Prakash Adhikari October 14, 2022

 

काठमाडौं, २९ असोज । आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनमा उम्मेदवार बनेका प्रमुख दलका शीर्ष नेताहरूको क्षेत्र उनीहरूका लागि कति सुरक्षित छ भन्ने धेरैलाई चासो छ।

सुरक्षित निर्वाचन क्षेत्र खोज्दै कतिपय प्रमुख नेताहरूले निर्वाचन क्षेत्र नै बदलेका छन् भने केही पुरानै क्षेत्रबाट उम्मेदवार बनेका छन्।

हाल जीवित रहेका सातजना पूर्व सरकार प्रमुखहरूमध्ये पाँचजना प्रत्यक्ष प्रणालीबाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा छन्।

पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई अनि पूर्व मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी चुनावी मैदानमा हुनुहुन्न।

नेपालको संविधान अनुसार प्रतिनिधिसभा सदस्यमध्येबाट देशको प्रधानमन्त्री छानिने व्यवस्था छ।

देउवाका प्रतिस्पर्धी कम
प्रधानमन्त्री शेरबहादुर देउवा एक मात्र निर्वाचन क्षेत्र रहेको डडेलधुराबाट चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ।

आफ्नो गृह जिल्लामा देउवाका सातजना प्रतिस्पर्धी भए पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको यहाँ आफ्नो उम्मेदवार छैन।

दोस्रो ठूलो संसदीय शक्ति एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएर देउवाको क्षेत्रमा कर्ण मल्ललाई समर्थन गरेको छ।

नेपाली कांग्रेस बिपीबाट उम्मेदवारी दिएका मल्ल यसअघि देउवाकै स्वकीय सचिव हुनुहुन्थ्यो। यहाँ देउवाको मुख्य प्रतिस्पर्धा मल्लसँगै हुने ठानिएको छ।

देउवाको उम्मेदवारी दर्ता

देउवाको उम्मेदवारी दर्ता

पाँचपटक प्रधानमन्त्री भइसकेका ७७ वर्षीय देउवासँग अक्सफर्ड विश्वविद्यालयबाट स्नातक गरेका ३१ वर्षीय सागर ढकाल सहित चारजना स्वतन्त्र उम्मेदवार पनि चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ।

ओलीका प्रतिस्पर्धी धेरै
पूर्व प्रधानमन्त्री समेत रहिसकेका नेकपा एमालेका अध्यक्ष केपी ओलीले झापा ५ बाट उम्मेदवारी दिनुभएको छ।

ओलीको क्षेत्रमा २५ जना उम्मेदवार चुनावी मैदानमा रहे पनि उहाँको मुख्य प्रतिस्पर्धा सत्ताधारी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका खगेन्द्र अधिकारीसँग हुने ठानिएको छ।

लामो समय त्रिचन्द्र क्याम्पसमा प्राध्यापन गरेका अधिकारीले अघिल्लो संसदीय निर्वाचनमा राजीनामा दिएर ओलीसँगै प्रतिस्पर्धा गर्नुभएको थियो।

केपी ओली

केपी ओली
ओलीले उम्मेदवारी दिएको क्षेत्रबाट राजनीतिक दल बाहेक १२ जना स्वतन्त्र उम्मेदवारहरू पनि चुनावी प्रतिस्पर्धामा छन्।

आफ्नो गृह जिल्लामा ७० वर्षका ओलीलाई चुनौती दिनेमा २५ वर्षका तिर्थेश्वर चौधरी तथा लेखक युग पाठक पनि हुनुहुन्छ।

प्रचण्डलाई ९९ वर्षीयको चुनौती
संसदीय प्रतिस्पर्धामा सहभागी भएयता हरेक चुनावमा फरक फरक क्षेत्रबाट उम्मेदवार बनेका पुष्पकमल दाहाल प्रचण्ड यो पटक गोरखा २ बाट उठ्नुभएको छ।

पूर्व प्रधानमन्त्री समेत रहिसक्नुभएका दाहाललाई यो क्षेत्र अर्का पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले छोडिदिनुभएको हो।

यसअघिको निर्वाचनमा यो क्षेत्रबाट निर्वाचित भट्टराई यो पटक चुनाव उठनुभएन।

प्रचण्ड मनोनयन

प्रचण्ड मनोनयन

गठबन्धनको साथ पाएका दाहालले गोरखा २ मा दुईजना स्वतन्त्र सहित ११ जना अन्य प्रतिस्पर्धीको सामना गर्दै हुनुहुन्छ।

