Prakash Adhikari November 12, 2022

 

 

काठमाडौं, २६ कार्तिक । प्रतिनिधिसभा निर्वाचनमा १८ जना उम्मेदवार रहेको झापा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच उच्च प्रतिस्पर्धा रहेको मतदाताहरू बताउँछन्।

फरक राजनीतिक कित्ताबाट राष्ट्रिय राजनीतिमा स्थापित दुवै नेताका लागि यो निर्वाचन क्षेत्रबाट जित निकाल्न सहज नभएको सबेरैबाट सुरु भएर अबेरसम्म चल्ने उनीहरूका चुनावी गतिविधिले देखाउँछन्।

एक जना गणतन्त्रवादी र अर्को राजावादी भनेर चिनिएका दुवै उम्मेदवारको चुनावी भविष्य चाहिँ उनीहरूले चुनावी गठबन्धन गरेका अन्य दलबाट पाउने सहयोगमा निर्भर देखिन्छ।

गणतन्त्र सहितका परिवर्तनको सूत्रधार भएको दाबी गर्ने सिटौलाले राजतन्त्र सहितको पुरानो व्यवस्थाको वकालत गर्ने उम्मेदवारबाट यो क्षेत्रको समृद्धि सम्भव नहुने भन्दै यहाँका मतदाताहरूलाई आफ्नो पक्षमा ल्याउन प्रयास गरिरहेका छन्।

लिङ्देनले चाहिँ स्थानीयका समस्या र विकासमा आफू सिटौला भन्दा बढी सक्रिय रहेको दाबी गर्दै चुनावी घरदैलोमा भ्रस्टाचार नगर्ने कसम खाइरहनुभएको छ।

सिटौलाको मुद्दा संविधान
भद्रपुरमा मतदाताहरूसँगको भेटघाटमा भेटिनुभएका सिटौलाले आफूले विकास सँगसँगै संविधान कार्यान्वयनको विषय पनि चुनावी मुद्दाको रूपमा उठाएको बताउनुभयो।

“यो संविधानको मौलिक पक्षको रक्षा गर्नुपर्छ यसबाट जनतालाई जे अधिकार प्राप्त छ त्यो सुदृढ हुनुपर्छ र त्यसको वास्तविक कार्यान्वयन हुनुपर्छ,” सिटौलाले भन्नुभयो,“दोस्रो, संविधानको परिकल्पना र जनताको चाहना बमोजिम विकासका आयोजनाहरू आउनुपर्दछ र तेस्रो जनताका समस्या समाधानमा निर्वाचित सांसदले काम गर्नुपर्छ।”

माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन सक्रिय भूमिका खेलेका सिटौला देशमा गणतन्त्र ल्याउन आफ्नो उल्लेख्य भूमिका रहेको दाबी गर्छन्।

“मेरो प्रतिस्पर्धा मौलिक रूपबाट राजावादी पार्टी राप्रपासँग छ। जनताले आफूले पाएको अधिकार अब छाड्न चाहँदैनन् त्यसकारण मलाई मतदान गर्नुहुन्छ भन्ने मलाई विश्वास छ,” सिटौलाले भने।

झापा सदरमुकाम सहित जिल्लाको दक्षिणी क्षेत्र समेट्ने यो क्षेत्रबाट यसअघि निर्वाचित सांसद लिङ्देनले विकासका कामहरू अघि नबढाएको सिटौलाले आरोप छ।

तर यसको खण्डन गर्दै सिटौलाका प्रतिस्पर्धी लिङ्देन आफूले यो क्षेत्रमा अभूतपूर्व विकास गरेको दाबी गर्छन्।

कृष्ण सिटौला

कृष्ण सिटौला
लिङ्देनको मुद्दा विकास
राजतन्त्र र सङ्घीयता खारेजीको वकालत गर्ने राप्रपाका अध्यक्ष लिङ्देन भने आफ्नो चुनावी अभियानमा यी दुवै एजेन्डाबारे खुलेर बोलिरहेका भेटिँदैनन्। लिङ्देनले नेतृत्व गरेको राप्रपा नेपालमा राजतन्त्र र हिन्दू राष्ट्रको पुनर्स्थापनाको वकालत गरिरहेको एक मात्र संसदीय शक्ति हो।

कांग्रेसले गत वैशाखकै स्थानीय निर्वाचनमा झापाकै दमक नगरपालिकामा राप्रपा उम्मेदवारलाई मत दिएको उदाहरण दिँदै राप्रपा उम्मेदवार लिङ्देन सैद्धान्तिक मत विभाजन हुने दाबी अस्वीकार गर्नुहुन्छ।

चुनावी अभियानकै क्रममा पृथ्वी नगरमा भेटिनुभएका लिङ्देनले विकास र सुशासनको मुद्दा लिएर आफू चुनावी अभियानमा सक्रिय रहेको बताउनुभयो।

“अहिले हामीले विकास र सुशासनको मुद्दालाई नै प्रमुखताका साथ उठाइरहेका छौँ। मेची र बिरिङ नदीले घेरिएको यो क्षेत्र पाँच वर्ष अगाडि विकासको दृष्टिले झापाको कर्णालीको रूपमा चिनिन्थ्यो,” उहाँले भन्नुभयो।

