Prakash Adhikari October 11, 2022

काठमाडौं, २४ असोज । नेपालमा हरित हाइड्रोजन उत्पादन र निर्यातको प्रचुर संभावनाा रहेको नीति निर्माता र विज्ञहरुले बताएका छन् ।

ऊर्जा, जलस्रोत र सिंचाई मन्त्रालय, अर्थमन्त्रालय, एमआइटी ग्रुप फाउन्डेसन र ग्लोबल एनआरएन फाउन्डेसनको संयुक्त आयोजनामा सोमबारदेखि काठमाडौंमा सुरु भएको दुई दिने ‘नेपाल ग्रीन हाइड्रोजन सम्मेलन’का सहभागी वक्ताहरुले सो कुरा बताएका हुन् ।

सम्मेलनको उद्घाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले हरित हाइड्रोजन ऊर्जाको विकासमा नेपालले विश्वमै अग्रणी भूमिका निर्वाह गर्नसक्ने बताउनुभयो ।उहाँले नेपालमा हरित हाइड्रोजन उत्पादन र निर्यातका लागि प्रचुर सम्भावना रहेको दावी गर्नुभयो ।

‘हाइड्रोजनको व्यावसायिक प्रयोग नवीनतम प्रविधि हो । यसको व्यापार सहज भइसकेको छैन । पर्याप्त जलस्रोत उपलब्ध भएकाले नेपालमा यसको सम्भावना अन्य देशको भन्दा बढी छ’, मन्त्री भुसालले भन्नुभयो, ‘हाइड्रोजन ऊर्जा उत्पादन र व्यापारमा नेपालले अग्रणी भूमिका निर्वाह गर्न सक्छ ।’

हाइड्रोजन ऊर्जाका विषयमा विश्वले अहिले विशेष चासो र प्राथमिकतासहित अध्ययन अनुसन्धान गरिरहेको बताउँदै मन्त्री भूसालले विभिन्न विकसित मुलुकले यसको उत्पादन र उपयोगबारे नीति निर्माण, प्रविधिको अनुसन्धान र अन्वेषणलाई तीव्रता दिएको उल्लेख गर्नुभयो । मन्त्री भुसालले हाइड्रोजन ऊर्जाका विषयमा नेपाल छिट्टै नीति निर्माण गरी अगाडि बढ्ने जानकारी गराउनुभयो ।

जलस्रोतलाई जलविद्युतमा परिणत गर्ने र जलविद्युत प्रयोग गरी जलस्रोतलाई हरित हाइड्रोजनका रुपमा विकास गर्ने विषय नेपालको आर्थिक समृद्धि, पर्यावरणीय सुरक्षा, ऊर्जा तथा खाद्य सुरक्षाका साथै दिगो विकासका दृष्टिले निकै गहन हुने उहाँको भनाइ थियो ।

मन्त्री भुसालले ऊर्जाको स्रोतका रुपमा जलविद्युतलाई प्रयोग गर्ने, प्रतिव्यक्ति विद्युत् खपत बढाउने साथै जलविद्युतलाई हाइड्रोजन ऊर्जा, एमोनिया र युरिया मल उत्पादनमा समेत प्रयोग गर्ने सरकारको लक्ष्य रहेको उल्लेख गर्नुभयो । सो लक्ष्य पूरा गर्नका लागि मन्त्रालयले कार्यदल गठन गरी जलविद्युत्को प्रयोगबाट हाइड्रोजन र रासायनिक मल उत्पादनको पूर्वसम्भाव्यता अध्ययनसमेत गरिसकेको उहाँको दावी छ।

मन्त्री भुसालले भन्नुभयो, ‘हाइड्रोजन ऊर्जाको विकासका लागि कार्य अगाडि बढाउन मन्त्रालयको पहलमा नेपाल विद्युत् प्राधिकरण र कोरियोको ग्लोबल ग्रीन ग्रोथ इन्टिच्युटबीच समझदारी भइसकेको छ ।’

उहाँले सन् २०३० भित्रै दिगो विकासका लक्ष्य प्राप्त गर्ने तथा सन् २०२६ मा मध्यम आय भएको मुलुकमा पुग्ने राष्ट्रिय लक्ष्य प्राप्त गर्नका लागि सरकारले कृषि, पर्यटन, औद्योगिक क्षेत्रसहित जलविद्युत् आयोजनाको तीव्र विकासका लागि जोड दिएको बताइउनुभयो ।

मन्त्री भुसालले भन्नुभयो, ‘सरकार औद्योगिकीकरण, विद्युतीय यातायात सञ्चालन, लिफ्टमार्फत खानेपानी र सिँचाइ, विद्युतीय सामग्री प्रयोग गरी सक्षम, सबल, उन्नत राष्ट्र बनाउन कार्ययोजनासहित लागेको छ ।’

हाइड्रोजन बेचेर धनी बन्ने : अर्थमन्त्री शर्मा

अर्थमन्त्री भन्छन्– नेपालले बिजुली बेच्नुपर्दैन, हाइड्रोजन र एमोनिया बेचे पुग्छ

 

