भद्रकाली(काठमाडौं), ९ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको मुख्यालय पुगेर सेनाको गतिविधिसम्बन्धी जानकारी लिएका छन् ।
उनले सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा नेपाली सेनालाई साधनस्रोत सम्पन्न बनाई सुदृढ एवं थप क्षमतावान् बनाउन सरकारले पूर्ण सहयोग गर्ने बचन दिएका छन् ।
प्रधानमन्त्री ओलीले जंगी अड्डाको निरीक्षण भ्रमणका क्रममा नेपाली सेनाले विश्व शान्ति स्थापनामागरेको कार्यको प्रशंसा गर्दै स्थानीय, प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका समयमा सिर्जना भएको असहज परिस्थितिमा समेत सेनाले पु¥याएको योगदानले नेपाली सेना जनतामाझ सम्मानित भएको उल्लेख गरेका थिए ।
राज्यमा आइपर्न सक्ने जस्तोसुकै चुनौतीलाई पनि सामना गर्नसक्ने गरी नेपाली सेना तयार रहनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले नेपाली सेनाले आफ्नो मूल्यमान्यतामा कायम रही कर्तव्य पूरा गर्नेमा आफू विश्वस्त रहेको बताए।
उनले नेपाली सेनाले विकास निर्माण, विपद् व्यवस्थापन तथा प्रकृति संरक्षण जस्ता कार्यक्रमा पु¥याएको योगदानको पनि प्रशंसा गरे ।
सो अवसरमा रक्षामन्त्री ईश्वर पोखरेल, प्रधानसेनापति राजेन्द्र क्षत्री, बलाधिकृत रथी पूर्णचन्द्र थापाले मन्तव्य प्रकट गरेका थिए ।
कार्यक्रममा नेपाली सेनाका विभिन्न विभागका प्रमुखले वर्तमान वस्तुस्थितिको जानकारी गराउनुका साथै नेपाली सेनाको जिम्मेवारी, अपरेशन गतिविधि, आन्तरिक सुरक्षा, कल्याणकारी कार्य र नेपाली सेनाको संगठन तथा नीति नियमसम्बन्धी प्रस्तुतिकरण गरेका थिए ।
कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री युवराज खतिवडा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, रक्षामन्त्रालयका सचिव, प्रधानमन्त्री कार्यालयका पदाधिकारीलगायत नेपाली सेनाका रथीबृन्द तथा अधिकृतको उपस्थिति थियो ।


















