Prakash Adhikari September 22, 2022

काठमाडौं, ६ असोज । संसदका दुवै सदनले दुईदुईपटक पारित गरी प्रमाणीकरणका लागि पठाएको विधेयक निस्क्रिय पार्ने राष्ट्रपतिको कदमविरूद्ध सत्तारूढ गठबन्धनका युवा संगठनले संयुक्त विरोध प्रदर्शन गर्ने भएका छन् ।

नेपाल तरूण दलका अध्यक्ष विद्वान गुरूङ, युवा संघ नेपालका अध्यक्ष नरेशकुमार शाही र योङ कम्युनिष्ट लिग (वाइसीएल) अध्यक्ष सुवोधराज श्रीपालीले बुधबार विज्ञप्ति जारी गर्दै विरोध कार्यक्रम गर्ने निर्णय गर्नुभएको हो।

संसदको दुवै सदनबाट पारित नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण नहुँदा नेपालीहरू नागरिकता प्रमाणपत्र पाउनबाट बञ्चित भएको उहाँहरूको भनाइ छ।

‘सीमित राजनीतिक पार्टीको कार्यकर्ताजस्तो भई पदको मर्यादाभन्दा बाहिर गई गरिएको कदमका विरूद्ध विरोधका कार्यक्रम गर्ने निर्णय गरियो,’ विज्ञप्तिमा भनिएको छ।

युवा संगठनहरूले अपरान्हमाइतीघर मण्डलमा विरोध कार्यक्रम गर्ने पनि बताएका छन्।

सत्ता गठबन्धनका तर्फबाट चारदलका शीर्ष नेताहरुले बुधबार संयुक्त वक्तव्य जारी गर्दै राष्ट्रपतिले संसदको घोर अपमान र अवमूल्यन गरेको बताउनुभएको थियो ।

Share Now

Leave a comment.