Prakash Adhikari October 12, 2022

काठमाडौं, २६ असोज । नेपालको हवाई सुरक्षाको स्तर सुध्रदै गएकोले युरोपियन युनियनले नेपाललाई नागरिक उड्डयनको कालोसूचीबाट हटाउने संभावना बढेको छ ।

मंगलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्राधिकरणका महानिर्देशक ई.अधिकारीले सो कुरा बताउनुभएको हो ।

प्राधिकरणका महानिर्देशक ई. प्रदीप अधिकारीले अघिल्ला नेतृत्वले उडान सुरक्षामा भन्दा प्राधिकरण विभाजन गर्ने राजनीतिक निर्णयमा बढी जोड दिएकोले नेपालको हवाइ उड्डयन युरोपेली युनियनको कालोसूचीबाट हट्न नसकेको बताउनुभएको छ।

उहाँले नेपालको हवाइ उडानको सुरक्षामा सुधार, प्रविधिमा सुधार, सुरक्षा मापदण्डको प्रभावकारी कार्यान्वयनमा र नेपालको हवाइ सुरक्षाको प्रतिवद्धताको कार्यान्वयनमा ध्यान नदिँदा नेपाली उड्डयन क्षेत्र १० वर्षदेखि कालोसूचीमा परेको बताउनुभयो।

अधिकारीले प्राधिकरणका नेतृत्वहरु नागरिक उड्डयन प्राधिकरण टुक्रेपछि इयूको कालोसूचीबाट हट्ने प्रचार गरेर आफू अनकुलको विधेयक बनाउँदै गएको आरोप लगाउनुभयो।

उहाँले सरकारले नेपाली उड्डयन क्षेत्र सुरक्षाका लागि नीति, नियममा सुधार गर्न आवश्यक रहेको बताउनुभयो।

महानिर्देशक अधिकारीले युरोपेली युनियन र आइकाओले हवाइ उडानलाई कालोसूचीबाट हटाउनको लागि नागरिक उड्डयन प्राधिकरण विभाजन गर्नुपर्छ नभनेको दाबी गर्नुभयो।

महानिर्देशक अधिकारीले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले तोकेको विश्वको औसत दरभन्दा माथि उड्डयन सुरक्षामा सुधार हुँदा समेत इयूले भने अहिलेसम्म नेपाली वायुसेवालाई कालोसूचीबाट नहटाएकोप्रति गुनासो गर्नुभयो।

उहाँले ईयूको कालोसूचीमा नेपाली हवाइ उड्डयन पर्नुलाई देशकै बदनाम हुनेगरी प्रचार गरिनु गलत रहेको बताउनुभयो।

उहाँले अघिल्ला नेतृत्वले नेपाली आकाश सुरक्षित छ भन्ने आँटसमेत नगरेको बताउनुभयो। अधिकारीले अहिले आन्तरिक र वाह्य उडान गर्ने सबै जहाजहरु युरोपमा नै उत्पादन भएका जहाज रहेको बताउनुभयो।

युरोपमा बनेका ९० प्रतिशत हेलिकप्टर र हवाइ जहाजका पाटपूर्जादेखि उड्डयनसम्बन्धी सबै उपकरण युरोपबाट नै आएकाले नेपाली आकाश सुरक्षित छ भनेर आइकाओसमक्ष बोल्न नसकेको बताउनुभयो।

उहाँले युरोपको जहाज प्रयोग गर्दा पनि नेपाली आकाश कसरी असुरक्षित भयो ? भन्दै प्रश्न गर्नुभयो । महानिर्दैशक अधिकारीले युरोपियन युनियनले नेपालको हवाइ उडानलाई कालोसूचीमा राख्नु न्यायोचित नभएको उल्लेख गर्नुभयो।

महानिर्देशक अधिकारीले नेपाल जस्तो सानो देशको प्राधिकरण विभाजन गर्न आवश्यक नभएको जिकिर गर्नुभयो।

हवाइ सुरक्षामा सुधार

महानिर्देशक अधिकारीले युरोपियन युनियन (इयु) को प्रतिनिधिले अध्ययनले नेपाली उड्डयन क्षेत्रमा अपेक्षाभन्दा बढी सुधार भएको निष्कर्ष निकालेकोले यही प्रतिवेदनका आधारमा चाडै कालोसूचीबाट हट्ने बताउनुभयो।

उहाँले आगामी नोभेम्बरमा युरोपियन युनियन काउन्सिलको बैठक बस्ने भएकाले त्यो बेलामा नै कालोसूचीबाट हट्नसक्ने बताउनुभयो।

अधिकारीले युरोपियन युनियन (इयु) को प्रतिनिधिले गरेको सुपरीवेक्षणमा नेपालको हवाइ सुरक्षामा उल्लेखनीय सुधार आएको प्रतिक्रिया दिएको बताउनुभयो।

अधिकारीले युरोपियन युनियनका प्रतिनिधिले प्राधिकरणसहित तारा एयर र समिट एयरको समेत स्थलगत अध्ययन गरेको
उनीहरुले तयार पारेको प्रारम्भिक प्रतिवेदन प्राधिकरणलाई बताउनुभयो ।

उहाँले फाइनल प्रतिवेदन आएपछि सार्वजनिक गर्ने बताउनुभयो।

अधिकारीले इयुले कहिल्यै पनि प्राधिकरण दुई वटा बनाउन निर्देशन नदिएको र हवाइ सुरक्षामा सुधार गर्न मात्र भनेको बताए अहिले इयूको टोलीले नेपालको हवाइ उड्डयन स्थलगत निरीक्षण गरेर फर्किसकेको छ । नेपालको हवाइ उड्डयन सुरक्षामा जोखिम बढेको जनाउँदै आइकाओले सन् २०१३ मा नेपाली वायुसेवालाई गम्भीर सुरक्षा चासोको सूचीमा राखेको थियो।

पछि सन् २०१७ मा नेपालले प्रगति गरेको भन्दै आइकाओले असुरक्षा सूचीबाट हटाएको थियो । अहिले एशिया प्रशान्त क्षेत्रको ग्लोवल हवाइ सुरक्षादर ६७ पुगेको छ । आइकाओको सेफ्टी अडिटमा नेपालले ७० दशमलव एक प्रतिशत अंक पाएको थियो । इयूले उठाएका सुरक्षा चासोको विषय सम्बोधन भइसकेको र नेपालको हवाइ सुरक्षाको अवस्थामा सुधार आएकाले यो पटक नेपाल इयूको असुरक्षा सूचीबाट हट्ने अपेक्षा रहेको छ ।

Share Now

Leave a comment.