Prakash Adhikari August 27, 2022

काठमाडौं, ११ भाद्र । विभिन्न ब्राण्डका सक्कली बोतलमा नक्कली रक्सी (मदिरा) राखेर बिक्री गर्दै उपभोक्ताको जीवनमाथि खेलवाड गर्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका आरोपितहरुले यस्ता नक्कली र मिसावटयुक्त मदिरा उपत्यकाका डिस्को, डान्सबार, दोहारी तथा नाइट क्लबमा बिक्री गर्दै आएको बताएका छन् ।

उनीहरूले पुरानो स्टक सामान भएको भनी सक्कली ब्राण्डका मदिराको बजार मूल्यभन्दा एक वा दुई हजारसम्म छुट दिएर त्यसरी नक्कली रक्सी बिक्री गर्ने गरेको पाइएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँले यसरी नक्कली रक्सी बनाएर बिक्री वितरण गर्दै आएका पाँचलाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

पक्राउ पर्नेमा दोलखाको कालिञ्चोक घर भई काठमाडौँ बस्ने २४ वर्षका हरि ओली, सोही जिल्लाको भीमेश्वर घर भइ भक्तपुर बस्ने भगवान बस्नेत, सोही जिल्ला घर भइ काठमाडौँको महाबौद्ध बस्ने विशाल ओली, रामेछाप घर भइ काठमाडौँको मूलपानी बस्ने मनोज खत्री र सोही जिल्ला घर भइ काठमाडौँको ठमेल बस्ने गोपी श्रेष्ठ रहेका छन् ।

काठमाडौँको कोटेश्वरमा विभिन ब्राण्डको नाममा नक्कली रक्सी बनाइ बिक्री वितरण हुने गरेको सूचनाको आधारमा भाद्र ७ गते साँझ खोजतलासमा निस्किएको प्रहरी टोलीले घटनामा संलग्न हरि ओलीलाई पक्राउ गरेको थियो ।

ओलीको कोठा खानतलासी गर्दा महँगो ब्राण्डका चार कार्टुन सिलप्याक मदिरा बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहराले जानकारी दिनुभएको छ ।

बोहराका अनुसार ओलीसंगको सोधपुछका क्रममा उक्त मदिरा उत्पादन, भण्डारण, बिक्री वितरण गर्ने कार्यमा अन्य केही व्यक्ति पनि संलग्न भएको पाइएपछि थप तीनलाई नियन्त्रणमा लिइएको थियो ।

उनीहरूको समेत बयानका आधारमा प्रहरीले भक्तपुरको चाँगुनारायण–२ दुवाकोटबाट उत्पादनकर्ता भगवान् बस्नेतलाई पक्राउ गरिएको बोहराले शुक्रबार पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । बस्नेत त्यहाँ नक्कली रक्सी उत्पादन कार्यमा खटिएका पाइएको छ ।बस्नेतको फ्याक्ट्रीबाट सिलप्याक गरिएको सयौँ बोतल नक्कली मदिरासहित खाली बोतल, बिर्को, आन्तरिक राजस्व विभागबाट जारी भएको स्टिकर तथा मदिरामा मिसानउन प्रयोग गर्ने केमिकल, घोल्न प्रयोग गरिने बाल्टी तथा अन्य भाडावर्तनसमेत बरामद गरिएको छ ।

सस्तो खालका मदिरा खरिद गरी त्यसमा भएको आन्तरिक राजस्व कार्यालयको स्टिकर उप्काएर महङ्गो मूल्य पर्ने बाण्डेड मदिराका बोतलमा टाँस गरी नक्कली मदिरा हालेर सिलप्याक गरी बिक्री गर्ने गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
नक्कली मदिरा बनाउँदा प्रयोग गर्ने केमिकलको बारेमा अनुसन्धान गर्न बाँकी नै रहेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरूलाई कालो बजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन अन्तरगतको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जनाइएको छ ।

Share Now

Leave a comment.