Prakash Adhikari September 5, 2022

काठमाडौं, २० भाद्र। सत्तारुढ गठबन्धनमा सम्मिलित दलहरुले गठन गरेको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्दै छ ।

बैठक दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ ।

आइतबार बसेको सत्ता घटकका शीर्ष नेताहरुको बैठकले सिट बाँडफाँटको औपचारिक खाका ल्याउन कार्यदललाई भनेको थियो ।

दुई दिनभित्रै सिट बाँडफाँटलाई टुंगोमा पुर्याउने गरी खाका ल्याउन भनिए अनुसार कार्यदलको बैठक आज बस्न लागेको हो।

कार्यदलले सहमति जुटाएर शीर्ष नेताहरुसमक्ष प्रस्ताव लैजाने छ । सोही सिफारिसका आधारमा शीर्ष नेताहरुले अन्तिम निर्णय गर्नेछन् ।

यही साउन २० गते बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्ने निर्णय गर्दै सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।

कार्यदललाई कुन दलले कति सिट लिने भनेर साउन अन्तिम सातासम्म सिफारिस गर्न भनिएको थियो । तर हालसम्म पनि भनिए अनुसार सिफारिस भएको छैन ।

कार्यदलमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् भने माओवादी केन्द्रबाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन ,
नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य हुनुहुन्छ ।

निर्वाचन क्षेत्रअनुसार सहमति खोज्न निर्देशन

सिट बाँडफाँटमा सहमति जुटाउन नसकेका सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले निर्वाचन क्षेत्रअनुसार सहमति खोज्न कार्यदललाई जिम्मा दिएका छन् ।

१०० सिटको दाबी गरेको कांग्रेस ९० सम्ममा झर्न तयार भएको छ । तर माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस र अरु दललाई आधा–आधा गर्ने प्रस्ताव राखेका छन् भने एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेसले ७० सिट लिनुपर्ने बताउनुभएको छ ।

सहमतिको प्रयासमा आइतबार पनि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल भएको थियो । दिउँसो शीर्ष नेताहरुबीच छलफल भए पनि कुनै सहमति जुट्न सकेन ।

लगतै शीर्ष नेताले कार्यदलका सदस्यहरुलाई बोलाएर निर्वाचन क्षेत्रअनुसार छलफल गरेर सहमति खोज्न निर्देशन दिनुभएको छ । एकीकृत समाजवादीका अध्यक्ष नेपालले निर्वाचन क्षेत्रअनुसार सहमति खोज्ने प्रस्ताव ल्याउनुभएको थियो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ‘जहाँ जहाँ सहमति हुन्छ, सहमति खोज्नुस्, सहमति हुन नसकेको क्षेत्रबाट पर्सिसम्म ल्याउनुस् भन्नुभएको छ,’ भन्नुभएको थियो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कार्यदलका सदस्य एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोमबारदेखि कार्यदलको बैठक लगातार बसेर सहमति खोज्ने र मंगलबारसम्म शीर्ष नेताहरुसमक्ष पेश गर्ने बताउनुभएको थियो।

उहाँले न्यायोचित, सम्मानजनक र सबैले जितेको छ भन्ने भावना अनुसार सहमति हुने बताउनुभयो।

Share Now

Leave a comment.