नैरोबी(केन्या), २० भाद्र । केन्याविरुद्धको तीन खेलको एकदिवसीय श्रृखला पनि नेपालले क्लिन स्वीप गरेको छ।
सोमबार दिउँसो नैरोवीस्थित जिमखाना क्रिकेट स्टेडियममा भएको अन्तिम एकदिवसीय खेलमा घरेलु टिमलाई ६ विकेटले पराजित गरेर नेपालले एक दिवसीय श्रृखलामा क्लिन स्वीप गरेको हो।
यसअघि नेपालले पाँच खेलको टी २० श्रृखला पनि ३ -२ ले जितेको थियो ।
आज भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेर केन्याले ५० ओभरको निर्धारित खेलमा पूरै ओभर खेल्दै ९ विकेटको क्षतिमा २ सय ५५ रन जोडेर नेपाललाई २ सय ५६ रनको लक्ष्य प्रस्तुत गरेको थियो।
त्यसपछि २ सय ५६ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४७ ओभर बलमा ४ विकेट गुमाउँदै २ सय ५८ रन बनायो।
खेलमा अर्जुन साउदले ५८, वसिर अहमदले ५२, आसिफ शेख ५६ , कप्तान रोहित पौडेलले ४६,पूर्व कप्तान ज्ञानेन्द्र मल्लले ३३ रन र देव खनालले एक रनको योगदान गरे ।
नेपललाई रोक्ने क्रममा केन्याका भिराज पटेलले २ तथा शेम एनगोचे र याश तालातीले समान १ ।१ विकेट लिएका थिए।
यस पहिले घरेलु मैदानमा टस जितेर व्याटिड. गरेको केन्याले २ सय ५५ रन बनाएको थियो ।
केन्याको लागि कोलिन्स अबुयाले ८४, लुकास एनडानडासनले ५९ सुखदीप सिंहले ३७, इम्यानुएल बुन्डीले २३ रन,कप्तान शेम एनगोचे १७ रन,सचिन बुदियाले ८, राकेप पटेलले ७ र भिराज पटेलले ५ रनको योगदान गरे ।
केन्यालाई रोक्ने क्रममा सोमपाल कामी र आदील अन्सारीले २/२ विकेट लिए भने शाहब आलम र वसिर अहमदले १ / १ विकेट ।
यो जितसंगै एक दिवसीय खेलको श्रृखला नेपालले क्लिन स्वीप गरेको छ ।
खेलमा प्लेयर अफ द म्याच नेपाली टिमका क्याप्टेन रोहित पौडेल भए भने प्लेयर अफ द सेरिज आशिफ शेख भए ।
नेपालले शुक्रबार र शनिवार भएका दुई खेलमा विजय हासिल गरेको हो ।
नेपालले पहिलो एक दिवसीय क्रिकेट खेलमा केन्यालाई ७ विकेट पराजित गरेको थियो भने दोस्रो खेलमा केन्यालाई १७ रनले पराजित गरेको थियो ।
टी २० का पाँच खेलमा तीनमा नेपाल बिजयी
एक दिवसीय अन्तर्राष्ट्रिय खेल्नु पहिले नेपालले केन्या भ्रमणमा घरेलु टोलीसंग पाँचवटा टी २० खेलमा प्रतिस्पर्धा गरेको थियो ।
नेपालले पहिलो खेलमा ५ विकेटले विजयी बन्यो भने तेस्रोमा ४ विकेटले । दोस्रो खेलमा नेपाल १८ रनले पराजित भयो भने चौथोमा ७ रनले ।
प्रदर्शनका हिसाबले नेपालले पहिलो खेलमा केन्याले दिएको १ सय ३१ रनको लक्ष्य नेपालले १९.२ ओभरमा ५ विकेटको क्षतिमा १ सय ३३ रन जोडेर पूरा गर्यो ।
दोस्रो खेलमा केन्याले दिएको १ सय ३३ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा अलआउट हुँदै १ सय १४ रन मात्र बनाउन सक्यो। नेपाल १८ रनले पराजित भयो ।
खेलमा नेपालका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल म्यान अफ द म्याच घोषित भए ।
तेस्रो खेलमा केन्याले दिएको १ सय ५७ रनको लक्ष्य ६ विकेटको क्षतिमा १ सय ६० रन बनाएर हासिल गरेको थियो ।
चौथो खेलमा भने केन्याले दिएको १ सय २ रनको लक्ष्य पनि पूरा गर्न नसकेर नेपाल ७ रनले पराजित भयो ।
टी २० सेरिजको अन्तिम पाँचौ खेल जितेपछि नेपालले श्रृखला ३-२ ले जितेको थियो ।
टी २० खेलमा प्लेयर अफ द सिरिजको उपाधि नेपालका क्याप्टेन सन्दीप लामिछानले जितेका थिए ।


















