मस्को(रुस) , ६ असोज (बीबीसी)। युक्रेनले रुसद्वारा कब्जा गरिएको केही क्षेत्र पुनः आफ्नो नियन्त्रणमा लिएसँगै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसमा आंशिक रूपमा सेना परिचालनको आदेश दिनुभएको छ ।
टेलिभिजनमार्फत् राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा उहाँले उक्त कदम भौगोलिक अखण्डताको रक्षा गर्न आवश्यक भएको बताउनुभएको हो ।
उक्त सम्बोधनमा पुटिनले पश्चिमा राष्ट्रहरूले रुसलाई कमजोर देख्न चाहेको आरोप लगाउद थप सैन्य आक्रमण गर्ने चेतावनी धम्की मात्र नभएको कुरामा समेत जोड दिनुभयो।
उहाँले हाल जगेडामा राखिएका सेनालाई मात्रै परिचालनका लागि बोलाइने बताए। जगेडा सेनामा ती मानिसहरू समेटिएका छन् जसले अनिवार्य रूपमा रुसी सैन्य सेवा गर्नुपर्छ।
जनमतसङ्ग्रह घोषणा
रुसमा करिब २० लाख त्यस्ता सेना रहेको अनुमान छ। त्यहाँको रक्षामन्त्री सर्गेई शोइगुले तीमध्ये विद्यार्थीहरूलाई परिचालन गर्न नहुने बताउनुभएको छ।
उहाँका अनुसार हाल त्यस्ता व्यक्तिमध्ये ३ लाख परिचालित हुँदै छन्। यो सङ्ख्या देशको कुल परिचालन स्रोतको एक प्रतिशत मात्रै भएको जनाइएको छ।
रुसले कब्जा गरेका युक्रेनका केही क्षेत्रमा रुससँग गाभिने विषयमा जनमत सङ्ग्रहको घोषणा भएको भोलिपल्ट पुटिनले यस्तो कदम चाल्नुभएको हो।
पूर्वका लुहान्स्क र डोनेट्स्क तथा दक्षिणका जापोरीजा र खेअर्सनमा शुक्रवारदेखि पाँच दिन मतदान गर्ने योजना बताइएको छ।

ती चार क्षेत्रले युक्रेनको कुल भूमिको १५ प्रतिशत ओगट्छन्। रोयटर्स समाचारसंस्थाका अनुसार तिनको कुल क्षेत्रफल हङ्गेरीको जत्रो छ।
अन्तर्राष्ट्रिय प्रतिक्रिया
रुसले सन् २०१४ मा क्राइमिया आफूमा गाभेको थियो। र त्यतिबेला रुसले गराएको मतदानको अन्तर्राष्ट्रिय रूपमा निन्दा भएको थियो।
अहिले पनि पश्चिमी राष्ट्रहरूले रुसको नियन्त्रणमा रहेका केही युक्रेनी भूभागहरूमा जनमत सङ्ग्रह गर्ने मस्कोको योजनाको निन्दा गरेका छन्।
संयुक्त राज्य अमेरिका, जर्मनी र फ्रान्सले उनीहरूले यस्तो ूछद्मू मतपत्रको नतिजालाई कहिल्यै मान्यता नदिने बताएका छन्। त्यस्तै नेटो सैन्य गठबन्धनले पनि रुसी योजनाको आलोचना गरेको छ।
उक्त गठबन्धनका महासचिव जेन्स स्टोल्टनबर्गले रोयटर्सलाई युक्रेन र रुसबीचको युद्ध ूवार्ता टेबलमा टुङ्गिनेूआशा रहेको बताएका छन्।
पुटिनले दोस्रो विश्वयुद्ध पछि रुसको पहिलो सैन्य परिचालन आह्वान गरेपछि स्टोल्टेनबर्गले रुसका शीर्ष नेताले युक्रेनमा आफ्नो आक्रमणलाई कम आङ्कलन गरेको बताउनुभयो। र भन्नुभयो, पुटिनले गलत हिसाब गरे।
उहाँले नेटो सहयोगीहरूले युक्रेनलाई अभूतपूर्व सहयोग कायम राख्ने बताउनुभयो।
विश्वका शीर्ष नेताहरू संयुक्त राष्ट्र सङ्घको बैठकको लागि न्यूयोर्कमा जम्मा हुँदै छन्। अमेरिकी राष्ट्रपति जो बाइडन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि यस विषयमा आ(आफ्नो राय राख्नेछन्।

