ताइपेइ(ताइवान), १७ श्रावण । सैन्य कारबाही गर्ने बेइजिङको चेतावनीका बाबजुद अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान अवतरण गर्नुभएको छ।
चीनको चर्को दबाबका बीच अघोषित भ्रमणमा पेलोसी मंगलबार राति ताइवानको सोङसान विमानस्थलमा ओर्लिनुभएको हो ।
उहाँ चिनियाँ सेनाको अवरोध छिचोल्न मलेसियाबाट फिलिपिन्सको आकास हुँदै घुमाउरो बाटो रोजेर ताइवान उत्रिनु भएको बताइएको छ।
https://twitter.com/rajannns/status/1554519237405773824
१९९७ यता यति उच्च अमेरिकी अधिकारीले गरेको यो पहिलो ताइवान भ्रमण हो। अमेरिकामा सभामुख राष्ट्रपतिको उत्तराधिकारीको सूचीमा दोस्रो नम्बरमा रहने गर्छन्।
पेलोसीले बुधबार ताइवानकी राष्ट्रपति साइ यिङ वेनलाई भेट्ने बताइएको छ। पेलोसीको भ्रमणबाट आक्रोशित चीनले मंगलबार रातिदेखि नै ताइवानविरुद्ध फौजी कारबाहीको घोषणा गरेको छ।

ताइवान घेरेर सैन्य अभ्यास चीनको घोषणा
चिनियाँ जनमुक्ति सेनाले ताइवानवरिपरि ६ स्थानमा सैन्य अभ्यास गर्ने घोषणा गरेको छ।
अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको प्रतिक्रियास्वरुप सो सैन्य अभ्यास गर्न लागिएको हो।
अगस्ट ४ देखि ६ सम्म सो अभ्यास गरिने चिनियाँ सरकारी सञ्चारमाध्यमहरुले जनाएका छन्।

पेलोसीको भ्रमणलाई चीनले अत्यन्त खतरनाक भनेको छ। पेलोसी मंगलबार राति ताइवान ओर्लिनुभएको छ।
यो भ्रमणले विश्वका दुई सबैभन्दा ठूला शक्तिबीच तनाव चुल्याउने आशंका गरिएको छ।

उत्रिनै लाग्दा लडाकु विमान परिचालित
अमेरिकी सभामुख ताइवानमा उत्रिनैलाग्दा चिनियाँ लडाकु विमानले ताइवान जलसन्धि पार गरेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएको छ।
चिनियाँ एसयू–३५ विमानले ताइवान जलसन्धि पार गरेको पिपुल्स डेलीले जनाएको छ।

पेलोसी चढेको विमान मलेसियाबाट फिलिपिन्स सागर माथिबाट ताइवान पुग्न लागेको बताइएको छ।
सभामुख पेलोसी सोङसान विमानस्थलमा उत्रिने बताइएको छ। जहाँ कयौँ सर्वसाधारण भेला भएको जनाइएको छ।

चिनियाँ जनमुक्ति सेनाको विमानले बाटो छेक्न सक्ने अनुमान गरेर पेलोसीको विमानले घुमाउरो मार्ग तय गरेको विश्वास गरिएको छ।



















