Prakash Adhikari November 11, 2022

काठमाडौं, २५ कार्तिक । सबै तहका निर्वाचनमा चासोपूर्वक हेरिने काठमाडौं उपत्यका भित्रका तीनवटै जिल्लामा प्रतिनिधिसभा निर्वाचनमा विभिन्न दलकासहित उल्लेख्य सङ्ख्यामा स्वतन्त्र उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

उनीहरूले आफ्नो पक्षमा मत तान्नका लागि विभिन्न माध्यमबाट व्यापक प्रचारप्रसार गरिहरेका छन्।

निर्वाचन आयोगका अनुसार उपत्यकाका तीनवटा जिल्लामा साढे तीन सयभन्दा बढी उम्मेदवारले चुनावी प्रतिस्पर्धा गर्दैछन्।

यद्यपि प्रतिस्पर्धामा रहेकाहरूको अनुपात हेर्दा महिलाको सङ्ख्या तुलनात्मक रूपमा कम देखिएको आयोगको विवरणले देखाउँछ।

कुन जिल्लामा कति उम्मेदवार ?

निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार उपत्यकाभित्र काठमाडौं जिल्लामा सबैभन्दा धेरै उम्मेदवारले चुनावी प्रतिस्पर्धा गर्दैँछन्।

कुल १० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौंमा विभिन्न दल र स्वतन्त्रतर्फ गरी २ सय ५७ जना उम्मेदवार छन्। त्यसमध्ये ५४ जना मात्र महिला छन्।

त्यस्तै तीनवटा निर्वाचन क्षेत्र रहेको ललितपुरमा कुल ६३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेकोमा ९ जना महिला छन्।

भूगोलका हिसाबले पनि सानो जिल्ला भक्तपुरमा भने दुईवटा मात्र निर्वाचन क्षेत्र छन्।

त्यहाँ कुल ४० उम्मेदवार रहेकामा ७ जना महिला छन्।

निर्वाचन आयोगका अनुसार तुलनात्मक रूपमा अन्यत्रभन्दा काठमाडौंमा स्वतन्त्र उम्मेदवारको सङ्ख्या बढी देखिएको छ।

काठमाडौं जिल्लामा मात्र एक सय जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्।

पछिल्ला स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह विजयी भएपछि त्यसको प्रभावका रूपमा काठमाडौं स्वतन्त्र उम्मेदवार धेरै भएको हुनसक्ने कतिपयको बुझाइ छ।

यद्यपि पहिले दलगत राजनीतिमा सक्रिय रहेका केहीले पनि आफ्नो दलभित्र विवाद तथा विभाजन देखापरेपछि स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन्।

कतिपय क्षेत्रमा आफ्नो दलले टिकट नदिएपछि त्यसप्रति असन्तुष्टि व्यक्त गर्दै स्वतन्त्र रूपमा उम्मेदवार बन्ने पनि रहेका छन्।

काठमाडौंको प्रतिस्पर्धा

निर्वाचन आयोगका अनुसार काठमाडौं क्षेत्र नम्बर १ मा विभिन्न दलका तर्फबाट २१ जना र स्वतन्त्र ११ जना गरी कुल ३२ जनाले उम्मेदवारी दिएका छन्।

उक्त क्षेत्रमा सत्ताधारी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह उठेका छन् भने विपक्षी नेकपा एमालेका तर्फबाट किरण पौडेल उम्मेदवार छन्।

पटकपटक त्यस क्षेत्रबाट चुनाव जित्दै आएका सिंहलाई साझा पार्टीबाट राजनीति सुरु गरेका र हाल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा रहेका पूर्व पत्रकार रविन्द्र मिश्रले चुनौति दिँदैछन्।

