काठमाडौं, १५ श्रावण । नियात्रा विधामा चर्चित साहित्यकार पोष चापागाईँको ११ औ नियात्रा संग्रह आनन्द(दृश्य र अनुभूति)को विमोचन सम्पन्न भएको छ ।
यही साउन १३ गते शुक्रबार नेपाल प्रज्ञा भवनमा आयोजित एक कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुड., प्राज्ञ डा.दिनेशराज पन्त, समालोचक डा.दामोदर पुडासैनी र राजेन्द्र अधिकारी,लेखक पोषराज चापागाईँ लगायतले नियात्रा संग्रहको सामूहिक विमोचन गर्नुभएको थियो ।
२०७६ सालमा श्रावण महिनामा उहाँसहित ३०जनाको समूहले गरेको ल्हासा मार्ग हुँदै कैलाश मानसरोवर यात्रालाई उहाँले जीवन्त ढंगले उतार्नुभएको छ ।
काठमाडौंबाट ल्हासा,ल्हासाको दृश्यावलोकन,ल्हासादेखि सिगात्सेसम्मको रेलयात्रा,सिगात्सेबाट ब्रह्मपुत्रको किनारकिनारै साँगा, साँगादेखि मानसरोवर,मानसरोवरदेखि दार्चेन, कैलाश परिक्रमाको यमद्धारसम्मको वस यात्रा र त्यसपछिको देरापुक, जुथुलपुकसहितका स्थानको ४४ कि.मी.पैदलयात्रा गरी दार्चेन साँगाहुँदै केरुड. र केरुड.देखि रसुवागढी हुँदै काठमाडौंसम्मको यात्रालाई लेखकले निकै मिठासपूर्ण शैलीमा वर्णन गर्नुभएको छ ।
विमोचन समारोहमा कैलाश मानसरोवर यात्राका सहयात्री ई.प्रकाश उपाध्याय,समालोचक डा.दामोदर पुडासैनी, राजेन्द्र अधिकारी,कृष्णप्रसाद घिमिरेले नियात्रासंग्रहका शब्द,शैली,अनुभूति,प्रस्तुतिको समीक्षा गर्नुभएको थियो भने नियात्राकार चापागाईँ तथा अतिथि नियात्राकार डा.अनन्त अधिकारीले यात्रा,दृश्य र अनुभूतिका साथै नियात्रा लेखनका बारेमा प्रकाश पार्नुभएको थियो ।
१ सय ७८ पृष्ठको उहाँको नियात्रा संग्रहमा १ सय ४४ पृष्ठ मा उहाँको आफ्नै दृश्य र अनुभूति पढन पाइन्छ भने १५ पृष्ठमा अतिथि नियात्राकारको रुपमा मानसिक अस्पताल ललितपुरका डा.अनन्त अधिकारीको यात्रा अनुभूति जोडिएको छ । बाँकी पृष्ठमा सन्दर्भ सामग्री, परिशिष्ट र तस्बिरहरु समेटिएका छन् ।
यात्राको क्रममा पैदलै कैलाश परिक्रमा गर्न उहाँ असमर्थ हुनुभएकोले सो पक्षलाई समेटन नियात्राकार चापागाईँले अनुरोध गर्नुभएपछि डा. अनन्त अधिकारीले अतिथि नियात्राकारको रुपमा सो यात्राको अनुभूति लेख्नुभएको हो ।
यस अगाडि नियात्राकार चापागाईँका सौन्दर्य २०७७, लोवाक कफी २०७७, पानीको भाषा २०७४, माटो २०७२, समुद्रमा संगीत २०७२,बाफको पर्दा २०६८,मौन चुल्ठो २०६४,गोसाइँकुण्डदेखि चेन्नईसम्म(२०६०),पश्चिम अष्ट्रेलियाको यात्रा संस्मरण सेरोफेरी पर्थको(२०५८) नामक नियात्रासंग्रह प्रकाशित भैसकेका छन् ।
उहाँका रुप आत्मा र चरित्र नामक एक निबन्ध(२०५३) लप्सीधारो(२०५६)र हाइकु कथा(२०६१) तीन बालकथा आमा पुतली (२०५८), मान्छे र बाँदर(२०५९) र सुनको डल्लो(२०७६) प्रकाशित छन् । त्यसबाहेक बान्की नामक समालोचना संग्रह पनि प्रकाशित भएको छ ।



















