Prakash Adhikari September 17, 2022

धनगढी(कैलाली) । शुक्रबारदेखि परिरहेको अविरल वर्षाका कारण पूर्वी कैलाली र कञ्चनपुरमा सयौं घर डुबानमा परेका छन् ।
कैलालीमा झण्डै ६ सय घर डुबानमा परेका छन् भने कञ्चनपुरमा पनि बाढीबाट प्रभावित हुनेको घरको संख्या एक सयको आसपास पुगेको छ।

कैलाली प्रहरीले दिएको जानकारी अनुसार कान्द्रा र पथरिया नदीको बाढी बस्तीमा पस्दा पूर्वी कैलालीमा ५ सय बढी घर डुबानमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले भजनी नगरपालिका ८ मा रहेको पथरिया नदीको पानी बस्तीमा पस्दा करिब १ सय ६० घरधुरी डुबानमा परेको जानकारी दिनुभयो ।

बाढीले सोनाफाँटा टोल, दैलेखी टोल, भरतान टोल, जनकपुर टोल र छछरहवा टोलकाघरहरु डुबानमा परेका छन् । अहिले नदीको बहाब बढने क्रम जारी रहेको छ ।

यस्तै कान्द्रा नदीमा पानीको सतह बढेर बस्तीमा पसेपछि मिलनपुर टोल, लालबोझी र पुलियापुर टोलका २ सय ५० घर डुबानमा परेका छन् भने कान्द्रानदीकै बाढीले भजनीनगरपालिका ७ को शिविर टोल,गणेशमान टोल र दक्षिणपुर्वा टोलका पनि करिब २ सय ५० घर डुबानमा परेका छन् । यी ठाउँमा अहिलेसम्म मानवीय क्षति भने भएको छैन ।

यसैबीच जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्राप्त सामाचार अनुसार जिल्लाका विभिन्न ठाउँमा बाढी बस्तीमा पस्दा सयौँ घर डुबानमा परेका छन्।

कञ्चनपुरको बनहरा नदीमा आएको बाढी शुक्लाफाँटा नगरपालिकाको बस्तीमा पसेको छ।

पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत शुक्लाफाँटा नगरपालिका–११ स्थित बनहरा नदीको छेउमै बनहरा शिविरमा बाढी पस्दा करिब ३० घर डुबानमा परेका छन्।

बनहराको बाढीले १० घर बगाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी चक्रबहादुर शाहले बताउनुभएको छ। डुबानमा फसेका बनहरा शिविरका बासिन्दाको शसस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरेर सुरक्षित स्थान सारेको शुक्लाफाँटा नगरपालिकाका मेयर रणबहादुर महराले बताउनुभयो।

‘राती पानी बढि परेपछि बनहरामा बाढी आएको छ, डुबानमा फसेका सिगास बस्तीका बासिन्दाको उद्धार गरेर सुरक्षित स्थानमा सारिएको छ।’ उहाँले भन्नुभयो।

यस्तै, शुक्लाफाँटा नगरपालिका–१२ दुबाहमा १७ जना बाढीमा फसेका छन्। शसस्त्र प्रहरी र नेपाल प्रहरीले बाढीमा फसेका उनीहरुको उद्धार गरिरहेको छ।

 

यस्तै, शुक्लाफाँटा नगरपालिका–१२ दुबाह र भुली जोड्ने झोलुङ्गे पुल पनि बाढीको जोखिममा परेको छ। बनहरा नदीको बाढीले पुलको एक पिल्लर बगाएको छ। अविरल वर्षाले कैलाली कञ्चनपुरका बस्तीहरु जलमग्न भएका छन्।

कृष्णपुर नगरपालिका–५ मा पवित्रा बस्तीमा मोहना नदी पस्दा ७० घरपरिवार भन्दा बढि विस्थापित भएको प्रहरीले जनाएको छ। त्यहाँका करिब २ सय ५० बासिन्दालाई पवित्रा आधारभुत विद्यालयमा राखिएको छ।

यस्तै, कृष्णपुर–४ मा मछेली नदी गाउँ पस्दा ४ घर डुबानमा परेका छन्। लालझाडी गाउँपालिका ३ बल्मी छोटी पर्सीयामा दोदा नदी गाउँ पस्दा १ सय ५० भन्दा बढि डुबानमा परेको प्रहरीले जनाएको छ। यस्तै, महाकाली नदीमा पनि पानीको बहाब बढेको छ ।

Share Now

Leave a comment.