खेअर्सनमा रुसी सैनिकहरू
डाउनिङ स्ट्रिटले पनि पुटिनले जगेडा सैनिकहरूको आंशिक परिचालन गर्नुलाई युक्रेनमाथिको आक्रमण असफल भएको स्पष्ट सङ्केत भएको बताएको छ।
मस्कोको निन्दनीय कार्यको निन्दा गर्दै र युक्रेनलाई आफ्नो सार्वभौमसत्ताको रक्षा गर्न यूकेले गरिरहेको सहयोग जारी राख्ने बताइएको छ।
के भन्छ युक्रेन ?
युक्रेनका विदेशमन्त्री दिमित्री कुलेबाले मङ्गलवार छद्म जनमतसङ्ग्रहले केही परिवर्तन नगर्ने बताउनुभयो।
अन्तर्राष्ट्रिय समुदायले रुसले क्राइमियालाई आफूमा गाभेको कदमलाई मान्यता दिएको छैन। तर रुसले कब्जा गरिएका अन्य क्षेत्रलाई पनि त्यसैगरी आफ्नो हो भन्ने दाबी गर्ने आशय राखेको लामो समयदेखि स्पष्ट रहँदै आएको छ।
थप युक्रेनी भूभाग गाभ्दा क्रेम्लिनले आफू नेटोका अस्त्रको आक्रमणमा परेको दाबी गर्न सक्नेछ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसी सेनालाई आफ्नो देशबाट धपाउनु र रुसले कब्जा गरेको भूभाग मुक्त गराउने आफ्नो मुख्य उद्देश्य रहेको बताउने गर्नुभएको छ।
जलेनेस्कीले रुसी कब्जाबाट फिर्ता ल्याइएका स्थानमा आफ्नो नियन्त्रण कायम राख्न थप पैसा र उपकरण आवश्यक परेको बताउनुभएको छ।
युक्रेनी सैनिकहरूले पश्चिमा देशहरूबाट प्राप्त अस्त्रशस्त्रहरू व्यापक रूपमा प्रयोग गरिरहेका छन्।

रुसले के गर्ला ?
रुसले युक्रेनमाथि गरिएको अतिक्रमणलाई अझै पनि युद्ध भनिसकेको छैन। उसले त्यसलाई युक्रेनमा गरिएको विशेष सैन्य कारबाही भन्ने गरेको छ।
क्रेम्लिनले तय गरिएका सबै कार्य नसकिएसम्म आफ्नो सैन्य अभियान जारी रहने बताउँदै आएको छ।
गत फेब्रुअरीमा युक्रेनविरुद्ध आक्रमण सुरु गर्दा पुटिनले युक्रेनलाई असैनिकीकृत बनाउनेू उद्देश्य रहेको उद्घोष गर्नुभएको थियो। युक्रेन पश्चिमा सैन्य गठबन्धन नेटोमा सहभागी नहोस् भन्ने एउटा उद्देश्य रुसले स्पष्ट पारेको थियो।
रुसको प्रारम्भिक इच्छा युक्रेनलाई नियन्त्रणमा लिने र भोलोदिमिर जेलेन्स्कीको सरकारलाई हटाउने थियो।
तर अहिले उसको आकाङ्क्षा पूर्वी र दक्षिणी युक्रेनका भूभागलाई आफ्नो नियन्त्रणमा लिनु रहेको देखिएको छ।


















