Prakash Adhikari August 2, 2022

भुवनेश्वर(भारत), १७ श्रावण । साफ यू२० च्याम्पियनसिपमा बंगलादेशसँग बराबरीको नतिजा निकालेको नेपाल अर्को खेलमा भारतले मालद्धीपलाई पराजित गरेसंग प्रतियोगिताबाट बाहिरिएको छ ।

भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा मंगलबार भएको खेलमा नेपालले बंगलादेशसँग एक एक गोलको बराबरी गर्दे अंक बाँडेको हो।

च्याम्पियनसिपमा अपराजित रहेको बंगलादेशले १० अंकसहित फाइनलमा प्रवेश गरेको छ।

बराबरीको नतिजाले नेपालको ७ अंक भएको छ। मालद्धीपलाई पराजित गरेका भारत भने ३ खेल जित्दै ९ अंकसहित फाइनल पुगेको छ।

आजको खेलमा ६३ औँ मिनेटमा पियास अहमद नोभाले गोल गर्दै बंगलादेशलाई १–० को अग्रता दिलाए। खेलको ६९ औँ मिनेटमा नेपालका निराजन मल्लले गोल गर्दै खेललाई बराबरीमा ल्याए।

खेलको दोस्रो हाफ केहीबेर तनावपुर्ण बनेको थियो। तनावपुर्ण खेलमा दुवै टोलीले ५१ औँ मिनेटमा रातो कार्ड खाँदै १० खेलाडीमा सिमित भए। नेपालका दिपेश गुरुङले खेलको ५१ औँ मिनेटमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिए।

यस्तै झगडामा सामेल भएको भन्दै बेन्चमा रहेका वैकल्पिक खेलाडी रोहित सुब्बाले रातो कार्ड पाए। बंगलादेशका शाहिद इस्लामले दोहोरो पँहेलो कार्ड पाउँदै मैदान छाडे।

भारतद्धारा १- ०ले मालद्धीप पराजित

भुवनेश्वरमा भएको प्रतियोगिताको अन्तिम लिग खेलमा भारतले मंगलबार माल्दिभ्सलाई १–० ले पराजित गर्दै फाइलन यात्रा तय गरेको हो ।

भारत नौ अंकसहित लिग तालिकाको दोस्रो स्थानमा रह्यो ।

भारतका लागि गरकित सिंहले खेल सकिन एक मिनेट अगाडि निर्णायक गोल गरे ।

खेलको अन्त्यमा भारत १० खेलाडीमा सीमित रह्यो । पार्थिव गोगोइ रातो कार्डसँगै मैदान छाड्न बाध्य रहे ।

भारतले श्रीलंका,नेपाल र मालद्धीपलाई पराजित गर्यो ।

लिग चरणको आफ्नो तेस्रो खेलमा भारतसँग पराजित हुनु नै नेपालको फाइनल यात्राको लागि अवरोध बन्यो ।

यस पटक नेपालले खेल जित्ने ठूलो अपेक्षा राखेको थियो ।

Share Now

Leave a comment.