काठमाडौं, ८ भाद्र । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेतासमेत रेहका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितको टोलीबीच भेटघाट सम्पन्न भएको छ ।
भेट बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको हो ।
भेटवार्तामा अध्यक्ष ओलीसँगै एमालेका नेताहरू सुवास नेम्वाङ र विष्णु पौडेल पनि सरिक हुनुहुन्थ्यो । प्रधानमन्त्रीको साथमा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की रहनुभएको थियो।
भेटमा अध्यक्ष ओलीले प्रधानमन्त्री देउवासँग महंगीका विषय पनि उठाउनुभएको बुझिएको छ ।
प्रधानमन्त्री र एमालेअध्यक्षसहितको टोलीबीच आगामी निर्वाचनबारे छलफल भएको थियो । सरकारले मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा गरेको छ तर मिति घोषणाका बेला सरकारले आफूहरूसँग परामर्श नगरेको एमालेको आरोप थियो।
ओलीले आगामी निर्वाचन निष्पक्ष, धाँधलीरहित र विश्वसनीय हुनु पर्नेमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउनुभएको छ ।
ओलीले शान्ति प्रक्रियाबारे पनि कुरा राख्नुभएको थियो । शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुगोस् भन्ने कुरा पनि एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीसँग राख्नुभयो।
सरकारले प्रतिनिधि सभामा हालै बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण मेलमिलाप आयोगको ऐनको संशोधनसम्बन्धी विधेयक छलफलका लागि पेश गरेको थियो। सरकारले यस्ता विधेयक ल्याउँदा प्रमुख प्रतिपक्षीसँग छलफल नगरेको पनि एमालेले बताउँदै आएको थियो।
ओलीले राष्ट्रपतिले फिर्ता गरेपछि फेरि संसदमा पुगेको नागरिकता विधेयकबारे पनि प्रधानमन्त्री देउवासँग कुरा राख्नुभएको थियो। सरकारले दुबै सदनबाट नागरिकता विधेयक पारित गरी सभामुखमार्फत् प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाएको थियो। तर राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त विधेयक पुनः संसदै फिर्ता पठाउनुभएको थियो।
सरकारले नागरिकता विधेयक जस्ताको तस्तै प्रतिनिधि सभाबाट पारित गरेको छ।
नेकपा एमालेका अध्यक्ष ओलीले दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि भए पनि सरकारले नियन्त्रणका लागि खासै पहल नगरेको गुनासो प्रधानमन्त्रीसंग राख्नुभएको थियो ।
ओलीले प्रधानमन्त्री देउवालाई मूल्यवृद्धि नियन्त्रण गर्न ध्यानाकर्षण गराउनुभयो।
भेटवार्तामा सहभागी कांग्रेस नेतासमेत रहेका सञ्चार मन्त्री एवं प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले एमाले अध्यक्ष ओलीले राखेका विषयमा प्रधानमन्त्री देउवाले सकारात्मक रूपमा लिनुभएको उल्लेख गर्नुभयो।
सञ्चार मन्त्री कार्कीका अनुसार प्रधानमन्त्री देउवाले ओलीलाई ‘तपाईंहरूले उठान गरेका विषयवस्तु सकारात्मक रूपमा लिन्छु । र यी सबै कुरा म पाँच दलीय गठबन्धन बैठकमा पनि राख्छु।’ भन्न
भएको छ । उहाँले
आगामी निर्वाचन निष्पक्ष, धाँधलीरहित र विश्वसनीय हुने भएकोले यसमा चिन्ता नगर्न आग्रह गर्नुभएको थियो । प्रधानमन्त्री देउवाले निष्पक्ष चुनाव गराउन सरकार प्रतिवद्ध छ,’भन्नुभएको थियो।


















