नेपाली कांग्रेसद्धारा तीनै तहका सरकारलाई बाढी,पहिरो र डुबान प्रभावित नागरिकहरु राहत उपलब्ध गराउन माग
सानेपा(ललितपुर), २८ असोज । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबार बसेको बैठकले कर्णाली प्रदेशका जिल्लाहरुमा हालै भएको प्राकृतिक विपद्को घटनाका पीडित र प्रभावितलाई राहत उपलब्ध गराउन तीनै तहका सरकारसंग माग गरेको छ ।
कांग्रेसले भनेको छ ,”२०७९ असोज १९ गतेदेखि परेको अविरल वर्षाका कारण कर्णाली प्रदेशका जिल्लाहरु– रुकुम पश्चिम, मुगु, कालिकोट, हुम्ला, सुर्खेत, जाजरकोट, सल्यान, डोल्पा, जुम्ला र दैलेखमा करीब ३ दर्जन व्यक्तिको मृत्यु, २० जना वेपत्ता र २३ जना घाइते भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सम्पूर्ण पीडितहरुको यो संवेदनशीलताप्रति केन्द्रीय कार्यसम्पादन समितिको यो बैठक सहानुभूति प्रकट गर्दछ ।”
हालै आएको अविरल वर्षाको कारणले रुकुम पश्चिममा ७, मुगुमा २ सय ३६, कालिकोटमा २ सय ३२, हुम्लामा २८, सुर्खेतमा १ सय २९, जाजरकोटमा १२, सल्यानमा ६७, डोल्पामा ५, जुम्लामा ३ सय ६८ र दैलेखमा २ सय ७१ घरहरु पूर्ण रुपमा क्षति भएका छन् ।
त्यसैगरी रुकुम पश्चिममा ३, मुगुमा ३ सय ९९, कालिकोटमा ४ सय ३५, हुम्लामा ३२, सुर्खेतमा १ स २७, सल्यानमा ४२, डोल्पामा ६, जुम्लामा ४ सय ४० र दैलेखमा २ सय ३६ घरहरु उच्च जोखिममा रहेका छन् ।
त्यस्तै रुकुम पश्चिममा १५, मुगुमा ५ हजार २ सय ८२, कालिकोटमा १ हजार ७ सय ६३, हुम्लामा ४ सय ७४, सुर्खेतमा ५ सय ६६, सल्यानमा ६ सय २९, डोल्पामा ३२, जुम्लामा १ हजार ७ सय २५, दैलेखमा १ हजार ६ सय २० र जाजरकोटमा १८ जना स्थानीय वासिन्दा विस्थापित हुन वाध्य भएका छन् ।
कर्णाली राजमार्गका दैलेख, कालिकोट, जुम्ला, मुगुका केही स्थानहरु अवरुद्ध भएका छन् ।
नेपाली कांग्रेसले प्राकृतिक विपद्मा परि जीवन गुमाउनु भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनहरुमा हार्दिक समवेदना प्रकट गरेको छ । नेपाली कांग्रेसले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।
नेपाली कांग्रेसले वाढी पहिरो प्रभावित सम्बन्धित जिल्लाका नेपाली कांग्रेस तथा भ्रातृ एवं शुभेच्छुक संस्थाका सबै निकायहरुलाई उद्धार, राहत र पीडितलाई सुरक्षित स्थानमा स्थानान्तरण गराउने कार्यमा सहयोग पु¥याउन निर्देशन पनि दिएको छ ।


















