धनगढी(कैलाली), २२ कार्तिक । नेपाली कांग्रेसको नेतृत्वमा रहेको ५ दलीय गठबन्धनले सुदूर पश्चिमको दार्चुलाबाट संयुक्त चुनावी सभा आरम्भ गर्ने भएको छ ।
प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले दिनुभएको जानकारी अनुसार प्रधानमन्त्री देउवाले कात्तिक २३ गते बैतडी र दार्चुलामा हुने गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । सोही कार्यक्रमलाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पनि सम्बोधन गर्नुहुने बताइएको छ ।
गठबन्धनका शीर्ष नेताहरुले यस पहिले प्रदेश स्तरीय संयुक्त कार्यकर्ता भेला तथा प्रशिक्षण गरेर आफ्नो नेता तथा कार्यकर्तालाई निर्वाचनमा परिचालन गरिसकेका छन् ।
निर्वाचन आयोगले कार्तिक १७ गतेदेखि दलहरुलाई आमसभा लगायतका निर्वाचनका प्रचारप्रसार गतिविधि गर्ने अनुमति दिएपछि आफ्नो निर्वाचन क्षेत्र डडेल्धुराका विभिन्न चुनावी सभालाई संबोधन गरिसक्नुभएका प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अहिले धनगढीमा रहनुभएको छ ।
उहाँले हिजो सोमबार आफ्नो निजी निवासमा नेपाली कांग्रेस कैलालीका नेता तथा कार्यकर्तासंग भेटघाट गर्नुभएको छ ।
कैलालीसंग प्रधानमन्त्री देउवाको पनि विशेष सम्बन्ध रहेको छ । २०७० सालको संविधानसभा निर्वाचनमा प्रधानमन्त्री देउवा डडेल्धुराको साथै कैलालीबाट पनि उठनु भएको थियो । त्यसबेला उहाँ दुवै निर्वाचन क्षेत्रबाट विजयी हुनुभएको थियो ।
एक निर्वाचन क्षेत्र त्याग्नुपर्ने नियमानुसार उहाँले कैलाली छोड्नु भयो र उपचुनावमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बन्नुभएका पुष्कर ओझा जित्नुभयो ।
२०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट सो क्षेत्रमा डा. आरजु देउवा राणा उम्मेदवार बन्नुुुभएको थियो । तर विजयी बन्न सक्नुभएन ।
यसपटक पनि नेपाली कांग्रेसकै केही स्थानीय नेता तथा कार्यकताहरु कैलालीमा स्वतन्त्रहरु मैदानमा देखिएकोले प्रधानमन्त्री देउवाले उनीहरुलाई निष्क्रिय बनेर पार्टीका आधिकारिक उम्मेद्वारलाई सघाउन आग्रह गर्नुभएको छ ।
स्वतन्त्र उम्मेदवारी दिनुभएका गोविन्दराज जोशीले प्रधानमन्त्री देउवाले आज आफूसँगको भेटमा उम्मेदवारी निष्क्रिय पारेर पार्टी र सत्ता गठबन्धनको पक्षमा लाग्न आग्रह गर्नुभएको बताउनुभयो । उहाँले भन्नुभयो, “सभापतिले आज मलाई बोलाएर स्वतन्त्र नलड, पार्टीमा फर्किएर काम गर भन्नुभयो ।”
जोशीले कैलाली निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । सोही क्षेत्रबाट कांग्रेसका युवा नेता लक्ष्मण शाही पनि स्वतन्त्र उम्मेदवार हुनुहुन्छ । सो क्षेत्रमा सत्ता गठबन्धनले नेकपा (एकीकृत समाजवादी) का अमरबहादुर साउदलाई टिकट दिएको छ ।
कैलाली निर्वाचन क्षेत्र ५ (धनगढी क्षेत्र)को प्रतिनिधिसभा सदस्यमा कांग्रेसले नेता डिल्लीराज पन्तलाई टिकट दिएको छ भने पूर्वराज्यमन्त्री पुष्करनाथ ओझा यसै क्षेत्रबाट स्वतन्त्र उम्मेदवार हुनुहुन्छ ।
प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवाले अहिले ओझासहित उहाँको पक्षमा रहेका कतिपय नेता कार्यकर्ता मनाउने कोसिस गरिरहनुभएको हो ।
क्षेत्र नं ५ कै प्रदेशसभा (२) मा कांग्रेस नेता प्रकाश देउवालाई टिकट दिइएको छ । प्रदेशसभाको यसै क्षेत्रमा कांग्रेसका युवा नेता क्षितिज भण्डारी स्वतन्त्र उम्मेद्वार हुनुहुन्छ ।


