अर्थमन्त्री जनार्दन शर्माले हाइड्रोजन बिक्री गरेर देशलाई आर्थिक रुपमा समृद्ध बनाउन सकिने बताउनुभएको छ।

सोमवार काठमाडौंमा आयोजित नेपाल ग्रीन हाइड्रोजन समिट–२०२२ लाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले हाइड्रोजन उत्पादन गरी बिक्री गरेर देशलाई आर्थिक रुपमा समृद्ध बनाउन सकिने बताउनुभएको हो ।

 

अर्थमन्त्री शर्माले जलवायु परिवर्तनका कारण विभिन्न असरहरू पनि देखिन थालेको भन्दै कार्बन उत्सर्जनलाई कम गर्नुपर्ने बताउनुभयो ।
उहाँले पेट्रोलियम पदार्थको खरिदमा नेपालबाट सबैभन्दा बढी डलर बाहिरिरहेको र व्यापार घाटा भइरहेको बताउनुभयो । मन्त्री शर्माले देशभित्र मात्रै हाइड्रोजनको प्रयोग गर्न सकेमा व्यापार सन्तुलनमा आउन सक्ने पनि उल्लेख गर्नुभयो ।

मन्त्री शर्माले भन्नुभयो, ‘हामीले नेपालबाट अब विद्युत बिक्री गर्नुपर्दैन । अब हाइड्रोजन बिक्री गरे पुग्छ । एमोनिया बिक्री गरे पुग्छ । त्यसकारणले विद्युत पीपीए गर्न नपर्ने कुरा अब केही छैन । विद्युत उत्पादन गर्नमा हामीले अब क्यु फोर्टी, सिक्स्टी भन्नुपर्ने अवस्था पनि छैन । भएको पानीको सबै सदुपयोग गरेर विद्युत उत्पादन गर्नसक्यो भने र त्यसबाट हामीले हाइड्रोजन, एमोनिया बनाएर विश्वबजारमा प्रतिष्पर्धी भएर हामीले पुर्‍याउन सक्यौँ भने नेपालको समृद्धि त्यहीँ छ । नेपालको विकासको एउटा सुन्दर भविष्य मैले त्यही देखिरहेको छु । त्यसकारण यतातिर हामी सबैको ध्यान जानुपर्छ ।

मन्त्री शर्माले जलवायु परिवर्तनका कारणबाट पार पाउनका लागि, कार्बन उत्सर्जनलाई कम गर्नुपर्ने र त्यसको विकल्पको रुपमा एमोनिया र ग्रीन हाइड्रोजन प्रयोग गर्न सकिने पनि बताउनुभयो ।

नेपालको सन्दर्भमा सबैभन्दा बढी डलर खर्च गर्नुपर्ने वस्तु पेट्रोलियम पदार्थ भएको छ । पेट्रोलियम पदार्थको विकल्पको रुपमा हामीले हाइड्रोजनलाई प्रयोगगरी आफैँलाई मात्र प्रयोग गर्नसक्यौँ भने नेपालको व्यापार सन्तुलनमा आउने अवस्था देखिन्छ । मन्त्री शर्माले भन्नुभयो ।

नेपालको आर्थिक विकासको दृष्टिकोणले, जलवायु परिवर्तनलाई न्यूनीकरण गर्ने दृष्टिकोणले, विश्व बजारमा नेपालको पहुँचलाई वृद्धि गर्ने र प्रतिष्पर्धी बन्ने हिसाबले र हामीसँग भएको अपार सम्भावनालाई सदुपयोग गर्ने र नेपालमा लगानी भित्राउने दृष्टिकोणले पनि हाइड्रोजनको व्यवसायिक उत्पादन र निर्यात महत्वपूर्ण रहेको उहाँको कथन छ ।

हरित हाइड्रोजन निर्यात संभव छः प्रा.भोला थापा, उपकुलपति के युुुुु

 

सम्मेलनको समुद्घाटन समारोहमा बोल्दै काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.भोला थापाले नेपालमा हाइड्रोजन ग्यासको उत्पादन प्रचुर संभावना रहेको र यसको बहुउपयोगीताबाट मुलकको आर्थिक रुपान्तरण गर्न सकिने बताउनुभयो ।

उहाँले घरेलु ऊर्जा उपयोगमा मट्टीतेल स्टोभबाट हामी खाना पकाउन ग्यासँमा रुपन्तरण भएजस्तै ग्याँसबाट विद्युत र विद्युतबाट हाइड्रोजनमा जान सकिने बताउनुभयो ।

उपकुलपति प्रा.डा. थापाले काठमाडौं विश्वविद्यालयले दुई बर्ष अगाडिबाट थालेको अध्ययन र अनुसन्धानले पनि यस्तो संभावना देखिएको बताउनुभयो । विश्वविद्यालयले वैकल्पिक ऊर्जा प्रबर्धन केन्द्र, जेड कन्सल्टेन्सी, नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण, आइआरडीपी इनटीआईसी,बागमती प्रदेश सरकार, धुलिखेल नगरपालिका र धुलिखेल रोटरी क्ल्ब अनि स्वतन्त्र ऊर्जा उत्पादक संघसंग मिलेर हरित हाइड्रोजन ग्यास उत्पादन प्रयोगशालाको स्थापना, सानो परिमाणमा ग्यास उत्पादन, ग्यासको सुरक्षण, भण्डारण, विक्री वितरण, हाइड्रोजन उत्पादनका नीतिहरुको तर्जुमा जस्ता प्रारम्भिक कार्य गरिरहेको छ ।

