कोलम्बो(श्रीलंका), ४ श्रावण। श्रीलंकाको संसदमा आज भएको राष्ट्रपतिको मतदानमा श्रीलंकाली संसदले प्रधानमन्त्री रनिल विक्रमसिंघेलाई नै राष्ट्रपति चयन गरेको छ ।
आज भएको मतदानमा विक्रमसिंघेले १ सय ३४ मत पाउनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी दलस अलापेरुमाले ८२ मत ।
संसदमा २ सय २३ सांसद रहे पनि २ जना सांसद मतदानमा अनुपस्थित थिए भने ४ मत बदर भयो ।
राष्ट्रपति निर्वाचित भएलगत्तै विक्रमसिंघेले देशको आर्थिक संकट समाधानका लागि सबै दललाई मिलाएर काम गर्ने बताउनुभएको छ ।
देश छाडेर भागेका निवर्तमान राष्ट्रपति गोटाबाया राजापाक्षेले राजीनामा दिएपछि श्रीलंकामा नयाँ राष्ट्रपति चय गरिएको हो । उहाँको कार्यकाल २०२४ को नोभेम्बरसम्म रहने छ ।
श्रीलंका आर्थिक संकटमा फसेपछि नागरिकले राष्ट्रपति भवन र प्रधानमन्त्रीको कार्यालय कब्जा गरेका छन् ।
यो बिचमा आर्थिक संकटमा फसेको देशको पुनरत्थान गर्ने जिम्मेवारी विक्रमसिंघेको काँधमा छ ।
तर राजापाक्ष परिवारको निकट रहेको र देशको अवस्था सुधारमा कुनै योगदान नगरेको भन्दै प्रदर्शनकारीले रनिल विक्रमसिंघेको पनि राजिनामा मागेका थिए ।


















