विमला चौधरी
नेपालगञ्ज(बाके), ४ असोज(बीबीसी) । मध्य मनसुनमा खडेरी परेको पश्चिम नेपालमा करिब एक सातादेखि निरन्तर उच्च वर्षा हुँदा सयौँ घरहरू डुबानमा परेका छन् भने कैयौँको ज्यान गएको अधिकारीहरूले बताएका छन्।
लुम्बिनी प्रदेशका पूर्वी जिल्लाहरूमा वर्षा केही मात्रामा रोकिए पनि कर्णाली र सुदूरपश्चिम प्रदेशमा उच्च वर्षा जारी रहेको अधिकारीहरूले बताए।
त्यसले गर्दा कर्णाली नदीमा पानीको सतह खतराको तहभन्दा माथि रहेको बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, “कर्णाली नदीमा १०.८ मिटर पानीको सतहलाई खतराको तह मानिन्छ तर आइतवार बेलुकादेखि त्यहाँ पानी १२ मिटरभन्दा माथि छ।”
बर्दियाको क्षति
बर्दियामा दुई दिनअघि बबई नदीमा आएको बाढीले १ हजार घर डुबानमा पर्दा ५ हजार जना स्थानीयवासी प्रभावित भएको बास्तोलाले बताउनुभयो।
आइतवार बिहानदेखि कर्णाली नदीको बाढीले राजापुर क्षेत्रका घरहरू डुबाउन थालेको थियो।
कर्णाली नदीको बाढीले हालसम्म आठ सय घर डुबानमा परिसकेका छन्।

प्रजिअ बास्तोलाले भन्नुभयो, “डुबानमा परेका सबै परिवारलाई सुरक्षित स्थानमा सारिसकेका छौँ, पूर्व तयारीका कारण बर्दियामा मानवीय क्षति हुन पाएन।”
बाढी आउनुपूर्व नै सुरक्षाकर्मी गाउँ गाउँ पुगेर सूचना प्रवाह गरेकाले र घरमा भएका खाद्यान्न र आवश्यक सामाग्री समयमै सुरक्षित ठाउँमा सारेकाले विस्थापितहरूलाई खासै समस्या नरहेको उहाँको दाबी छ।
कर्णाली र सुदूरपश्चिममा वर्षा जारी रहेकाले कर्णालीमा पानीको सतह तत्काल घट्ने सङ्केत नदेखिएको उहाँको भनाइ छ।
कैलालीमा क्षति
कर्णाली र मोहना नदीको बढीले कैलालीको भजनी र टीकापुर क्षेत्र पनि प्रभावित भएको छ।
कर्णाली र मोहना नदीकोको तटीय क्षेत्रमा पर्ने भजनी नगरपालिकाका वडा नम्बर २, ३ र ८ र टीकापुर नगरपालिकाको वडा नम्बर ५, ६, ७, ८, र ९ मा तथा जानकी गाउँपालिकाका केही वडा लगायतका ६३८ घर डुबानमा परेको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताउनुभयो।
कैलालीमा विपद्को क्षेत्रमा काम गरिरहेका सामाजिक सङ्घ संस्थाको विवरणअनुसार वर्षैपिच्छे डुबानमा पर्ने बासिन्दालाई बाढी आउनुपूर्व सुरक्षित स्थानमा सारिएकाले धेरै क्षति हुनबाट जोगिएको उहाँको भनाइ छ।
त्यस्तै पानी नाप्ने यन्त्र नै डुबाएको राप्ती नदीमा भने अहिले पानीको सतह घटेको छ।
राप्ती नदीमा पानीको सतह ५ मिटर ४० सेन्टिमिटर माथि पुगेपछि खतराको तहमा पुगेको मानिन्छ।
गत शुक्रवार राप्ती नदीमा पानीको सतहले ९ मिटर पार गरिसकेको थियो।