उहाँले भन्नुभयो, अहिले हामी ठूलो मात्रामा पेट्रोलियम पदार्थको आयात गरेर हाम्रो ऊर्जाको आवश्यकता पूरा गरिरहेका छौं । ठिक यस्तैगरी नेपालले पनि अब हाइड्रोजन उर्जा विश्व बजारलाई बेच्न सक्छ भन्ने काठमाडौं विश्व विद्यालय र विश्वविद्यालयको ग्रीन हाइड्रोजन ल्याबमा काम गरिरहेको हाम्रो टिमको निष्कर्ष थियो र छ ।

उहाँले नेपालसँग जलविद्युत् र सफा पानीबाट हाइड्रोजन उत्पादन गर्ने अथाह सम्भवाना भएको बताउदै भन्नुभयो, हामीले हजारौं मेगावट विद्युत् उत्पादन गर्‍यौं भने जलविद्युतको उक्त सम्भावनालाई हामीले हाइड्रोजन उत्पादनसँग जोड्न सक्छौं । यसको उत्पादन, लागत, विधि र भण्डारणबारे धेरै अध्ययनहरु बाँकी नै छ । तर, तत्काल देखिएका कुरा मात्रै गर्ने हो भने नेपालले अहिले खाना पकाउने ग्याँस आयात गरेर आफ्नो ऊर्जाको आवश्याकता पूरा गरे जस्तै गरी विश्वको हरित ऊर्जाको मागको केही अंश नेपालले हाइड्रोजनमार्फत पूरा गर्न सक्छ र यसले देशको भविष्य पनि सुन्दर बनाउँछ ।

उपकुलपति प्रा. डा. थापाले हाइड्रोजनको अर्को ब्लक उपयोगको क्षेत्र रासायनिक मल उत्पादनका लागि आवश्यक ऊर्जा भएको बताउदै नेपालमा नै रासायनिक मल उत्पादन कारखाना खोल्न सके यसले खाद्यान्न उत्पादनमा टेवा पुर्याउनुको साथै मल खरिदमा विदेशिएको रकम जोगिने र मल निर्यातबाट थप आय आर्जन हुने बताउनुभयो ।

उहाँले विश्वविद्यलयकै एकजना विद्यावारिधि शोधकर्ताको अध्ययनमा नेपालको फलाम खानीको कच्चा पदार्थ पगाल्ने कामका लागि हाइड्रोजन सबै भन्दा उपयुक्त विकल्प देखिएको बताउनुभएको छ।

 

नीति बनाउन शेष घलेको आग्रह

सम्मेलनमा गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष तथा मेलवर्न इन्स्टिच्यूट अफ टेक्नोलोजीका अध्यक्ष शेष घलेले सरकारले ग्रीन हाइड्रोजन सम्बन्धी नीति बनाउनुपर्ने बताउनुभयो ।

 

उहाँले जलविद्युतको प्रयोग गरेर उत्पादन हुने ग्रीन हाइड्रोजनको उत्पादनमा सरकारले जोड दिनुपर्ने बताउनुभयो । ‘पानीको प्रयोगबाट जलविद्युतको उत्पादन हुन्छ र जलविद्युतको प्रयोगबाट ग्रीन हाइड्रोजनको उत्पादन हुन्छ,’ घलेले भन्नुभयो, ‘यसो गर्दा नेपालमा उत्पादित बिजुली खपत नहुने चिन्ता समेत समाप्त हुन्छ ।’

बिजुलीको प्रयोग गरेर उत्पादन गरिने ग्रीन हाइड्रोजनलाई सिलिन्डरमा स्टोर समेत गर्न मिल्छ । जसलाई खाना पकाउन, सवारी साधनको इन्धनका रूपमा र औद्योगिक ऊर्जाका रूपमा समेत आवश्यकताअनुसार प्रयोग गर्न सकिन्छ । यसो गर्न सकेमा नेपालले लिएको सन् २०४५ सम्ममा जेरो कार्बनको लक्ष्य भेट्टाउन समेत सहज हुने घलेको भनाइ छ

नेपालले ग्रीन हाइड्रोजन सम्बन्धी आवश्यक नीति बनाएमा यसतर्फ लगानी बढाउन निजी क्षेत्र इच्छुक र तयार रहेको घलेको भनाइ थियो । ‘ग्रीन हाइड्रोजनको उत्पादनपछि नेपालमा कार्बन उत्पादन घट्छ र यसले वातावरण स्वच्छ र सफा बनाउँछ,’ घलेले भने, ‘वातावरण स्वच्छ भएसँगै हाम्रा हिमाल र भावी पुस्ताले स्वच्छ हावाबाट स्वास फेर्न पाउँछन् ।’

Share Now

Leave a comment.