ग्लास्गो(स्कटल्याण्ड), २९ आषाढ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टिमले आज स्कटल्याण्डसंग प्रतिस्पर्धा गर्दै छ ।
स्कटल्याण्डको ग्लास्गोस्थित टिटउड खेल मैदानमा हुने खेलमा नेपाली खेलाडीहरुलाई उच्च मनोबलका साथ उतार्न प्रशिक्षक पुबुदु दासानायके र क्याप्टेन सन्दीप लामिछानेले प्रयास गरिरहेका छन् ।
नेपाली टिमका खेलाडीहरु नराम्रा छैनन् , मात्र समन्वय र धैर्यताको अभाव खट्किएको छ ।
नामिबियासंगको खेल नेपाल जित्न सक्थ्यो । बलरहरुले राम्रो गरेका थिए । ५० ओभरको खेलमा प्रतिस्पर्धीलाई २ सय २० मा रोक्नु राम्रो कुरा हो ।
तर ब्याटिड.मा अली बढी आशा गरिएका उपकप्तान रोहितले आफैले ब्याटिड. गरेको बलको हेक्का राख्न नसक्दा शून्य रनमा आउट हुन पर्यो । एक दिवसीय खेलमा अर्ध शतक र शतकको योगदान गर्दै आएका रोहित चुक्न पुग्दा जित्ने खेल नेपालले गुमायो ।
कुशल भूर्तेल, दीपेन्द्रसिंह ऐरी, आशिफ र आरिफ शेखले खेलमा धैर्यता देखाउन सके नेपालको प्रदर्शन दोब्बर सुर्धन सक्छ । नेपाली ब्याटरहरुको समस्या यो छ कि ५० ओभरको खेलमा अर्को बल हान्न पाउदिनकी भने जसरी जुन बललाई पनि बाउण्ड्री कटाउन खोज्दा क्याच आउट र रन आउट पर्न पुग्छन् ।
आफ्नाविरुद्ध बलिड. गर्ने प्रतिस्पर्धीलाई पहिले थाक्न दिने अनि थाकेर फालेका बलहरुलाई चाहे जसरी बाउण्ड्री कटाइदिने हो भने नेपाली टोली अपराजित रहन सक्छ । तर हालसम्म नेपालका ओपनिड. ब्याट्सम्यान र टप अर्डर ब्याट्रहरुले एक दिवसीय खेलमा यस्तो धैर्यता देखाउन सकेका छैनन् ।
नेपालले स्कटल्याण्ड सिरिजका लागि श्रीलंकाका धम्मिका प्रसादलाई बलिड. कन्सल्ट्याण्ट नियुक्त गरेकोले अघिल्लो खेलमा पनि नेपालको बलिड. सुधारियो । आजको खेलमा पनि बलिड.कै भर पर्नुपर्ने अवस्था छ ।
सोमबार भएको नामिबियासँग हारेपछि नेपाल अंक तालिकामा एक स्थान तल झरेको छ। १५ अंक भएको नेपाल छैटौँ स्थानमा छ। लिग–२ अन्तर्गतका १७ खेल खेलेको नेपालले ७ मा जित, ९ मा हार र १ खेलमा बराबरी गरेको छ।
एक खेल कम खेलेको नामिबिया पाँचौ स्थानमा उक्लिएको छ। लिग–२ का १६ मध्ये ८ खेलमा जित र त्यति हार भोगेको नामिबियाले १६ अंक बनाएको छ। एक दिवसीय वरियतामा टिकिरहन दबाबमा रहेको नामिबिया सिरिज जित्ने लक्ष्यमा छ।
छैटौँ झरेपछि नेपाली टोलीमाथि दबाब बढेको छ। आगामी खेल थप नसुधारे नेपालको एकदिवसीय मान्यता संकटमा पर्न सक्छ। पछिल्लो खेलले पनि नेपाल एक दिवसीय मान्यता बचाउन नसक्ने अवस्थामा त पुग्दैन भन्ने आशंका जन्माएको छ।
नेपाललाई आगामी वर्ष हुने विश्वकपको ग्लोबल छनोट सिधै खेल्न र एक दिवसीय मान्यतालाई जोगाइराख्न सबै खेल जित्नु पर्ने दबाब छ।
सिधै विश्वकप ग्लोबल छनोट खेल्न नेपाललाई शीर्ष तीनमा रहनुपर्ने हुन्छ। शीर्ष तीनमा रहन नसके प्लेअफ खेल्नुपर्ने हुन्छ।
प्लेअफबाट ६ टोलीको खेलमा फेरि शीर्ष दुईमा पर्न सके मात्रै नेपालले विश्वकप ग्लोबल छनोट खेल्न पाउनेछ। एक दिवसीय मान्यता जोगाइराख्न अंक तालिकाको शीर्ष पाँचमा रहनुपर्ने हुन्छ।
एक दिवसीय मान्यता जोगाउन मात्र पनि अहिले नामिबियालाई भन्दा धेरै चुनौती नेपाली टोलीलाई छ। एक दिवसीय वरीयतामा नेपाल १९ औँ स्थानमा रहँदा नामिबिया १८ औँ स्थानमा छ।
निराशाजनक प्रदर्शन
एक दिवसीय शृङ्खलाको पछिल्ला ११ खेलमा नेपाली टोलीले ३ खेल मात्रै जितेको छ। एक खेल बराबरी हुँदा आउँदा बाँकीमा भने हार भोगेको छ।
जितेका तीनमध्ये नेपालले पपुवा न्यु गिनीलाई एक खेलमा ७ र अर्को खेलमा २ विकेटले तथा ओमानलाई ७ विकेटले हराएको थियो।
एउटा खेल अमेरिकासँग बराबरीमा सकिएको थियो।
अन्य खेलमा भने नेपाल सोमबारको खेलमा नामिबियासँग ४० रनले पराजित हुनुअघि अमेरिकासँग ३९ रनले हारेको थियो।
त्यस्तै ओमानसँग १३ पराजित भएको थियो। साथै यूएईसँग ९९ र ४८ रनको फराकिलो अन्तरले पराजित भएको थियो।
नेपालको ब्याटिङ लाइन सुधारका लागि नेपाल क्रिकेट संघ (क्यान) ले ब्याटिङ कन्सलटेन्ट ल्याउने तयारी गरेको छ।
त्यसका लागि भारत र श्रीलंकासहित तीन देशसँग कुरा भइरहेको क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले बताउनुभएको छ।


















