मस्को(रुस), ७ असोज(बीबीसी) । युक्रेन युद्धका लागि जगेडा सैनिकहरूलाई बोलाउने क्रेमलिनको निर्णयबाट बच्न रुसी पुरुषहरूले देश छाड्ने प्रयास गर्दा रुसको सिमानामा लामा लामहरू देखा परेका छन्।
राष्ट्रपति भ्लादिमिर पुटिनले बुधवार आंशिक सैन्य परिचालनको घोषणा गर्नुभएको थियो। उक्त निर्णयसँगै थप तीन लाख जना मानिसले युद्धमा सामेल हुनुपर्ने देखिएको छ।
यद्यपि क्रेमलिनले लडाकु उमेरका पुरुषहरू भागेको भन्ने विवरणहरू अतिरञ्जित भएको बताएको छ।
तर जर्जियासँगको सीमामा युद्धबाट भाग्न खोज्ने पुरुषसहितका सवारीसाधनका कैयौँ किलोमिटर लामा ताँती बनेका छन्।
लामो लाइन
नाम खुलाउन नचाहने एक व्यक्तिले बीबीसीका रेहान दिमित्रीलाई राष्ट्रपति पुटिनको घोषणालगत्तै आफू आफ्नो राहदानी समातेर सीमातर्फ हिँडेको बताउनुभयो । उहाँ पनि युद्धका लागि पठाउन सकिने सम्भावित समूहमा पर्नुभएको छ।
केही प्रत्यक्षदर्शीले अपर लार्स जाँचचौकीमा कारहरूको लाइन करिब पाँच किलोमिटरसम्म लामो भएको अनुमान गरेका छन्।
त्यस्तै अर्को समूहले सीमा पार गर्न सात घण्टा लागेको बताएको छ।
उक्त स्थानको भिडिओमा केही चालकले आफ्नो कार वा ट्रकलाई अस्थायी रूपमा रोकिएको ट्राफिकमा छाडेको देखाइएको छ।
जर्जिया रुसीहरूले भिसा आवेदन नदिई प्रवेश गर्न मिल्ने केही छिमेकी देशमध्ये एक हो।
त्यस्तै रुसीहरूलाई यात्रा गर्न भिसा आवश्यक पर्ने अर्को छिमेकी देश फिनल्यान्डको रुससँग एक हजार तीन सय किलोमिटर सीमा जोडिएको छ।
उक्त देशमा प्रवेश गर्ने ट्राफिकमा पनि रातभरि वृद्धि भएको बताइएको छ। तर त्यो व्यवस्थित स्तरमा रहेको जनाइएको छ।

हवाई टिकटको मूल्यवृद्धि
क्रेमलिनको सैन्य परिचालनसम्बन्धी घोषणा लगत्तै हवाईमार्गबाट पुग्न सकिने अन्य गन्तव्यहरू इस्तानबुल, बेलग्रेड तथा दुबईलगायतमा जाने टिकटको मूल्य ह्वात्तै बढेको देखिएको छ।
कतिपय ती गन्तव्यमा टिकटहरू पूर्ण रूपमा बिक्री भइसकेका छन्।
टर्कीका सञ्चारमाध्यमले एकातर्फी टिकट बिक्रीमा व्यापक वृद्धि भएको जनाएका छन्।
जर्मनीका आन्तरिक मामिलासम्बन्धी मन्त्रीले बिहीवार क्रेमलिनको निर्णयपछि भागेका रुसीहरूलाई आफ्नो देशमा स्वागत गर्ने सङ्केत गर्नुभएको छ।
उहाँले गम्भीर दमनको धम्कीको सामना गर्नेहरूले सुरक्षा जाँचपछि घटनाका आधारमा सुरक्षा पाउने बताउनुभएको छ।
छिमेकी देशको भनाइ
लिथुआनिया, लाट्भिया, इस्टोनिया र चेक गणतन्त्रको भनाइ भने फरक खालको देखिएको छ। उनीहरूले भागेर आउने रुसीलाई शरणको प्रस्ताव नगर्ने बताएका छन्।

क्रेमलिनको योजनाविरुद्ध रुसमा प्रदर्शनहरू भएका छन्
क्रेमलिनको घोषणापछि त्यसको विरोधमा मस्को र सेन्ट पिटसबर्ग लगायत प्रमुख रुसी सहरमा विरोध प्रदर्शनहरू भएका छन्।
त्यसलाई नियन्त्रण गर्न १ हजार ३ सयभन्दा बढीलाई गिरफ्तार गरिएको बताइएको छ।
रुसबाट प्राप्त समाचारमा विरोध प्रदर्शनका क्रममा पक्राउ परेका केहीलाई प्रहरी चौकीमा हिरासतमा रहेका बेला उनीहरूलाई युद्धमा सामेल हुने कागजात हस्तान्तरण गरिएको खबर पनि आएको छ।
रुस र युक्रेन के भन्छन् ?
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई त्यसबारे सोध्दा त्यसो गर्नु कानुन विपरीत नभएको बताउनुभयो।
युक्रेनी राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले बिहीवार रातिको सम्बोधनमा रुसीहरूलाई क्रेमलिनको निर्णयको प्रतिरोध गर्न आग्रह गर्नुभएको छ।
उहाँले युद्धमा रुसीहरूको मृत्युलाई उल्लेख गर्दै भन्नुभयो, ूथप मारिन चाहनुहुन्छ ? होइन ? त्यसो भए विरोध गर्नुहोस्, लड्नुहोस्, भाग्नुहोस् वा युक्रेनीसँग आत्मसमर्पण गर्नुहोस्।ू


















