now

Leave a comment.