काठमाण्डू क्षेत्र नम्बर ५ का एमाले उम्मेदवार इश्वर पोखरेल मतदातासँग मत माग्दै

काठमाडौं क्षेत्र नम्बर ५ का एमाले उम्मेदवार इश्वर पोखरेल मतदातासँग मत माग्दै

अघिल्लो संसदीय निर्वाचनमा पनि मिश्र सिंहका निकटतम प्रतिद्वन्द्वी हुनुहुन्थ्यो।

उक्त क्षेत्रबाट विकेशील नेपाली दलबाट राजनीति सुरु गरेका पुकार बमले अर्का पूर्व सञ्चारकर्मी रवि लामिछानेको दल राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिनुभएको छ।

सोही क्षेत्रबाट एकजना चर्चित पूर्व प्रहरी अधिकारी रमेशप्रसाद खरेलले आफैँले खोलेको नेपाल सुशासन पार्टीबाट उम्मेदवारी दिनुभएको छ।

त्यसबाहेक स्थानीय तह निर्वाचनका बेलादेखि स्वतन्त्र उम्मेदवारीको अभियान चलाउँदै आएकाहरूले पनि उक्त क्षेत्रबाट चुनावी प्रतिस्पर्धा गर्दैछन्।

सायद २ जना मानिसहरू, बच्चा तथा उभिएका मानिसहरू को तस्बिर हुनसक्छ
काठमाडौं क्षेत्र नम्बर २ मा सत्ताधारी गठबन्धनले माओवादी नेतृ ओनसरी घर्तीलाई उम्मेदार बनाएको छ भने विपक्षी एमालेले मणिराम फुयाललाई उठाएको छ।

उक्त क्षेत्रमा विभिन्न राजनीतिक दलका २० र स्वतन्त्र १० गरी ३० जनाले प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्दैछन्।

त्यस क्षेत्रमा राप्रपाबाट कुन्ती पोखरेल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोविता गौतमले चुनावी प्रतिस्पर्धा गर्दैछन्।

काठमाडौं क्षेत्र नम्बर ३ मा सत्ताधारी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसबाट गोकर्णेश्वर नगरपालिकाका पूर्व मेयर सन्तोष चालिसे उठ्नुभएको छ।

त्यहाँ एमालेका कृष्णबहादुर राई प्रतिस्पर्धी छन् भने उक्त क्षेत्रमा विभिन्न राजनीतिक दलका १५ जना र स्वतन्त्र ८ जना उम्मेदवारहरू चुनावी मैदानमा रहेका छन्।

काठमाण्डू क्षेत्र नम्बर ५ का नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेल चुनावी कार्यक्रममा

काठमाडौं क्षेत्र नम्बर ५ का नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेल चुनावी कार्यक्रममा

काठमाडौं क्षेत्र नम्बर ४ मा सत्ताधारी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका महामन्त्री गगन थापा उठ्नुभएको छ।

उक्त क्षेत्रमा अघिल्लो चुनावमा पनि उनका प्रतिस्पर्धी रहेका नेकपा एमालेका नेता राजन भट्टराई चुनावी मैदानमा हुनुहुन्छ।

सोही क्षेत्रबाट राप्रपाले सशस्त्र प्रहरी बलका पूर्व प्रमुख ठाकुरमोहन श्रेष्ठलाई उठाएको छ।

काठमाडौं क्षेत्र नम्बर ४ मा विभिन्न राजनीतिक दलका तर्फबाट कुल १७ जना र स्वतन्त्र १४ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन्।

पन्ध्र जना दलीय र १४ जना स्वतन्त्र उम्मेदवार रहेको काठमाडौं क्षेत्र नम्बर ५ मा सत्ता गठबन्धनले नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेललाई उम्मेदवार बनाएको छ।

सायद ६ जना मानिसहरू, उभिएका मानिसहरू तथा घरबाहिर को तस्बिर हुनसक्छ

उहाँको एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलसँग प्रतिस्पर्धा हुँदैछ।

उक्त क्षेत्रबाटै २०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा विवेकशील पार्टीबाट उम्मेदवार बनेर चर्चा पाएकी रञ्जु दर्शनाले स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरिरहनुभएको छ।

