Prakash Adhikari September 21, 2022

काठमाडौं, ५ असोज । राष्ट्रपति विद्या भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्नेका लागि संविधानले निर्देशित गरेको समयसीमा गुजार्नु भएको ।

संघीय संसद्का दुवै सदनबाट पारित भएर दोस्रो पटक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पुगेको सो विधेयक प्रमाणीकरण गर्ने संवैधानिक समय मगलबार मध्यरात सम्म थियो । संविधानले यसरी आएको विधेयक १५ दिनभित्र पारित गर्नुपर्ने किटानी व्यवस्था गरेको छ । संवैधानिक राष्ट्रपतिलाई स्वविवेको प्रयोग गर्ने छुट संविधानले दिएको छैन् ।

राष्ट्रपतिको कार्यालयले यस बारेमा कुनै सूचना,जानकारी वा विज्ञप्ति पनि जारी गरेको छैन ।

यद्यपि राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणित गर्न गरिरहेको बिलम्वका बारेमा सञ्चारमाध्यममा टिका टिप्पणी हुन थालेपछि राष्ट्रपति कार्यालयले असोज ३ गते संविधान दिवसकै दिन एक विज्ञप्ति जारी गर्दै राष्ट्रपतिका बारेमा आधाररहित टिकाटिप्पणी नगर्न र आधिकारिक व्यक्तिसंग सोधेरमात्र समाचार प्रवाहित गर्न अनुरोध गरेको थियो ।

 

सल्लाहकार यादवको भनाई

संवैधानिक राष्ट्रपति भएकोले उहाँले नागरिकता विवादमा बोल्नुभएको छैन । तर उहाँका सल्लाहकार लालबाबु यादवले नागरिकता विधेयकका बारेमा यसरी राष्ट्रपतिको बचाउ गर्नुभएको छ,”राष्ट्रपति व्यक्ति विद्या भण्डारी मात्रै होइनन्। उहाँ त हेड अफ द स्टेट हो, संस्था हो । उहाँले सम्माननीय राष्ट्रपतिको हैसियतमै हिँड्नुपर्छ । दोस्रो कुरा उहाँ राज्यको प्रथम नागरिक भएको हुनाले उहाँलाई संविधानको धारा ६१ को ४ मा कर्तव्यबारे दिइएको छ । त्यसमा राष्ट्रपतिले यो संविधानको संरक्षण र पालना गर्ने कर्तव्य हुनेछ भनिएकाले त्यही अनुसार जाने हो । राष्ट्रपतिले संविधानको धारा १ देखि ३ सय ८ सबै धाराको संरक्षण गर्ने हो ।

एकपटक सबैले संविधान हेर्नुपर्छ । विधेयक पनि संविधान अनुसार आउनुपर्छ । १५ बुँदे उहाँले सुझाव दिनुभएको छ । संविधानको भाग २ को धारा १० को उपधारा २ हेर्नुस् । पहिचानसहितको नागरिकता दिनुपर्छ भनिएको छ । त्यसमा प्रत्येक नेपालीको परिचय खुल्ने गरी नागरिकता दिनु भनिएको छ । ३८ को धारामा लेखेकै कुरा पढेर सुनाउँछु । त्यसमा प्रत्येक महिलालाई लैङ्गिक भेदभावबिना समान वंशीय हक हुनेछ । संविधानमा कसैलाई लिङ्गको, धर्मको आधारमा भेदभाव गरिने छैन भनेर लेख्छौ अनि अर्कोतिर नागरिकता दिने बेलामा ५० प्रतिशत महिलाको सन्तान वंशजको नागरिक हुनेछ । जब उसलाई बाबु विदेशी भएमा सन्तान अङ्गीकृत हुन्छ । यसबाट उसको गोपनीयताको अधिकारको पनि हनन गर्ने । वंशीय समान व्यवहार पनि हनन गर्ने । गोपनीयता भङ्ग गर्ने अनि गोपनीयता राख्ने भनेको के हो ? आमा भनेको यथार्थ हो बाउ भनेको विश्वास हो । यसबारे सर्वोच्चले नै आदेश गरेको हो ।

संविधानमा एउटा कुरा लेखेका छन्, अर्कोतिर अर्कै कुराहरू भएकाले हामीले संविधानको धारा १ देखि ३०८ सम्म हेर्नुपर्छ । खाली ११३ धारा मात्रै हामी पढ्छौ । अरू हामी हेर्दै हेरेका छैनौँ ।

राष्ट्रपति भनेको एउटा व्यक्ति होइन । उहाँ हेड अफ द स्टेट र राज्यको प्रमुख नागरिक हो । उहाँले सबैलाई हेर्नुपर्छ । उहाँले १५ बुँदे पठाउनुभयो त्यो त संसद्लाई पठाउनुभएको हो । पार्टीलाई पठाउनुभएको होइन । तर तथाकथित गठबन्धनका शीर्ष नेताले निर्णय के गर्नुभयो भने हामी कुनै परिवर्तन गर्दैनौ । उहाँहरूलाई कसले र कुन संविधानले अधिकार दिएको हो ? संविधानमा कहाँ छ त्यो कुराहरू ? त्यो त सदनलाई दिएको हो तर सदनमा छलफल पनि भएन । संसदीय समिति राज्यव्यवस्थामा पठाइएन । प्रचण्डले भने ७ वर्ष मैले नै राखेको हो । खोइ त रु उहाँ आफै कुरा गर्ने अनि आफै संविधानभन्दा माथि हुन खोज्ने ?

