काठमाडौं, ८ भाद्र । संसदले गठन गरेको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बयानका लागि बोलाउने निर्णय गरेको छ ।
बुधबार बसेको समिति बैठकले जबरालाई एक हप्तापछि(१५ भदौ बुधबार) बयानका लागि बोलाउने निर्णय गरेको हो ।
गत १ फागुनमा सत्तारुढ दलका सांसदले प्रधानन्यायाधीश जबराविरुद्ध ससद सचिवालयमा महाअभियोग दर्ता गरेका थिए ।
महाअभियोगबारे अध्ययन गर्न प्रतिनिधिसभाले गठन गरेको ११ सदस्यीय समितिको बैठकले १९ भदौभित्र प्रतिनिधिसभालाई प्रतिवेदन बुझाउने कार्यतालिका पारित गरेको छ । जसका लागि १२ भदौसम्म प्रमाण जुटाउने र अध्ययन गर्ने समितिले निर्णय गरेको छ ।
१ फागुनमा सत्तारुढ दलका सांसदले विभिन्न २१ वटा आरोप लगाएर जबराविरुद्ध महाअभियोग दर्ता गरेका थिए । यसपछि २२ फागुनमा महाअभियोग सिफारिस समिति बनाएर प्रतिनिधिसभामा २९ फागुनमा पेस गरिएको थियो ।
२२ साउनमा महाअभियोग प्रस्तावमाथि सैद्धान्तिक छलफल गरेर महाअभियोग सिफारिस समितिमा पठाइएको थियो ।
समितिमा एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र डा। शिवमाया तुम्बाहाङ्फे सदस्य हुनुहुन्छ ।


