काठमाडौं क्षेत्र नम्बर ६ मा १३ जना दलीय र ११ जना स्वतन्त्र उम्मेदवार छन्।

त्यस क्षेत्रमा सत्ताधारी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका भिमसेनदास प्रधान उठ्नुभएको छ भने एमालेले पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई उम्मेदवार बनाएको छ।

काठमाडौं क्षेत्र नम्बर ७ बाट दलीयभन्दा स्वतन्त्र उम्मेदवार बढी उठेका छन्।

उक्त क्षेत्रमा १३ जना दलीय उम्मेदवार रहेकामा १६ जना स्वतन्त्र उम्मेदवार रहेका छन्।

गठबन्धनकी उम्मेदवार मानुषी यमी भट्टराई मत माग्दै
गठबन्धनकी उम्मेदवार मानुषी यमी भट्टराई मत माग्दै

उक्त क्षेत्रबाट सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रको चुनाव चिह्नमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई पुत्री अस्मिता सिंह (मानुषी) यमी भट्टराई उम्मेदवार बन्नुभएको छ ।

उक्त क्षेत्रबाट सत्ता साझेदार रहेको तर चुनावको मुखमा प्रतिपक्षी नेकपा एमालेसँग तालमेल गर्न पुगेको जनता समाजवादी पार्टीका तर्फबाट राजेन्द्रप्रसाद श्रेष्ठ चुनावी मैदानमा हुनुहुन्छ भने एमालेले श्यामकुमार घिमिरेलाई उठाएको छ।

आफूले टिकट नपाएपछि एमालेसँग असन्तुष्ट बनेर उक्त दलका नेता रामवीर मानन्धरले पनि सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

काठमाडौं क्षेत्र नम्बर ८ मा १६ जना दलीय र तीन जना स्वतन्त्र उम्मेदवार उठेका छन् ।

उक्त क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठ चुनावी मैदानमा हुनुहुन्छ भने नेकपा एमालेका शिवसुन्दरराज वैद्य उठ्नुभएको छ।

सोही क्षेत्रबाट गत स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बनेर चर्चा पाएका सुमन सायमी हाम्रो नेपाली पार्टीका उम्मेदवार हुनुहुन्छ।

काठमाडौं क्षेत्र नम्बर ९ मा १२ जना दलीय र १० जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ।

एमालेका उम्मेदवार सर्वेन्द्र खनाल मत माग्दै
एमालेका उम्मेदवार सर्वेन्द्र खनाल मत माग्दै

उक्त क्षेत्रबाट सत्ता गठबन्धनले माओवादीको चुनाव चिह्नमा कल्पना धमलालाई उठाएको छ भने एमालेका नेता कृष्णगोपाल श्रेष्ठ पनि सोही क्षेत्रबाट प्रतिस्पर्धामा हुनुहुन्छ।

त्यस्तै विवेकशील अभियान नेपालबाट राजनीतिक गतिविधि सुरु गरेका तथा विवेकशील नेपाली दलका पूर्व प्रमुख एवम् विवेकशील साझा पार्टीका संयोजक रहिसकेका मिलन पाण्डे पनि चुनावी मैदानमा हुनुहुन्छ।

उहाँ साझा पार्टी नेपालबाट उम्मेदवार बन्नुभएको हो।

काठमाडौं क्षेत्र नम्बर १० मा सत्ता गठबन्धनका कांग्रेस र माओवादी दुवै दलका उम्मेदवार मैदानमा छन्।

कांग्रेसका राजेन्द्रकुमार केसी उम्मेदवार रहेको उक्त क्षेत्रमा एमालेका हिमेश केसी र माओवादीकी अञ्जना विशंखे मैदानमा हुनुहुन्छ।

Rajendra Kumar Kc(Rajan) (@rajendrakumarkc) / Twitter

ललितपुर र भक्तपुरका प्रतिस्पर्धा
ललितपुरको क्षेत्र नम्बर १ मा १३ जना दलीय र ७ जना स्वतन्त्र उम्मेदवारहरू चुनावी मैदानमा छन्।

