काठमाडौं, २८ भाद्र । बाढीले प्रभावित पाकिस्तानलाई नेपाल सरकारले राहत सामग्री उपलब्ध गराएको छ ।
नेपाल सरकारले पठाएको २२ टनभन्दा बढी अत्यावश्यक मानवीय सहायता सामग्री लिएर नेपाल वायुसेवा निगमको एअरबस ३३० सेरिजको वाइडबडी बिमान आज कराँचीतर्फ उडेको छ ।
परराष्ट्र मन्त्रालयले पाकिस्तानमा हालै आएको बाढीपहिरोबाट पीडितलाई राहतस्वरुप सहायता सामग्री उपलब्ध गराइएको जनाएको छ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले राहत सामग्रीमा लम्सालले औषधि,खाद्यान्न, लत्ताकपडा लगायतका राहत सामग्री रहेको बताउनुभएको छ।
“हाल पाकिस्तानलाई प्रदान गरिएको राहत सामग्री नेपाल सरकारद्वारा एकैपटकमा कुनै मुलुकलाई प्रदान गरिएको हालसम्मकै ठूलो परिमाणको सामग्री हो”, लम्साले भन्नुभयो ।
नेपालबाट प्रदान गरिने राहत सामग्रीको संयोजन तथा समन्वयमा परराष्ट्रमन्त्री डा नारायण खड्काको निरन्तर पहलबाट भएको हो ।
विमानस्थलमा परराष्ट्रमन्त्री डा नारायण खड्काले कराँची जाने टोलीलाई बिदाइ गर्नुभएको थियो।
राहत सामग्री हस्तान्तरण गर्न परराष्ट्र मन्त्रालयका प्रवक्ता लम्सालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल कराँची प्रस्थान गरेको छ।
टोलीमा गृह मन्त्रालय, अर्थ मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, स्वास्थ्य सेवा विभागका पदाधिकारी तथा सञ्चारकर्मी सहभागी छन्।
नेपालले पठाएको राहत सामग्री कराँचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थलमा पाकिस्तान सरकारका सम्बद्ध पदाधिकारीलाई एक कार्यक्रमकाबीच हस्तान्तरण गर्ने कार्यक्रम रहेको प्रवक्ता लम्सालले बताउनुभएको छ।
पाकिस्तानमा हालै आएको मनसुनी वर्षापछिको विनाशकारी बाढीले ठूलो जनधनको क्षति भएकामा उक्त बाढीले पुर्याएको क्षतिप्रति समवेदना प्रकट गर्दै नेपाल सरकारका तर्फबाट पाकिस्तान सरकार तथा जनतालाई सहायता स्वरुप यही भदौ २१ गतेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो।
नेपाल एयरलाइन्सको उडान नं २१७१ जहाजले काठमाडौँ कराँची उडान भरी साँझ कराँचीबाट काठमाडौँ फर्कने उडान तालिका छ।


















