Prakash Adhikari March 23, 2018

 

काठमाडौ, ९ चैत्र । राजधानीमा विश्वका पर्वतारोहण संघहरुको संगठन (यूआईएए)को कार्यसमितिको दुई दिवसीय बैठक र विश्व साहसी तथा पर्वतारोहण सम्मेलन आरम्भ भएको छ ।

होटल अन्नपूर्णमा भएको विश्व पर्वतारोहण संघको दुई दिवसीय कार्य समितिको बेठकको नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तबीर लामा, विश्व पर्वतारोहण संघका अध्यक्ष फ्रिज भिज्ल्याण्ट् र पर्यटन मन्त्रालयका सहसचिव रामप्रसाद सापकोटाले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

बैठकको संक्षिप्त उद्घाटन शत्रमा नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तबीर लामाले विश्वका पर्वतारोहीहरुको राष्ट््िरय संस्थाहरु सदस्य रहेको विश्व पर्वतारोहण संघको कार्य समितिको बैठक पहाड र उच्च हिमालहरुको मुलुक नेपालमा गर्न पाउनु नेपालीका लागि गौरवको विषय भएको बताए ।

उनले नेपालको आर्थिक विकास पर्वतीय पर्यटनसंग पनि आबद्ध भएकोले नेपालले यो बैठकलाई महत्वको साथ हेरेको पनि बताए । उनले नेपाल सरकारले पर्वतारोहणको क्षेत्रमा लिएका नयाँ नीतिका बारेमा पनि बैठकमा अवगत गराइने बताए । उनले पर्वतारोहण र पदयात्रालाई प्रबर्धन गर्न नेपालमा झण्डै २ हजार कम्पनीहरु सक्रिय रहेको बताए ।

बैठकको समुद्घाटनमा संक्षिप्त मन्तव्य राख्दै विश्व पर्वतारोहण संघका अध्यक्ष फ्रिट्ज युरिजल्याण्ड्टले विशाल र सर्वोच्च हिमालयको देश नेपालमा संघको बैठकमा सहभागी हुनपाउनु गर्वको कुरा भएको उल्लेख गरे ।

उनले विश्वका पर्वतारोहीहरुको सर्बाधिक सरोकारको विषय सुरक्षालाई संघले अत्यन्तै महत्व दिएको पनि उल्लेख गरे । यसका साथै पर्वतारोहका नीति नियमको स्थायित्व, पर्वतारोहीहरुको जोश र युवाहरुको संलग्नतालाई पनि संघले उत्तिकै महत्व दिएको बताए ।

उनले साहसी व्यक्तिहरुको लागि संसारका सबै हिमाल तथा पर्वतहरु विनाभेदभाव खुला पहुँचमा राखिनु पर्ने पनि बताए ।

कार्यक्रममा पर्यटन मन्त्रालयका प्रतिनिधि रामप्रसाद सापकोटाले नेपालको पर्यटनको मुख्य आकर्षण रहेको पर्वतारोहण र पदयात्राका बारेमा यूआईएए जस्ता विश्वका पर्वतारोही संस्थाहरुको छाता संगठनको सल्लाह र सुझावलाई नेपाल सरकारले सधै स्वागत गर्ने बताए ।

युआईएएको २१ सदस्यीय कार्य समितिमा नेदरल्याण्ड्स, हंगेरी, अमेरिका,फ्रान्स, स्वीजरल्याण्ड्स,इटाली,चीन, अर्जेन्टिना, बेलायत, न्यूजिल्याण्ड,क्यानडा, फ्रान्स,जर्मनी, जापान, नेपाल, इटाली र स्पेनका प्रतिनिधिहरु रहेका छन् ।

विश्व सम्मेलन पनि

विश्व पर्वतारोहण संघको बैठकको अवसर पारेर आजै दरबारमार्गस्थित अर्को पाँच तारे होटल याक एण्ड यतिमा हाउस अफ राजकर्णिकारको आयोजनामा ग्लोबल एड्भेञ्चर एण्ड माउण्टेरिड. कन्फरेन्सको आयोजना गरिएको छ ।

सो कन्फरेन्सको नेपाल पर्यटन बोर्डका प्रमखु कार्यकारी अधिकृत दीपकराज जोशीले उद्घाटन गरेका थिए ।

सम्मेलनमा पर्यटनसंग सम्बन्धित २७ वटा कार्यपत्र प्रस्तुत गरिनेछ भने संरक्षण र पर्यटन, जलवायु परिवर्तनको अनुकूलता र दिगो पर्यटन विकासमा प्रमुख वक्ताहरुले बोल्ने छन् । सम्मेलनको अन्तिम दिनमा साहसी पर्यटन र साहसी पर्यटकको यात्राका सम्बन्धमा प्यानेल छलफल आयोजना हुनेछन ।

सम्मेलनमा साहसी पर्यटन र पर्वतारोहणको बारेमा जानकारी दिन प्रदर्शनी कक्षहरु पनि राखिएका छन् । यी कक्षमा साहसी पर्यटनका बारेमा जानकारीका अतिरिक्त त्यसमा उपयोग हुने सामग्रीको पनि प्रदर्शन गरिएको छ ।

Share Now

Leave a comment.