Prakash Adhikari July 31, 2022

काठमाडौं, १५ श्रावण। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा जनार्दन शर्मालाई अर्थमन्त्री पदमा नियुक्त गर्नुभएको छ ।

आइतबार राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (९) बमोजिम शर्मालाई अर्थ मन्त्रालयको कार्यभार सम्हाल्ने गरी सो पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभएको छ ।

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीका अनुसार नवनियुक्त अर्थमन्त्री शर्माको शपथ ग्रहण आइतबार साँझ ५ः३० बजे शीतल निवासमा हुनेछ ।

बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेपछि उहाँले पदबाट राजीनामा दिनुभएको थियो ।

बजेट निर्माणमा अनधिकृत व्यक्ति पठाएर कर र भंसारका दर हेरफेर गरेको सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले दिएको प्रतिवेदनमा उहाँ निर्दोष देखिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले उहाँलाई पुनः अर्थमन्त्री नियुक्त गर्नुभएको हो ।

उहाँले साउन २२ गते संसदीय छानबिन समिति गठन भए लगत्तै प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा घोषणा गर्नुभएको थियो ।

११ सदस्यीय संसदीय छानबिन समितिले शुक्रबार सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको थियो ।

सभामुखलाई प्रतिवेदन बुझाए लगत्तै छानबिन समितिका सभापति लक्ष्मणलाल कर्णले उक्त प्रतिवेदन प्रतिनिधिसभामा पेश गर्नुभएको थियो ।

तत्कालीन अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९ । ८० को बजेट निर्माणका क्रममा जेठ १४ गते राति अनाधिकृत व्यक्ति प्रवेश गराएर करका दर हेरफेर गराएको भन्दै समाचार बाहिरिएपछि प्रतिनिधि सभाले संसदीय छानबिन विशेष समिति गठन गरेको थियो।

समितिले निर्धारित १० दिनमा काम सम्पन्न नगरेपछि साउन ५ गते थप ७ दिन समय थप गरिएको थियो। समितिले करका दर हेरफेरमा अनधिकृत व्यक्तिको प्रसङ्ग असान्दर्भिक भएको निष्कर्ष निकालेको थियो

Share Now

Leave a comment.