Prakash Adhikari November 16, 2022

 

कीर्तिपुर(काठमाडौं),३० कार्तिक । नेपाल र यूएईबीच आज दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेट खेल हुँदै छ ।

नेपालको अन्तर्राष्ट्रिय खेलमा अगाडि बढ्ने बाटोमा विगत तीन बर्षदेखि युएई तगारोको रुपमा प्रस्तुत हुँदै आएको छ । नेपाल यसपटक त्यो अवरोध हटाउने योजनामा छ ।

सन् २०१९ जनवरी र फेब्रुअरीमा यूएई भ्रमणमै नेपालले पछिल्लो पटक यूएईलाई टी २० आई र ओडीआई दुवैमा पराजित गरेको थियो ।

त्यसयता नेपालले यूएईलाई दुवै फर्म्याटमा पराजित गर्न सकेको छैन । ओडीआईमा नेपाल यूएईसँग निरन्तर पराजित भइरहेको छ भने नेपालको टी २० विश्वकप खेल्ने सपना पनि यूएईले नै खोसेको थियो ।

यूएई नेपालको लागि परिचित प्रतिद्वन्द्वी नै हो । नेपालले पनि यूएईलाई धेरै पटक हराइसकेको छ । तर, सन् २०१८ मा ओडीआई मान्यता पाएपछि भने नेपालका लागि यूएई बलियो चुनौती बन्दै आएको छ ।

पछिल्लो पटक यूएईमै नेपालले ओडीआईमा यवूएईलाई पराजित गर्दा पूर्व कप्तान पारस खड्काले शतक प्रहार गरेका थिए ।
नेपालका लागि ओडीआईमा शतक प्रहार गर्ने पहिलो खेलाडी बन्दै कीर्तिमान बनाएका पारसको १ सय १५ रन मद्दतमा नेपालले यूएईले दिएको २ सय ५५ रनको लक्ष्य ३२ बल अगावै ६ विकेट गुमाएर पूरा गरेको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेटबाटै सन्यास लिइसकेका उनै पारस सोमबार यूएई विरुद्धको पहिलो ओडीआई खेल हेर्न कीर्तिपुरस्थित टीयू मैदानमा उपस्थित थिए । तर नेपालको हारले उनी निराश हुँदै फर्किएका थिए ।

त्यसबेला ओडीआई र टी २० आई दुवैमा पहिलो खेल हारे पनि नेपालले पुनरागमन गर्दै दुवै शृंखला २ १ ले जितेको थियो । नेपालले २०१९ फेब्रुअरी ३ मा भएको टी २० आईमा यूएईलाई १४ रनले पराजित गरेको थियो ।

ओडीआईमा २०१९ पछि नेपाल यूएईसँग तीन खेलमा पराजित भइसकेको छ । क्रिकेट विश्वकप लिग टु अन्तर्गत गत मार्चमा यूएईमै भएको दुवै खेलमा नेपाल पराजित भएको थियो ।

यस्तै दुई दिनअघि घरेलु मैदानमा पराजित भएपछि ओडीआईमा नेपालले यूएईसँग लगातार तेस्रो हार बेहोरेको हो । अर्को खेल आज हुँदैछ । यो खेलमा नेपालले जितको प्रतीक्षा गरिरहेको छ ।

नेपाल र यूएईबीच ओडीआईमा अहिलेसम्म ७ खेल हुँदा यूएईले ५ खेल जित्दा नेपालले जम्मा २ खेल मात्र जितेको छ । त्यो २०१९ को यूएई भ्रमणमै थियो ।

यस्तै टी २० मा नेपालले २०२२ फेब्रुअरीमा यूएईविरुद्ध खेलेका दुवै खेलमा पराजय बेहोरेको थियो । ओमानमा भएको चारदेशिय टी २० शृंखलामा नेपाल यूएईसँग २५ रनले पराजित भएको थियो ।

यस्तै फेब्रुअरीमै ओमानमा भएको आईसीसी टी-२० विश्वकप छनोटको सेमिफाइनलमा नेपाल यूएईसँग ६८ रनले पराजित भएको थियो । त्यही हारपछि नेपालको ८ वर्षपछि टी२० विश्वकप खेल्ने सपनामा तुषारापात भएको थियो । नेपाललाई हराउँदै टी २० विश्वकपमा छनोट भएको यूएई टिम भने भर्खरै अष्ट्रेलियामा टी २० विश्वकप खेलेर नेपाल आएको हो ।

नामिबियामा डिसेम्बर पहिलो साता हुने आईसीसी क्रिकेट विश्वकप लिग टु शृखंलालाई मध्यनजर गर्दै नेपालले यूएईलाई शृंखला खेल्न बोलाएको हो ।
टिममा १६ खेलाडी राखेको नेपालले तीन खेलमा सबैलाई खेल्ने अवसर दिने योजनासहित यूएईविरुद्ध परीक्षण गरिरहेको छ ।

पहिलो खेलमा रोहितले ओडीआईमा कप्तानी डेब्यु गर्दा हरिशंकर शाह र अर्जुन साउँदले ओडीआईमा डेब्यु गरे ।

पहिलो खेलमा अर्जुनसँगै दीपेन्द्र सिंह ऐरीले अर्धशतक बनाउनु बाहेक नेपालको सम्झनलायक प्रदर्शन रहे । पहिलो खेलमा कुशल भुर्तेलाई सातौं नम्बरमा ब्याटिङमा पठाएको नेपालको ब्याटिङ अर्डर नै अनौठो थियो ।

खेलपछि कप्तान रोहितले तीन खेलमा सबैलाई अवसर दिने र नामिबियाका लागि राम्रो कम्बिनेस छनोट गर्ने प्रतिक्रिया दिएका थिए । त्यसैले पहिलो खेलमा बेन्चमा बसेका आरिफ शेख, आदिल आलम, कमल सिंह ऐरी, सागर ढकाल र भीम सार्की मध्ये केहीले दोस्रो खेलमा अवसर पाउने सम्भावना छ ।

यूएईलाई पहिलो खेलमा जित दिलाउन १७ वर्षीय स्पीनर आयन अफ्जल खानले ओडीआई डेब्युमै ४ विकेट लिएका थिए । यस्तै ब्याटिङमा रोहन मुस्ताफाले अर्धशतक प्रहार गरेका थिए ।

 नेपाल – यूएई खेल

एसिया कप छनोट २०१८ अगस्टः यूएई ७८ रनले विजयी

नेपाल टुर टु यूएई २०१९ जनवरीः यूएई ३ विकेटले विजयी

नेपाल टुर टु यूएई २०१९ जनवरीः नेपाल १४५ रनले विजयी

नेपाल टुर टु यूएई २०१९ जनवरीः नेपाल ४ विकेटले विजयी

क्रिकेट विश्वकप लिग टु २०२२ मार्चः यूएई ४८ रनले विजयी

क्रिकेट विश्वकप लिग टु २०२२ मार्चः यूएई ९९ रनले विजयी

यूएई टुर टु नेपाल २०२२ नोभेम्बरः यूूएई ८४ रनले विजयी

Share Now

Leave a comment.