काठमाडौं, ५ चैत्र (बीबीसी) । गत हप्ता भएको यूएस(बंगाला विमान दुर्घटनामा परी ज्यान गुमाएकामध्ये २३ जना बंगालादेशी यात्रुको शव विशेष उडानबाट सोमवार बंंगलादेशको राजधानी ढाका पठाइएको छ।
बंगालादेशी नागरिकहरूको शव लिन बंगालादेश विमान बाहिनीको विशेष उडान काठमाण्डौं आएको थियो।
नेपालका फरेन्सिक विज्ञहरूले शवहरूको पहिचान गरी आइतवार साँझ काठमाडौंस्थित बंगलादेशी दूतावासका अधिकारीहरूलाई बुझाएका थिए।
दूतावासका कन्सुलर अल अलेमुल इमामका अनुसार नेपाली पक्षले मृतकको पहिचानपछि हस्तान्तरण गरेका बंगालादेशी नागरिकको शव बोकेको विमान अपराह्ण २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको हो।
उनका अनुसार ती शवहरू ढाकाको विमानस्थलबाट सैनिक रङ्गशाला लगिनेछ जहाँ विशेष प्रार्थनासभा आयोजना हुँदैछ।
सो कार्यक्रममा प्रधानमन्त्री शेख हसिना पनि सहभागी हुने बुझिएको छ। ूप्रार्थनासभापछि शवहरू मृतकका आफन्तलाई हस्तान्तरण गरिने योजना छ,ू इमामले भने।
नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेका अनुसार तीन जना बांग्लादेशी यात्रुको शव पहिचान हुन बाँकी छ।
पहिचान
पहिचान गरिएका मृतकहरूमा १० जना महिला, दुईजना बालबालिका र ११ जना पुरूष भएको कन्सुलर इमामले बताए।
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत सोमवार भएको दुर्घटनामा ४९ जनाको मृत्यु भएको थियो।
घाइते
दुर्घटनामा २२ जना यात्रु घाइते भएका थिए।
तीमध्ये आठ बंगलादेशी घाइते यात्रुलाई थप उपचारका लागि ढाका र दुई जनालाई सिङ्गापुर पठाइएको कन्सुलर इमामले बताए।
यूएस(बांग्ला एअरलाइन्सका नेपालस्थित प्रतिनिधि संजीव घिमिरेका अनुसार हाल घटनामा घाइते भएका ११ मध्ये पाँच जना काठमाडौं अस्पतालमा छन्। अरू घर फर्किसकेका छन्।
घाइतेमध्ये एक नेपलाीलाई थप उपचारका लागि सिङ्गापुर पठाइने जानकारी घिमिरेले दिए।