यसले त गठबन्धन संविधानभन्दा माथि मात्रै होइन संप्रभुता जनताभन्दा पनि माथि हुन खोज्नुभयो । यदि राष्ट्रपतिले प्रमाणीकरण नगरी राजपत्रमा प्रकाशित भयो भने त्यो संविधानसम्मत हुँदैन । कानुनविपरीत हुन्छ । यो नागरिकता समस्या मधेसको मात्रै पनि होइन । देशकै समस्या हो । त्यस कारण राष्ट्रपतिले राजीनामा दिने कुरा पनि हुँदैन । उहाँले त संविधानको संरक्षण गर्ने, नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई प्रजातान्त्रिक अधिकार दिलाउने हो । किन राजीनामा गर्ने ? राजीनामा दिने कारण के ? त्यो सम्भव छैन । डेमोक्रेसीमा सेपरेसन अफ पावर हुन्छ । चेक एण्ड ब्यालेन्स हुन्छ । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका हुन्छ, त्यस कारण राष्ट्रपति संविधानअनुसार जानुहुन्छ ।”

सरकार र संसद दुवैसंग टकराव

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनले दुई दुई पटक पारित गरेर प्रमाणिकरणको लागि पठाएको विधेयक रोकेर दुवै संस्थासंग टकराव निम्त्याउनुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान दिवसकै दिन राष्ट्रपतिलाई अलग्गै भेटेर नागरिकता विधेयक संवैधानिक समयसीमाभित्रै प्रमाणीकरण गर्न राष्ट्रपतिलाई अनुरोध गर्नुभएको थियो । तर उहाँले त्यसलाई स्वीकार गर्नुभएन ।

राष्ट्रपति भण्डारीको व्यववहारमा पनि समानता र सादृश्यता पनि देखिएको छैन् । संघीय संसदले पारित गरेको विधेयककै प्रावधान रहेको यस्तै अध्यादेश के.पी. ओलीको सरकारले पारित गर्न सिफारिस गर्दा उहाँले रत्तिभर विलम्ब नगरी प्रमाणीकरण गरेर जारी गर्नुभएको थियो ।

तर त्यसैलाई विधेयकको रुपमा संसदले पारित गरेर पठाउदा उहाँले साउनमा १४ दिन अड्काएर १५ बुँदे सुझाव सहित संसदमा फिर्ता पठाउनुभयो । राष्ट्रपतिलाई पहिलोपटक सन्देशसहित फिर्ता पठाउने अधिकार संविधानले दिएको छ । तर त्यसलाई संघीय संसदका दुवैसदनले संशोधनसहित वा बिनासंशोधन पुन पारित गरी पठाएमा भने उहाँले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने किटानी व्यवस्था छ ।

राष्ट्रपति भण्डारीका कामहरु पटक पटक विवादित पनि भएका छन् । उहाँले २०७८ साल जेठ ६ गते तात्कालीन प्रधानमन्त्री के.पी. ओलीले प्रतिनिधिसभामा आफूले बहुमत हासिल गर्ने संभावना नभएर राजिनामा दिएपछि नयाँ प्रधानमन्त्री नियुक्ति गर्ने सम्बन्धमा तटस्थ व्यवहार अपनाउन सक्नुभएन । त्यति बेला नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले प्रतिनिधिसभाका बहुमत सदस्यको हस्ताक्षरसहित राष्ट्रपतिसमक्ष दावी पेश गर्नुभएको थियो । तर राजिनामा दिएर पुनः प्रधानमन्त्रीको दौडमा सामेल हुन्न भन्नुभएका के.पी. ओलीले आफ्नो पार्टी र तात्कालिन जनतासमाजवादी पार्टीको संसदीय दलको पत्र बोकेर बहुमत सदस्यको समर्थन आफूलाई भएको दावी गर्नुभयो ।

राष्ट्रपतिसंग सांसदहरुको सही सनाखत गर्ने उपाय थियो तर उहाँले त्यसो गर्नुभएन र केही सांसदहरुको दोहोरो दावी परेको भनी दुवै दावी खारेज गरेको सूचना जारी गराउनुभयो । त्यसलाई आधार बनाएर प्रधानमन्त्री के.पी. शर्मा ओलीले मध्यरातमा प्रतिनिधिसभा विघटनको सिफारिस गर्नुभयो । त्यसलाई मध्यरातमा उहाँले सदर गर्नुभयो ।

विधेयकलाई अध्यादेश बनाए के हुन्छ ?

नागरिकता विधेयकलाई प्रमाणिकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले अटेरी गरेपछि एक थरी कानूनविद्हरु यो विषयलाई लिएर सर्वोच्च जानुपर्ने तर्क पनि गरिरहेका छन् । उनीहरुका अनुसार यसमा सर्वोच्च अदालतले परमादेश दिन सक्छ ।

तर राष्ट्रपतिलाई सोही काम अर्को ढंगले पनि गराउन सकिन्छ । सरकारले यही विधेयकलाई अध्यादेशको रुपमा लगेमा त्यसलाई राष्ट्रपतिले अस्वीकार भने गर्न पाउनुहुने छैन् ।

उहाँले अघिल्लो पटक नेकपा एमालेका तर्फबाट प्रधानमन्त्री बन्नुभएका के.पी. शर्र्मा ओलीले लैजानुभएको नागरिकता ऐन संशोधन अध्यादेश आँखा चिम्लेर तत्कालै जारी गर्नुभएको थियो ।

Share Now

Leave a comment.