रत्ननगर(चितवन),४ चैत्र । नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनको सातौ महाधिवेशन आजदेखि रत्ननगर चितवनमा आरम्भ भएको छ ।
तीन दिवसीय महाधिवेशनको कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका छन्।
महाधिवेशनमा ५ सय ७० जना प्रतिनिधि र २ सय जना पर्यवेक्षकको सहभागिता रहेकोे संघका अध्यक्ष सुवोधकुमार देवकोटाले जनाएका छन् ।
पाँचौं महाधिवेशनबाट फुटेर युनियन र संघका विभाजित भएको कांग्रेस निकटका निजामति कर्मचारीहरु सातौं महाधिवेशनबाट एकजुट हुँदैछन् ।
छैठौं महाधिवेशन छुट्टाछुट्टै गरेका संघ र युनियन सातौ महाधिवेशनसम्म आइपुग्दा एक भएका हुन् ।
महाधिवेशनले ८५ सदस्यीय केन्द्रीय कार्यसमिति र सात वटा प्रदेश समिति चयन गर्नेछ ।
नेपाल निजामति कर्मचारी युनियन संघको अध्यक्षका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष गोपाल पोखरेल, महासचिव शरद अधिकारी र सचिव राजेन्द्र बुढाथोकी बीच प्रतिस्पर्धा हुने जनाइएको छ ।
यद्यपि सहमतिको प्रयास पनि जारी छ ।
संघका ७७ जिल्लामा जिल्ला कार्यसमिति र ४६ वटा विभागीय कार्यसमिति रहेको छ । देशभर संघमा आबद्ध २८ हजार सरकारी कर्मचारी रहेका छन् ।
आजै सम्पन्न भएको कांग्रेस निकट शिक्षक संघको निर्वाचनको नतिजाले यो महाधिवेशन र त्यसले निर्वाचित गर्ने नेतृत्वमा पनि असर गर्ने देखिएको छ ।
शिक्षक संघमा संस्थापन विरोधी समूहको वर्चश्व देखिएको छ ।