Prakash Adhikari October 10, 2022

मान्म(कालिकोट), २४ असोज । कालिकोटको तिलागुफा नगरपालिका ४ राँचुलीमा स्थानीय हेमराज शाहीको मलामी गएका १३ जनाको अवस्था अझै पत्ता लाग्न सकेको छैन ।

कालिकोटका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार बेपत्ता भएकाहरूको खोजीका लागि १४ प्रहरीसहित स्थानीय खटिएका छन् ।

डिएसपी न्यौपानेका अनुसार विपद् व्यवस्थापन गण जुम्लाबाट १५ जना प्रहरी जनशक्ति घटनास्थलमा खटिएका छन् । तर भौगोलिक कठिनाइ र निरन्तर वर्षाका कारण उक्त टोली अझैसम्म पनि घटनास्थलसम्म पुग्न सकेको छैन ।

डिएसपी न्यौपानेका अनुसार घटनास्थल नजिकका पहिरोको जोखिममा रहेका बस्तीहरूलाई सुरक्षित क्षेत्रमा जान अनुरोध गरिएको छ ।

प्रहरी र स्थानीयले खोजी कार्य जारी राखे पनि अझैसम्म बेपत्ता भएकाहरूको कुनै जानकारी आउन नसकेको कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिनुभयो ।

प्रतिकुल मौसमका कारण खोजी कार्यमा समस्या आएको प्रजिअ शर्माको भनाई छ । शव दहन गरिने क्षेत्र माथिबाट ठुलो पहिरो गएकाले बेपत्ता भएकालाई तिला नदीले बगाएको हुन सक्ने प्रजिअ शर्माले बताउनुभयो ।

आइतबार मलामी गएका तिलागुफा नगरपालिका वडा नम्बर ४ का ५९ वर्षीय वडाध्यक्ष परबहादुर शाही ४७ वर्षीय कालिबहादुर शाही, ६३ वर्षका धनबहादुर शाही, ३१ वर्षका क्षेत्रजंग शाही, २८ वर्षीय खगेन्द्र शाही, २३ वर्षीय भेषबहादुर शाही, ५५ वर्षीय धन शाही, ७६ वर्षीय अलि शाही, २३ वर्षीय खेमराज शाही, ५७ वर्षीय भक्तबहादुर शाही, ४१ वर्षीय मोतिलाल शाही, २४ वर्षीय नरेश शाही, २३ वर्षीय प्रशान्त शाही सम्पर्कविहीन हुनुहुन्छ ।

शनिबार मृत्यु भएका स्थानीय युवक हेमराज शाहीको मलामीमा तिला नदी गएका वडावअध्यक्ष परबहादुर शाही, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्रबहादुर शाहीसहित १५ जना सम्पर्कबिहिन भएका थिए ।
राँचुली गाउँमाथिबाट आएको पहिरोले २०० घरपरिवार विस्थापित भएका छन् ।
Share Now

Leave a comment.