मार्तडी(बाजुरा), १५मङसिर । बाजुरामा आजदेखि मतगणना सुरु भएको छ ।
जिल्ला प्रशासन कार्यालय बाजुरामा बसेको सर्वदलीय बैठकले आज दिउँसो ३ः३० देखि मतगणना सुरु गर्ने निर्णय गरे पनि ढिलोगरी ५ ः४० बजेदेखि गणनाको काम सुरुभएको छ ।
बाजुराका प्रहरी नायव उपरीक्षक (डिएसपी) सूर्य थापाका अनुसार सर्वदलीय बैठकको सहमतिअनुसार साँझदेखि मतगणनाको काम सुरु भएको हो । उहाँका अनुसार हिमाली गाउँपालिकाबाट गणनाको काम सुरु गरिएको छ ।
उहाँले मत गणनाको काम जिल्ला प्रशासन कार्यालय बाजुराको नवनिर्मित भवनमा भइरहेको बताउनुभयो ।
मङ्सिर १४ गते निर्वाचन आयोगले बाजुरा र स्याङ्जा जिल्लामा मतगणना गर्ने निर्णय गरेसँगै बाजुरामा पनि आजदेखि गणनाको काम सुरु भएको छ ।
यसअघि नेकपा (एमाले) ले विभिन्न माग सम्बोधन हुनुपर्ने माग राख्दैआएको थियो ।
मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलका अनुसार नेपाली काङ्ग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी पार्टीलगायतका राजनीतिक दलहरूको सहमतिमा मतगणना सुरु गरिएको छ ।


