उक्त क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उदयशम्शेर जबरा उम्मेदवार हुनुहुन्छ भने एमालेका तर्फबाट नवराज सिलवाल उठ्नुभएको छ।

ललितपुर क्षेत्र नम्बर २ बाट १४ दलीय र ८ स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन्।

उक्त क्षेत्रबाट सत्ता गठबन्धनले नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जनलाई उठाएको छ भने एमालेले प्रेमबहादुर महर्जनलाई उठाएको छ।

ललितपुर क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनबाट माओवादीकी पम्फा भुसाल मैदानमा हुनुहुन्छ भने एमालेले अमृत खड्कालाई उठाएको छ।

त्यसै क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की पनि चुनावी मैदानमा हुनुहुन्छ।

उहाँले लाभको पद लिएकाले उम्मेदवार बन्न नमिल्ने निर्वाचन आयोगले निर्णय गरेपछि सर्वोच्च अदालतले उहाँको उम्मेदवारी कायमै राख्न अन्तरिम आदेश दिएको छ।

भक्तपुर क्षेत्र नम्बर १ मा १० जना दलीय र चार जना स्वतन्त्र उम्मेदवार रहेका छन्।

परम्परागत रूपमा नेपाल मजदुर किसान पार्टीको प्रभाव क्षेत्रमा रहेको उक्त क्षेत्रमा त्यस दलबाट प्रेम सुवाल उम्मेदवार छन्।

सत्ता गठबन्धनले भने माओवादीका सुनिल गोठेलाई उठाएको छ भने एमालेले नवराज गेलाललाई आफ्नो उम्मेदवार बनाएको छ।

भक्तपुर क्षेत्र नम्बर २ मा चाहिँ १५ जना राजनीतिक दलका तर्फबाट र ११ जना स्वतन्त्र उम्मेदवार उठेका छन्।

त्यहाँ एमालेका नेता महेश बस्नेत चुनावी मैदानमा हुनुहुन्छ भने सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका दुर्लभ थापामा उठ्नु भएको छ ।

काठमाडौंको परिणाम अनुमान गर्न सकिँदैन

कतिपयले काठमाडौंको चुनावी नतिजाले देशको चित्र दिने दाबी गर्ने गर्छन्।

तर त्यो सत्य नभएको विश्लेषण छ, एकजना राजनीतिशास्त्री कृष्ण हाछेथुको।

उहाँ भन्नुहुन्छ, “यहाँको चुनावी नतिजा आकलन गर्न सकिँदैन। यो बसाइ सरेर आउनेहरूको सहर भएर पनि होला नतिजा के आउँछ भन्न सकिँदैन।”

उहाँले उपत्यकामा प्रायः दलीय उम्मेदवारहरूले नै जित्ने गरेको देखिएको बताउनुभयो।

उपत्यकाभित्र स्वतन्त्र उम्मेदवारहरूको सङ्ख्या धेरै देखिए पनि अहिले पनि दलीय उम्मेदवारहरूले नै चुनाव जित्नसक्ने उहाँको आकलन छ।

उहाँ राजनीतिक दल तथा तिनका नेताप्रति उच्च वितृष्णाु देखिए पनि स्वतन्त्रबारे समेत कुराहरू बढाइचढाइ भइरहेको ठान्नुहुन्छ।

यद्यपि अर्की राजनीतिशास्त्रकी प्राध्यापक मीना वैद्य मल्ल चाहिँ स्वतन्त्र उम्मेदवारको चर्चा धेरैतिर हुनुलाई ‘परिवर्तनको मोड’को रूपमा हेर्नुहुन्छ ।

उहाँ स्वतन्त्र उम्मेदवार बढ्नुलाई ‘दलको विकल्प छ’ भन्ने सन्देश पनि दिएको रूपमा लिनुपर्ने बताउनुहुन्छ।(स्रोतः बीबीसी)

Share Now

Leave a comment.