काठमाडौं, १५ मंसिर । सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की विजयी हुनुभएको छ । सञ्चारमन्त्रीसमेत रहेका कार्कीले एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतलाई १ सय १२ मतले पराजित गर्दै प्रतिनिधि सभाको यात्रा तय गर्नुभएको हो ।
सञ्चारमन्त्री कार्कीले ३० हजार ४ सय ८३ मत ल्याउनुभयो भने एमाले उम्मेदवार कुसियैतले भने ३० हजार ३ सय ७१ मत ।
स्याङ्जा- २ मा गुरुङको अग्रता
स्याङ्जा निर्वाचन क्षेत्र २ मतगणना जारी छ । विवादका कारण मत गणना सुरु हुन ढिला भएपछि धेरैको चासो थियो । बुधवार रातिबाट सुरु भएको मतगणना बिहीबार साँझसम्म गल्याङ नगरपालिकाको वडा ६ र ७, भीरकोट नगरपालिकाको वडा ५, ६, ७, ८ र ९ तथा वालिङ नगरपालिकाको वडा १, २, ५, ६ र ७ को मत गणना सकिएको छ ।
बिहीबार साँझसम्म नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता लिनुभएको छ । उहाँले नेकपा (एमाले)की पद्माकुमारी अर्याललाई २ हजार ९ मतले पछि पार्नुभएको छ ।
कांग्रेसका गुरुङले ७ हजार ४ सय ७८ मत पाउनु भएको छ भने एमालेकी अर्यालले ५ हजार ४ सय ६९ मत रहेको छ ।
स्याङ्जा २ मा स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले २ हजार १ सय ५३ मत प्राप्त गर्नुभएको छ ।
स्याङ्जा २ मा १ लाख १६ हजार ७ सय ७८ मतदातामध्ये ७० हजार १ सय ९१ मत खसेको थियो ।
यसैबीच, प्रदेश सभा (क) तर्फ पनि कांग्रेसका भोजराज अर्यालले अग्रता लिइरहनु भएको छ । अर्यालले एमालेका मोहनप्रसाद रेग्मीलाई २ हजार ८२ मतले पछि पार्नुभएको छ ।
अर्यालले ८ हजार २ सय ५१ मत ल्याउँदा रेग्मीले ६ हजार १ सय ७० मत ल्याउनुभएको छ ।


















