Prakash Adhikari September 10, 2022

खलंगा(दार्चुला), २५ भाद्र । शुक्रवार रातीदेखिको अविरल वर्षाका कारण दार्चुला सदरमुकाम खलङ्गाको बंगाबगड क्षेत्रमा आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ ।

स्थानीय एवं उद्योग वाणिज्य सङ्घ दार्चुलाका पूर्व अध्यक्ष मङ्गल ठगुन्नाका अनुसार करिब डेढ दर्जन घरहरू बगेका छन् ।

लास्कु खोलाको बिचमा फसेका एक जना पुरुषको सुरक्षाकर्मीले उद्धार गरेका छन् । मानिसहरू सबै राती देखिनै घरबाहिर निस्किएका छन् ।

बाढीले केही घर र पुल बगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिनुभयो ।

उद्धार कार्य जारी रहेकोले क्षतिको यकिन विवरण प्राप्त हुन बाँकी रहेको उहाँले बताउनुभयो ।

बाढीका कारण सडक किनारामा रोकेर राखिएका केही यातायातका साधनसमेत बगाएको स्थानीय चक्र बमले बताउनुभयो ।

घटनास्थलमा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ ।

बर्षाका कारण लास्कु खोला र महाकाली नदीमा ठूलो बाढी आएको छ । नदीले कटान गर्ने क्रम नरोकिएकोले सतर्कता अपनाउन स्थानीय सबैमा अनुरोध गरिएको छ ।

स्थानीय शिक्षक प्रवेश प्रताप ऐतवालका अनुसार अविरल वर्षाले बंगाबगडको दशरथ नगर विद्यालयसंगै जोडिएका सडकको तल्लोभागका सबै घर बाढीले बगाएको छ । कटान अझै रोकिएको छैन । बाङगाबगड क्षेत्र तनावग्रस्त रहेको छ ।

दार्चुला टिङ्कर सडकमा पर्ने लास्कुखोला माथिको झोलुङ्गे र मोटर पुल बगाएको छ । कटान अझै जारी छ । उद्धार कार्यमा सुरक्षा निकायका साथै स्थानीयहरू खटिएका छन् ।

Share Now

Leave a comment.