“गएको पाँच वर्षमा नदी नियन्त्रणका र अन्य पूर्वाधारका प्रशस्त काम भएका छन् तर पनि अरू गर्नुपर्ने थुप्रै काम छन्। तिनलाई हामीले उठाइरहेका छौँ।”

आफू निर्वाचित भएयता यो क्षेत्रमा राप्रपाको लोकप्रियता बढेको र चुनावी तालमेल गरेको एमाले बाहेक अन्य दलका समर्थकहरूले पनि आफूलाई मत दिने लिङ्देनको दाबी छ।

राप्रपाले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले बढाएको मतलाई लिङ्देनको जितको आधारको रूपमा पेस गर्ने गरेको छ।

राजेन्द्र लिङ्देन

राजेन्द्र लिङ्देन

फेरिएको गठबन्धन
अघिल्लो निर्वाचनमा लिङ्देनसँगै पराजित भएका सिटौलालाई यो पटक गठबन्धनको साथ छ।

“अहिले हाम्रो गठबन्धनमा माओवादी र एकीकृत समाजवादी पनि छ। त्यसकारण पनि हामी बलियो छौँ भन्ने मलाई लाग्छ,” सिटौलाले भन्नुभयो।

तर यसअघि एमाले र माओवादी दुवैको साथ पाएका लिङ्देनलाई यो पटक माओवादीको साथ छैन। यद्यपि एमाले एक्लैको साथ आफूलाई चुनाव जित्न पर्याप्त रहेको लिङ्देन दाबी गर्छन्।

राप्रपालाई प्रतिनिधिसभाको सिट छोडिदिएकोमा असन्तुष्टि जनाउँदै एमालेका डम्बरबहादुर गिरीले यहाँ स्वतन्त्र उम्मेदवारी दिएका छन्। एमाले नेता कार्यकर्तामा देखिएको असन्तुष्टि सम्बोधनका लागि एमालेलाई प्रदेशसभाका दुई वटै क्षेत्र राप्रपाले छोडिदिएको छ।

तर पनि बागी उम्मेदवारले राम्रो मत पाउने सम्भावना रहेको स्थानीय एमाले नेता र कार्यकर्ताहरू बताउँछन्।

लिङ्देन भने आफूले सबै दलबाट लोकप्रिय मत पाउनेमा ढुक्क देखिनुहुन्छ।

“राप्रपा र एमालेको मात्रै होइन कांग्रेसमाओवादीमा रहेका र अन्य पार्टीमा रहेका साथै २०औँ हजारमा थपिएका नयाँ मतदाताको पनि साथ र सहयोग मलाई रहन्छ,” लिङ्देन भन्नुहुन्छ।

कांग्रेसले भने प्रदेशसभाको एउटा क्षेत्र माओवादीलाई छोडेर अर्कोमा आफ्नै उम्मेदवार उठाएको छ।

माओवादीबाट प्रदेशसभा २ मा उम्मेदवारी दिएका पूर्णप्रसाद राजवंशी त्यही व्यक्ति हुनुहुन्छ, जसलले सिटौलालाई विसं २०६४को संविधानसभा निर्वाचनमा पराजित गर्नुभएको थियो।

मतदाताको मनस्थिति
मतदाता
चुनाव आउन एक साता बाँकी रहँदा यो क्षेत्रका मतदाताहरू पनि आफूले मत दिने उम्मेदवारको पक्षमा खुल्न थालिसकेका छन्।

झापा चोकको एक पसलमा भेटिएका विनोद जोतासी जोशीले गणतन्त्रको पक्षधरलाई मत दिने बताए।

“सङ्घीय लोकतान्त्रिक गणतन्त्रको लहर चलेको बेलामा राजतन्त्रवादीहरूलाई भोट हाल्नु भनेको शहीदहरूको अपमान हो। म चाहिँ के भन्छु त भन्दाखेरि व्यक्ति भन्दा पनि गणतन्त्रवादीहरूले नै जितोस्,” जोशीले भन्नुभयो।

स्थानीय एमाले नेता समेत रहेका कहरसिंह राजवंशी भने लिङ्देनको कामबाट प्रभावित हुनुहुन्छ।

“केचनाको मान्छे झापा चोक आउँदा घर फर्केर जाँदा श्रीमतीले चिन्न सक्दैनथ्यो,” उहाँले भन्नुभयो।

“यो नदी कटान भइरहेको थियो नदी बाँध्ने काम चाहिँ उहाँले गर्नु भएको छ। एमालेको पनि सहकार्य छ।”

सगरमाथा टोलकी हर्कमाया आलेमगरलाई चाहिँ खेतीको बेला मल र पानी अनि गाउँलाई खानेपानी र बाटोको प्रतिबद्धता जनाउने नेता चाहिएको छ।

“हामीलाई विकास गर्ने राम्रो मान्छे चाहिएको छ। पानीको व्यवस्था छैन। बाटो छैन किसानहरूलाई मल बिउ छैन। खेतीपाती गर्नेलाई बोरिङ छैन। खानेपानी पनि हाम्रो ठाउँमा छैनन्,” उनले भनिन्।

“अलि अलि त ल्याइरछन् तर अझै धेरै गर्ने चाहियो नि त।”

Share Now

Leave a comment.