Prakash Adhikari July 13, 2022

म्याट मर्फी /बीबीसी न्यूज

कोलम्बो(श्रीलंका), २९ आषाढ । श्रीलङ्कामा चरम आर्थिक सङ्कटका कारण आक्रोशित मानिसहरूले विरोध प्रदर्शन गरिरहेका बेला श्रीलङ्काका राष्ट्रपति गोटाबय राजपक्ष मध्य रातमा देश छोडेर माल्दिभ्स पुग्नुभएको छ । देश छोड्दा उहाँले सेनाको विमान प्रयोग गर्नुभएको थियो।

त्रिहत्तर वर्षीय राजपक्ष स्थानीय समयानुसार बिहानको ३ बजे माल्दिभ्सको राजधानी माले पुग्नुभएको थियो।

उहाँले देश छोडैसँगै श्रीलङ्कामा दशकौँसम्म शासन गर्ने राजपज्ञ परिवारको राजनीतिक वर्चस्व अन्त्य भएको छ।

शनिवार हजारौँ प्रदर्शनकारीहरूले राष्ट्रपतिको सरकारी निवासमा आक्रमण गरेदेखि उहाँ कडा सैनिक सुरक्षामा नौसेनाको आधार शिविरमा लुकिरहनुभएको थियो।

यसअघि राष्ट्रपतिले आजै(जुलाई १३मा) राजीनामा दिने वचन दिनुभएको थियो।

उहाँका भाइ पूर्वअर्थमन्त्री बसिल राजपक्षले पनि देश छाडेको स्रोतले बीबीसीलाई बताएको छ। उहाँ अमेरिका प्रस्थान गर्न लागेको ठानिएको छ।

राष्ट्रपतिको प्रस्थानको खबर सार्वजनिक भएपछि राजधानी कोलम्बोको प्रमुख प्रदर्शनस्थलमा सर्वसाधारण मानिसले उत्सव मनाएका छन्।

मङ्गलवार साँझ त्यहाँ राष्ट्रपतिको राजीनामाको पर्खाइमा हजारौँ मानिस भेला भएका थिए।

श्रीलङ्कामा उत्पन्न अभूतपूर्व आर्थिक सङ्कटका लागि राजपक्षको प्रशासनलाई दोष दिइएको छ।

महिनौँदेखि दैनिक विद्युत् कटौती तथा इन्धन, खाना र औषधि जस्ता आधारभूत सामग्रीको अभावविरुद्ध मानिसहरू सङ्घर्ष गरिरहेका छन्।

पदमा रहँदा अभियोगबाट उन्मुक्ति पाएका यी नेता पदमुक्त भएपछि नयाँ प्रशासनको गिरफ्तारीबाट बच्न विदेश भागेको ठानिएको छ।

देशलाई आर्थिक सङ्कटबाट बाहिर निकाल्न क्रियाशील सरकार चाहिन्छ। यद्यपि राष्ट्रपतिले देश छोडेपछि शक्ति असन्तुलित हुने सम्भावना देखिएको छ।

अन्य दलका नेताहरूले नयाँ सरकार बनाउनेबारे छलफल गरेको भए पनि सहमतिको नजिक पुग्ने कुनै सङ्केत देखिएको छैन। उनीहरूको निर्णय सर्वसाधारण जनताले स्वीकार गर्छन् या गर्दैनन् भन्ने समेत स्पष्ट छैन।

संविधानअनुसार राष्ट्रपतिले राजीनामा दिएको खण्डमा प्रधानमन्त्री रनिल विक्रमसिङ्घले उहाँको स्थानमा काम गर्नुपर्छ। प्रधानमन्त्रीलाई संसद्मा राष्ट्रपतिको सहायक मानिन्छ।

यद्यपि विक्रमसिङ्घे पनि निकै अलोकप्रिय हुनुुहुन्छ। गत शनिवार प्रदर्शनकारीहरूले उहाँको निजी निवासमा आगो लगाएका थिए। त्यतिबेला उहाँ र उहाँको परिवार घरभित्र थिएनन्। उहाँले नयाँ सरकार गठन गर्ने बाटो बनाउन राजीनामा दिने बताउनुभएको छ। तर उहाँले मिति भने तय गर्नुभएको छैन।

संविधानविद्हरूका अनुसार यसले संसद्को सभामुखलाई कार्यवाहक राष्ट्रपतिको रूपमा काम गर्ने सम्भावनाको बाटो खुला गर्छ। यद्यपि महिन्द यापा अभयवर्दने राजपक्षका सहयोगी मानिनुहुन्छ। जनताले उनलाई स्वीकार गर्छन् कि गर्दैनन् भन्ने कुरा पनि स्पष्ट छैन।

 

कार्यवाहक राष्ट्रपति बन्ने व्यक्तिलाई सांसदका सदस्यहरूमध्येबाट नयाँ राष्ट्रपति चयन गर्न ३० दिनको समय हुन्छ। त्यस निर्वाचनबाट विजयी व्यक्तिले सन् २०२४ को अन्त्यसम्म राजपक्षको कार्यकाल सम्हाल्न पाउनेछन्।

सोमवार श्रीलङ्काका प्रमुख विपक्षी नेता सजित प्रेमदासाले गोटाबय राजपक्षले राजीनामा दिएपछि आफू राष्ट्रपतिको उम्मेदवार बन्न चाहेको बीबीसीसँग बताउनुभएको थियो। तर उहाँलाई पनि सार्वजनिक समर्थन कम छ। समग्रमा राजनीतिकर्मीहरूले उहाँमाथि विश्वास गरेको देखिँदैन।

श्रीलङ्कालाई परिवर्तनको मोडमा उभ्याउने विरोधप्रदर्शनले पनि देशको नेतृत्व गर्ने उपयुक्त दाबेदार प्रस्तुत गर्न सकेको छैन।

श्रीलङ्काबारे
टापु राष्ट्रः दक्षिण भारतनजिकै रहेको श्रीलङ्का सन् १९४८ मा ब्रिटिश शासनबाट स्वतन्त्र भएको थियो। त्यहाँको जनसङ्ख्या २।२ करोड छ। तीनवटा जातीय समुदाय ( सिन्हाली, तमिल र मुस्लिम ( ले देशको ९९ प्रतिशत हिस्सा ओगट्छन्।

शासनमा एउटै परिवारः राजपक्ष परिवारले श्रीलङ्कामा वर्षौँदेखि शासन गरिरहेका छन्। लामो समय चलेको रक्तपातपूर्ण गृहयुद्धमा तमिल पृथक्तावादीहरू सन् २००९ मा पराजित भएपछि महिन्द राजपक्ष बहुसङ्ख्यक सिन्हालीहरूबीच नायक हुनुभयो। त्यतिबेला रक्षामन्त्री रहेका उहाँका भाइ गोटाबय राजपक्ष अहिले राष्ट्रपति हुनुहुन्छ।

आर्थिक सङ्कटले आक्रोशः अहिले श्रीलङ्काली जनताहरू आक्रोशित छन्। त्यहाँ सहज आपूर्ति हुन नसकेसँगै महँगी चुलिएको छ अनि खानेकुरा, औषधि र इन्धनको अभाव भएको छ। लोडशेडिङ बढेपछि आक्रोशित मानिसहरूले राजपक्ष परिवार र उनीहरूले नेतृत्व गरेको सरकारलाई दोष लगाउँदै सडकमा प्रदर्शन गरिरहेका छन्।

Share Now

Leave a comment.