काठमाडौं, ५ असोज । सत्तारुढ गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीको संघीय संसदले दुई दुई पटक पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण अस्वीकार गर्ने कदमलाई असंवैधानिक भनेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकमा संघीय संसदले पास गरेर पठाएको १५ दिनसम्म पनि नागरिकता विधेयक प्रमाणीकरण नभएको विषयमा छलफल भएको थियो ।
राष्ट्रपतिले २९ साउनमा सन्देशसहित प्रतिनिधिसभामा फर्काएको नागरिकता विधेयक प्रतिनिधि सभा र राष्ट्रिय सभाले पूर्ववत पास गरेको थियो ।
२० भदौमा सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउनुभएको उक्त विधेयक संविधानको व्यवस्थाअनुसार ४ असोज (मंगलबार मध्यरात)सम्म प्रमाणीकरण गरिसक्नुपर्ने थियो ।
नागरिकता विधेयक प्रमाणित नगर्नु संविधानको उल्लंघन भएको गठबन्धनको ठहर छ ।



















