Prakash Adhikari September 10, 2022

कोलम्बो(श्रीलंका),२५ भाद्र । भारतलाई पराजित गरेर सेमिफाइनलको यात्रा तय गरेका नेपाली यू–१७ टोलीले अब आयोजक राष्ट्र श्रीलंकासंग सेमिफाइनल खेल्ने भएको छ ।

कोलम्बोको रेस कोर्स ग्राउण्डमा शुक्रबार भएको अर्को खेलमा माल्दिभ्सलाई १–० ले हराउँदै आयोजक श्रीलंका अन्तिम चारमा पुगेको थियो ।
श्रीलंकालाई जित दिलाउन मोहमद मुफासले निर्णायक गोल गरे । उनले खेलको दशौँ मिनेटमा गोल गरेका थिए ।

समूह ए बाट श्रीलंका उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । नेपालले भारतलाई हराउँदै समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

अर्को सेमिफाइनलमा बंगलादेश र भारत भिड्ने भएका छन् ।

नेपालद्धारा भारत पराजित

यस पहिले श्रीलङ्काको कोलम्बोस्थित रेस कोर्स मैदानमा शुक्रबार भएको खेलमा नेपालले भारतलाई ३–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो ।

जीतसँगै नेपाल समूह बी को विजेता बन्यो भने भारत पनि उपविजेताका रुपमा सेमिफाइनलमा पुग्यो ।

समूह बी मा नै रहेको भूटान भने अङ्कविहीन बन्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

यसअघि भारतले पनि भूटानलाई पराजित गरेको थियो ।

नेपालको जीतमा सरोज दर्लामी, उनेश बूढाथोकी र सुवास बमले समान १-१ गोल गरे ।

blog

खेलमा सुरुआती अग्रता भने भारतले लिएको थियो । खेलको २५औँ मिनेटमा भारतका ड्यानी मेइटीले गोल गर्दै भारतलाई पहिलो अग्रता दिलाएका थिए ।

भारतको १–० गोलको अग्रता लामो समयसम्म टिक्न सकेन ।

खेलको ४५ औँ मिनेटमा नेपालका सरोजले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । पहिलो हाफसम्म १–१ गोलको बरबरीमा खेलेको नेपालले खेलको दोस्रो हाफमा दुई गोल थप्यो ।

खेलको ४९ औँ मिनेटमा उनेशले गोल गर्दै नेपाललाई दोस्रो अग्रता दिलाए ।
यसैगरी खेलको ६८ औँ मिनेटमा नेपालका अर्का खेलाडी सुवासले एक गर्दै नेपाललाई ३–१ गोलको जीत दिलाए ।

जीतसँगै नेपालले शीर्ष ६ अङ्क जोडेको छ । नेपालले पहिलो खेलमा भूटानलाई २–१ गोलअन्तरले पराजित गरेको थियो ।

प्रतियोगितमा नेपालसहित भारत, भूटान, माल्दिभ्स, श्रीलङ्का र बङ्गलादेश गरी छ राष्ट्र सहभागी छन् ।

Share Now

Leave a comment.