Prakash Adhikari November 17, 2022

सुल्लेखान(बैतडी), ३० कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान र सङ्घीयताको रक्षाका लागि गठबन्धन गरेर निर्वाचनमा होमिएको बताउनुभएको छ ।

बुधबार बैतडीको तल्लोस्वराड क्षेत्रको सुल्लेखानमा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले स्वारडवासीलाई पञ्चेश्वर परियोजना अगाडि बढ्ने आश्वासनसमेत दिनुभयो ।

उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि पञ्चेश्वर परियोजना अगाडि बढाउने कुरामा सकारात्मक रहेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, “पानी र बिजुली बेचेर नेपाल धनी बन्न सक्छ । पश्चिम सेती परियोजनाको सम्झौता भएर काम अघि बढिसकेको छ । पञ्चेश्वर परियोजना अघि बढे बैतडीको तल्लोस्वराड क्षेत्रको मात्रै नभएर समग्र दशेको विकास हुन्छ ।”

जनमत सङ्ग्रहका बेला बैतडीको तल्लोस्वराड क्षेत्रका प्रत्येक बस्तीमा बास बसेको स्मरण गर्नुहुँदै उहाँले तल्लोस्वराड क्षेत्र द्वारारिकादेवी ठकुरानीको कर्मथलोसमेत भएको बताउनुभयो । प्रधानमन्त्री देउवाले आफू छिमेकी जिल्ला डडेल्धुराको बासिन्दा भएकाले बैतडीको तल्लोस्वडा क्षेत्रको समस्याका बारेमा राम्ररी जानकार रहेको बताउनुभयो । ठकुरानी २०१५ सालको निर्वाचित पहिलो सांसद हुनुहुन्थ्यो ।

बैतडीको स्वराड क्षेत्रको विकासका लागि आफूले उग्रतारा–मेलौली सडक निर्माण गरेर कालोपत्रेको काम अघि बढाएको उहाँले बताउनुभयो । प्रधानमन्त्री देउवाले गठबन्धनको सरकार बनेपछि पाटन–पञ्चेश्वर सडक कालोपत्रे भइरहेको बताउनु हुँदै पञ्चेश्वर परियोजना, महाकाली नदीमा झोलुङ्गे पुल, झुलाघाटमा मोटरेवल पुल र डडेल्धुरा–बैतडीको सुर्नया नदीमा पक्की गठबन्धनको सरकारले बनाउने पनि दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, “द्वारिकादेवी ठकुरानीको ठाउँमा पुनः फर्केर आउँदा खुसी लागेको छ । गठबन्धनका उम्मेदवारलाई जिताउनुहोस्, द्वारिकादेवीपछि स्वराड क्षेत्रबाट शिवराज भट्टलाई मन्त्री बनाउँछौं ।” नेपाली कांग्रेसका नेता शिवराज भट्ट प्रदेश सभा (ख) बाट गठबन्धनका साझा उम्मेदवार हुनुहुन्छ ।

कार्यक्रममा बोल्नुहुँदै नेकपा (माओवादी केन्द्र) का सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्टले माओवादीले गरेको सङ्घर्षका कारण सङ्घीयता आएपछि गाउँमा विकासको अनुभूति हुन थालेको बताउनुभयो ।

नेता भट्टले बैतडी सदरमुकाम पुग्न दुई दिन पैदल हिँड्ने स्वराडका जनता अहिले मोटर चढेर आवत जातव गर्न थालेको देख्दा सङ्घीयता सफल हुँदै गएको बताउनुभयो । उहाँले संविधान र सङ्घीयताको रक्षा गरेर विकासका अधूरा काम पूरा गर्न गठबन्धन आवश्यक भएकाले विकास र समृद्धिका लागि गठबन्धनलाई मतदान गर्न अपिल गर्नुभयो ।

संविधान जोगाउन गठबन्धन

प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन अहिलेको आवश्यकता भएको बताउनु भएको छ। गृह जिल्ला डडेलधुराको भागेश्वरा गाउँपालिका(४ बोगटामा आयोजित चुनावी सभालाई बुधबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले संविधान मिचिने खतरा बढेकाले गठबन्धन गरिएको बताउनुभएको हो।

संविधानको रक्षासँगै देशलाई समृद्ध बनाउन गठबन्धन अझै लामो समयसम्म गर्नुपर्ने आवश्यक रहेको उहाँको भनाइ छ। गठबन्धन जोगाउन मङ्सिर ४ गतेको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन उहाँले मतदातासँग अपिल गर्नुभयो।

उहाँले भन्नुभयो, ‘‘तपाईंहरुलाई थाहा छ। केपी ओलीले संविधान मिच्न खोज्नुभयो। त्यो पनि दुईरदुई पटक। उहाँहरुले गठबन्धनको सरकार बनाएपछि राजनीतिक स्थिरता होला, देशमा विकास होला, देश समृद्ध हुन्छ भन्ने तपाईं हामी सबैलाई लागेको थियो। तर, उहाँले उल्टो गर्नुभयो। दुःख गरेर बनाएको नयाँ संविधानविपरीत प्रतिनिधिसभा विघटन गरेर देशमा फेरि राजनीतिक अस्थिरता ल्याउन खोजियो। त्यसकारण हामीले गठबन्धन गरेका हौँ। संविधान मिच्नबाट जोगायौं। विकास निर्माणका धेरै काम अघि बढेका छन्। अझै गठबन्धनलाई लामो समयसम्म कायमै राखेर हामी देशमा विकास गर्न चाहन्छौं।’’

चुनावी प्रचारप्रसारका लागि प्रधानमन्त्री देउवा बुधबार दोस्रो पटक गृहजिल्ला डडेलधुरा पुगेर चुनावी सभालाई सम्बोधन गर्नुभएको हो। उहाँले भागेश्वर गाउँपालिका विकट रहेको र प्रायः सबै गाउँमा सडक पुगेको उल्लेख गर्नुहुँदै अब सडक कालोपत्र गरिने बताउनुभयो। सदरमुकाम बागबजारदेखि बगरकोट–शीर्ष–रुपालसम्मको सडक कालोपत्र गर्ने काम भइरहेको उहाँको भनाइ छ। उहाँले भन्नुभयो, ‘‘अब चाँडै बगरकोट–बोकटा–गर्खा–लामीकाँडे सडक कालोपत्र गर्नेछौँ।’’

खेतबारीमा सिँचाइको समस्या रहेको भन्दै उहाँले सिँचाइको व्यवस्था गर्ने र यहाँका गाउँबस्तीमा भएको खानेपानीको समस्या समाधान गर्ने बताउनुभयो। ‘‘बोगटा गाउँमा एकघर एकधारा खानेपानी योजना सम्पन्न भएर खानेपानीको समस्या हटेको छ’’, उहाँले भन्नुभयो, ‘‘यसैगरी भागेश्वरका सबै गाउँलाई खानेपानीको समस्याबाट मुक्त बनाउँछु।’’

प्रधामन्त्री देउवाले बुधबार बोगटासँगै अमजयमेरु गउँपालिका–५ को देवल र गन्यापधुरा गाउँपालिका–३ को सकायलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुभएको छ।

Share Now

Leave a comment.