चितवनबाट गोरखा आउनुभएका ६६ वर्षीय दाहाललाई चुनौती दिने ठानिएका एमालेका अब्दुस मियाँ २९ वर्षका मात्रै हुनुहुन्छ भने कांग्रेस बिपीबाट ९९ वर्षका टिकादत्त पोखरेल पनि उहाँसँगै प्रतिस्पर्धामा हुनुहुन्छ।

माधव नेपालको अवस्था
गठबन्धनको तेस्रो प्रमुख घटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि आफ्नो यसअघिको निर्वाचन क्षेत्र काठमाडौं २ छोडेर रौतहट १ बाट उम्मेदवार बन्नुभएको छ।

आफ्नो पुरानो निर्वाचन क्षेत्र फर्किएका नेपालले ९ जना स्वतन्त्र सहित अन्य १६ जना प्रतिस्पर्धीको सामना गर्दै हुनुुहुन्छ।

चार दलीय गठबन्धनको साथ पाएका नेपाललाई उहाँकै पुरानो पार्टी एमालेका अजयकुमार गुप्ताले चुनौती दिने ठानिएको छ।

यसअघि गौरको मेयर रहेका गुप्तालाई जनता समाजवादी पार्टीले पनि समर्थन गरेको छ।

मनोनयन दर्ता

मनोनयन दर्ता

हाल ६९ वर्षका नेपालले २५ वर्षका स्वतन्त्र उम्मेदवार राहुलकुमार मिश्र सहित छ जना युवा उम्मेदवारहरूसँग पनि प्रतिस्पर्धा गर्दै हुनुहुन्छ।

खनाललाई कस्तो चुनौती ?
एकीकृत समाजवादीकै वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल आफ्नो पुरानै निर्वाचन क्षेत्र इलाम १ बाट उम्मेदवार बन्नुभएको छ।

तीनजना स्वतन्त्र सहित ११ जना उम्मेदवार रहेको यो क्षेत्रमा खनाललाई नेकपा एमालेका महेश बस्नेतले चुनौती दिने ठानिएको छ।

बस्नेत इलाम नगरपालिकाका पूर्व मेयर हुनुहुन्छ।

हाल ७२ वर्षका खनालका एकजना बाहेक सबै प्रतिस्पर्धी ५० वर्ष भन्दा माथिका हुनुहुन्छ।

उहाँलाई सत्ताधारी गठबन्धनको साथ छ।

प्रभावशाली नेता नै आमनेसामने
सप्तरी २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउत सहित १६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ।

सिके राउत

सिके राउत

नेकपा एमालेसँग तालमेल गरेका यादव पूर्व उपप्रधानमन्त्री भइसकेका नेता हुन् भने मधेस मुद्दा उठाएर नयाँ दल गठन गरेका राउतको संसदीय प्रतिस्पर्धा पहिलो हो।

यो क्षेत्रमा सत्ताधारी गठबन्धनले भने लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरलाई समर्थन गरेको छ।

लोकतान्त्रिक समाजवादी दलका अध्यक्ष महन्थ ठाकुर महोत्तरी ३ बाट चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ।

यो क्षेत्रबाट २१ जनाले उम्मेदवारी दिए पनि गठबन्धनको साथ पाएका ठाकुरको एमालेको साथ पाएका जनता समाजवादी पार्टीका उम्मेदवार हरिनारायण यादवसँग प्रतिस्पर्धा हुने ठानिएको छ।

महन्थ ठाकुर

महन्थ ठाकुर

आगामी निर्वाचनमा अर्को रोचक प्रतिस्पर्धा लोकतान्त्रिक समाजवादी पार्टीकै वरिष्ठ नेता राजेन्द्र महतो र नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवबीच सर्लाही २ मा हुँदै छ।

यो क्षेत्रमा नेकपा एमालेका राजनारायण साह सहित १७ जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ।

अरू नेताको प्रतिस्पर्धा को सँग ?
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा ३ मा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला सहित १७ जना उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ।

राजेन्द्र लिङ्देन

राजेन्द्र लिङ्देन

एमालेको साथ पाउनुभएका लिङ्देनलाई सत्ताधारी गठबन्धनका उम्मेदवार सिटौलाले चुनौती दिने ठानिएको छ।

यसअघिको निर्वाचनमा पनि सिटौला र लिङ्देनबीच यो क्षेत्रमा प्रतिस्पर्धा भएको थियो।

सत्ताधारी गठबन्धनकै साझेदार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी बाङ्लुङ १ बाट उम्मेदवार बन्नुभएको छ।

उमेरले ८० टेकेका पूर्व उपप्रधानमन्त्री केसीलाई ४६ वर्षीय एमाले उम्मेदवार सूर्यनारायण पाठकले चुनौती दिने ठानिएको छ।(बीबीसीबाट)

 

Share Now

Leave a comment.