अहिले भने पानीको सतह घटेर ४.४ मिटरमा झरेको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिनुभयो।
गत शुक्रवार राप्ती नदीमा आएको बाढीले बाँकेका राप्ती सोनारी डुडुवा र नरैनापुर गाउँपालिकामा १ सय ५८ घरमा पूर्ण क्षति भएको छ।
खत्रीले भन्नुभयो, ुुसबैभन्दा बढी राप्ती सोनारीको टीकलीपुर र डुडुवा गाउँपालिको चौफेरीका बासिन्दा बढी प्रभावित भएका छन्। उनीहरू अझै पनि जङ्गलमा सामुदायिक वनको भवन र विभिन्न सेल्टर भवनमा आश्रय लिएर बसेका छन्।ुु
बाँकेमा १ हजार ४ सय ५६ घरमा आंशिक क्षति भएको प्रमुख जिल्ला अधिकारी खत्रीले जानकारी दिनुभयो।
बाँकेमा बाढीबाट विस्थापित भएकालाई स्थानीय पालिका र रेडक्रसले खाद्यान्न, कपडा सहितका सामग्री सहयोग गरिरहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।
समितिका अनुसार बाँकेमा बाढीका कारण हालसम्म १ हजार १ सय ४३ घरधुरी विस्थापित भएका छन्।
प्रभावित जिल्लाहरू
अविरल वर्षाका कारण लुम्बिनी प्रदेशको रोल्पाबाहेक सबै जिल्लाहरू प्रभावित भएको बताइएको छ।
छ दिन देखिको लगातार वर्षाका कारण प्रदेशका विभिन्न जिल्लामा हजारौँ घररगोठ डुबानमा पर्नुका साथै मानवीय क्षति भएको लुम्बिनी प्रदेशको आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार यो वर्षायाममा बाढीपहिरोमा परेर प्रदेशमा २० जनाको मृत्यु भइसकेको छ।

तीनजना अझै बेपत्ता रहेका छन् भने सात जना घाइते भएका छन्।
पछिल्लो समय मनसुन सक्रिय हुँदा प्रदेशमा सबैभन्दा बढी दाङ जिल्ला प्रभावित भएको मन्त्रालयका प्रशासन सहायक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो।
प्रदेशभरि हालसम्म डुबानमा परेका ३ हजार ८ सय ५१ घर र गोठमध्ये २ हजार ९ सय ६१ दाङ जिल्लाका मात्र रहेको श्रेष्ठले बताउनुभयो।
उहाँका अनुसार बाढीपहिरोका कारण दाङमा ८, प्युठानमा ७, बाँकेमा २, गुल्मीमा १, कपिलवस्तुमा १ र पाल्पामा १ जनाको मृत्यु भएको छ।
दाङ, अर्घाखाँची र प्युठानमा एक(एक जना बेपत्ता छन्।
प्रदेश अन्तर्गतका विभिन्न जिल्लामा २ हजार ८ सय ३ घर र गोठमा आंशिक क्षति भएको विवरण प्राप्त भए पनि बाँके र बर्दिया जिल्लाको क्षतिको पूर्ण विवरण नआएको श्रेष्ठले जानकारी दिनुभयो।
कर्णाली प्रदेशमा जनधनको क्षति
कर्णाली प्रदेशका विभिन्न जिल्लामा पनि जनधनको क्षति भएको विभिन्न जिल्लाका अधिकारीहरूले बताएका छन्।
उक्त प्रदेशको राजधानी सुर्खेतसहित विभिन्न जिल्लामा त्यस्तो क्षति भएको जुम्लास्थित बीबीसी संवाददाता कृष्णमाया उपाध्यायले जनाउनुभएको छ।
गत १९ गतेदेखि परेको लगातारको वर्षाका कारण गएको पहिरोमा परेर जुम्लामा ८ जनाको निधन भएको र २ जना बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ।
त्यस्तै जिल्ला प्रशासन कार्यालय मुगुका अनुसार उक्त जिल्लामा पनि ८ जनाको निधन भएको जनाएको छ।
कालिकोटमा पनि ४ जनाको निधन भएको र १९ जना मानिसहरू बेपत्ता भएको उक्त जिल्लाका अधिकारीहरूले जानकारी दिएका छन्।
त्यस्तै हुम्लामा केही पर्यटकहरू पनि हिमपातमा फसेको त्यस जिल्लाका प्रमुख जिल्ला अधिकारीले जनाएका छन्।
प्रभावित क्षेत्रमा राहत र उद्धारको कार्य जारी रहेको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्।
पश्चिम नेपालमा वर्षा जारी रहने

पश्चिम नेपालमा अझै केही दिन मनसुन सक्रिय रहने मौसमविद्हरूले बताएका छन्।
एक जना मौसमविद् रेजिना मास्केका अनुसार पश्चिम नेपालमा अझै चाररपाँच दिन ठूलो पानी पर्ने सम्भावना रहेको छ।
उहाँका अनुसार बङ्गालको खाडीमा न्यून चापीय अवस्था अझै विकास भइरहेको देखिएको छ।
उहाँले भन्नुभयो, “अहिलेको अवस्था हेर्दा हेर्दा पूर्वी नेपालमा मनसुन कमजोर हुँदै गए पनि पश्चिम नेपालका भूभागमा अझै केही दिन पानी पर्ने देखिन्छ।”


















