काठमाडौं, २४असोज । बुद्ध एयर यही असोज २५ गते अर्थात अक्टोबर ११ देखि २५ औँ वर्षमा प्रवेश गर्दै छ । सन् १९९७ अक्टोबर ११ का दिनदेखि नेपाली आकाशमा विधिवत् रूपमा हवाई उडान सुरु गरेको कम्पनीले मंगलबारदेखि आफ्नो हवाई उडान यात्राको सफलतापूर्वक २४ औँ वर्ष पुरा गरी २५औँ वर्षमा प्रवेश गर्न लागेको हो ।
यसै अवसरमा सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो २५ वर्षे यात्राका बारेमा जानकारी दिएको कम्पनीले सो अवधिमा २ लाख ६४ हजार ९ सय १८ फ्लाइट मार्फत कूल १ करोड ८० लाख भन्दा माथि सेवाग्राहीलाई उडान सेवा प्रदान गरिसकेको जनाएको छ ।
सुरुवाती चरणमा एउटा मात्र एयर क्राफ्टमार्फत डोमेस्टिक उडान सुरु गरेको कम्पनीले हाल ७२ सिटे एटीआर विमानसहित १६ वटा जहाजबाट ४३ वटा हवाई रुटमा सेवा प्रवाह गरिरहेको छ । भने १५ भन्दा बढी उडान गन्तव्यमा सेवा विस्तार गर्न सफल भएको कम्पनीले बताएको छ ।
कम्पनीको गुणस्तर र विश्वसनीयतामाथि थप व्याख्या गर्दै कम्पनीका प्रबन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतले स्वदेशी उडानमा बुद्ध एयरसँग अन्य कम्पनीहरूको तुलना नै हुन नसक्ने दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘कम्पनीको अनवरत २५ वर्षे यात्रा चानचुने कुरा होइन । निकै सङ्घर्षशील समय पार गर्दै बुद्ध एयरले रजत वार्षिक उत्सव मनाउन सफल भएको छ । यो सबै हामीले दिएको गुणस्तरीय सेवा तथा विश्वसनीयता र हाम्रा सेवाग्राहीहरूको मायाले गर्दा नै हो’ बस्नेतले भन्नुभयो, ‘बुद्ध एयरसँग अन्य कम्पनीको तुलना नै हुन सक्दैन । अन्य निजी डोमेस्टिक एयरलाइन्सहरू भन्दा बुद्ध एयर कैयौंं गुणामाथि रहेको छ ।’
बुद्ध एअरले अहिले माउण्टेन फ्लाइटसहित भद्रपुर,विराटनगर, राजविराज,जनकपुर,सिमरा, भरतपुर,पोखरा,काठमाडौ, तुम्लिड.टार, भैरहवा(गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल), नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान सेवा दिइरहेको छ ।
बुध्द एयरको भगिनी संस्था बुद्ध होलिडेजले आफ्ना गन्तव्यका लागि आकर्षक होलिडे प्याकेजहरु पनि सञ्चालनमा ल्याउने गरेको छ ।
भारतको कोलकोत्ता, गुवाहाटी, बनारस,पटना, लखनऊ र भुटानको पारोमा पनि उडान थालेको बुद्ध एअरले हाल बनारस सेक्टरमा मात्र नियमित उडान गरिरहेको छ । यसले अन्तर्राष्ट्रिय तर्फको ३ प्रतिशत हिस्सा ओगटेको छ । पहिले १ प्रतिशत मात्र थियो । कोरोनाका कारण विगतमा उडान गरिरहेका मध्ये कतिपय एअरलाइन्सको काठमाडौं उडान बन्द र कतिपयको कटौती भएकोले बुद्धको हिस्सा बढ्न गएको हो ।
१९९६ मा स्थापना भएको बुद्ध एअरले १९९७ अक्टोबर ११ देखि उडान शुभारम्भ गरेको हो । सुरुमा एक विचक्राफ्ट विमानबाट उडान थालेको बुद्ध एअरसंग अहिले १६ वटा विमान रहेका छन् ।
बुद्धसंग २ वटा १९ सीट युक्त विच १९०० डी, ३ वटा ४७ जना यात्रु क्षमता भएको एटीआर ४२ -३२० र ११ वटा ७२ जना यात्रुबाहक क्षमतायुक्त एटीआर ७२-५०० विमानहरु रहेका छन् । बुद्धले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै आईएफसीसंग कर्जा लिएर अत्याधुनिक ह्यांगर पनि निर्माण गरी सञ्चालन गरिरहेको छ जहाँ यसका विमानहरुको नियमित मर्मतसंभार हुने गर्दछ ।
निर्वाचन आयोगका संस्थापक प्रमुख आयुक्त, नेपाल प्रेस काउन्सिलका प्रथम अध्यक्ष, नेपाल कानुन आयोगका अध्यक्ष,पूर्व न्याय,कानून तथा शिक्षा र उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालको जिम्मेवारी सम्हालिसक्नुभएका सर्वोच्च अदालतका पूर्वन्यायाधीश सुरेन्द्रबहादुर बस्न्यात अध्यक्ष रहनुभएको बुद्ध एअरलाई उहाँकै सुपुत्र बीरेन्द्रबहादुर बस्न्यातले कुशलतापूर्वक हाँकिरहनुभएको छ ।
११ अक्टोबर १९९७ मा क्याप्टेन आरके शर्मा र अमेरिकी पाइलट क्याप्टेन सेन्ट जर्मेनले बुद्धको पहिलो १९ सीटे बिचक्राफ्ट एअरमा १६ यात्रुलाई सगरमाथा क्षेत्रको माउण्टेन उडान गरेर यसको प्रथम उडान शुभारम्भ गर्नुभएको थियो । यसको कल साइन नाइन एन एईई(9N-AEE) थियो भने उडान नं बीएचए १००(BHA 100) ।


















