Prakash Adhikari July 20, 2022

 

वाशिंटन डी.सी.(संयुक्त राज्य अमेरिका), ४ श्रावण (बीबीसी) । रुसले क्राइमिया क्षेत्रलाई आफ्नो कब्जामा लिन बनाएको रणनीति प्रयोग गरेर थप युक्रेनी भूभागलाई आफ्नो देशमा गाभ्ने योजना बनाएको अमेरिकाले दाबी गरेको छ।

अमेरिकी गुप्तचर निकायलाई उद्धृत गर्दै त्यहाँको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले रुसले युक्रेनको भूभाग नियन्त्रणमा लिनका निम्ति आधार तयार पारिसकेको बतानुभयो।

युक्रेनका कब्जा गरिएका क्षेत्रहरूले रुसमा गाभिने विषयबारे सेप्टेम्बर लगत्तै ूफर्जीू जनमत सङ्ग्रह गर्न सक्ने उहाँले बताउनुभयो।

सन् २०१४ मा जनमत सङ्ग्रहपछि रुसले युक्रेनको क्राइमियालाई आफ्नो क्षेत्रमा गाभेको थियो। उक्त कार्यलाई व्यापक रूपमा अवैधानिक रूपमा हेरिएको थियो।

“हामी यसबारे अमेरिकी जनतालाई स्पष्ट पार्न चाहन्छौँ “,ूकिर्बीले पत्रकारहरू समक्ष भन्नुभयो, “रुसको यस कार्यबारे कोही पनि जानकार नभएको होइन। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सन् २०१४ मा प्रयोग भएको रणनीतिक ुप्लेबुकुको धूलो टकटकाउँदै छन्।”

उहाँले रुसले युक्रेनी क्षेत्रहरूमा अवैध रूपमा रुस समर्थक अधिकारीहरू तयार पारेको आरोप लगानुभयो। रुसले युक्रेनको भूभागलाई आफ्नो बनाउन जनमत सङ्ग्रह गराउने उद्देश्यका साथ त्यसो गरेको किर्बीको भनाई छ।

मतदानको नतिजा रुसले ‘सार्वभौम युक्रेनी भूभागलाई आफूमा गाभेको दाबी गर्नको लागि’ प्रयोग गर्ने उहाँले बताउनुभयो।

रुसले आफ्नो कब्जामा लिएको युक्रेनी क्षेत्रहरूमा यसअघि नै आफ्नै क्षेत्रीय र स्थानीय अधिकारीहरूको कार्यालय स्थापना गरिसकेको छ।

सन् २०१४ मा हतारमा आयोजना गरिएको सङ्गठित जनमत सङ्ग्रह पछि रुसले क्राइमियालाई आफ्नो नियन्त्रणमा लिएको थियो। त्यस कार्यलाई अन्तर्राष्ट्रिय समुदायले अवैध ठानेको थियो। यद्यपि, मतदाताहरूले आफ्नो भूभाग रुसमा गाभिने पक्षमा मत खसालेका थिए।

त्यतिबेला किएभ समर्थकहरूको ठूलो जमातले मतदान बहिष्कार गरेका थिए र उक्त अभियान न स्वतन्त्र थियो न त निष्पक्ष नै।

किर्बीले आफूले रुसी योजनाहरू उजागरगर्नुको उद्देश्य ‘संसारलाई कुनै पनि कथित विलय पूर्वनियोजित, गैरकानूनी र अवैध हो भन्ने थाहा दिनु’ भएको बताउनुभयो। उहाँले यसबारे अमेरिका र उसको सहयोगीहरू राष्ट्रहरूबाट द्रुत प्रतिक्रिया जनाउने वाचा गर्नुभयो।

रुसले आफूमा विलय गर्नका लागि लक्षित क्षेत्रहरूमा खेरसन, जापोरिज्जिया, डोनेट्स्क र लुहान्स्क समावेश रहेको उहाँको भनाई छ।

ओलेना जेलेन्स्का

ओलेना जेलेन्स्काः युक्रेनी प्रथम महिला अमेरिकामा

युक्रेनकी प्रथम महिला ओलेना जेलेन्स्का शृङ्खलाबद्ध उच्च तहका छलफलहरूका निम्ति अमेरिकामा हुनुहुन्छ। उहाँले त्यहाँको संसद्मा समेत सम्बोधन गर्नुहुनेछ।

उहाँका पति राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भर्चुअल मन्तव्यमार्फत अमेरिकासँग थप सैन्य उपकरणहरू माग गरे लगत्तै उहाँ अमेरिका पुग्नुभएको हो ।

जेलेन्स्काले सोमवार अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्केनलाई भेटेको र मङ्गलवार समकक्षी जिल बाइडनसँग वार्ता गर्ने ह्वाइट हाउसले जनाएको छ। यो उहाँहरूको दोस्रो भेट हुनेछ। यसअघि गत मे महिनामा बाइडनको अघोषित युक्रेन भ्रमणका क्रममा उहाँहरूको भेट भएको थियो।

उहाँले बुधवार क्यापिटल हिलमा सांसदहरूलाई सम्बोधन गर्ने कार्यक्रम तय छ।

युक्रेनी सरकारमा जेलेन्स्काको आधिकारिक जिम्मेवारी छैन। तर युक्रेनमा रुसले आक्रमण सुरु गरेको करिब पाँच महिना पछि किएभले अमेरिकाबाट थप सैन्य सहायता र राजनीतिक समर्थन चाहेको छ।

अमेरिकी सांसदले सेप्टेम्बरको अन्त्यसम्ममा युक्रेनलाई हस्तान्तरण हुने गरी लगभग ४० अर्ब डलर सहायता स्वीकृत गरिसकेको छ।

थप घटनाक्रम
आक्रमण सुरु भएको महिनौँ पछि थुप्रै मानिसहरू राजधानी किएभमा फर्किरहेका छन् र उनीहरूले आफ्नो घर ध्वस्त भएको पाएका छन्।

किएभमा मात्र दुई सयभन्दा बढी आवासीय भवनमा पूर्ण रूपमा क्षति भएको छ।

सरकारले त्यसको मर्मत सम्भारका लागि १ करोड ९० लाख डलर उपलब्ध गराउने भनेको छ तर त्यो अपर्याप्त हुने डर छ।

Share Now

Leave a comment.