काठमाडौं, २० मंसिर । नेपालसहित विश्वभर बढिरहेको जनसंख्यालाई पर्याप्त स्वच्छ पानी, ऊर्जा र खाद्यान्न पुर्याउने काम चुनौतिपूर्ण रहेको कुरा काठमाडौंमा भेलाभएका विज्ञहरुले बताउनुभएको छ ।
काठमाडौंमा आजदेखि आरम्भ भएको दुईदिने पानी,ऊर्जा र खाद्यान्न अन्तरसम्बन्ध विषयक दुई दिने कार्यशालाका वक्ता तथा प्रस्तोता विज्ञहरुले सो कुरा बताउनुभएको हो ।
सो कार्यशालाको उद्घाटन गर्दै खानेपानी सचिव मणिराम गेलालले बढ्दो शहरीकरण र जनसंख्याको बृद्धिले संसारभर खानेपानी, ऊर्जा र खाद्यान्नको माग बढिरहेको बताउनुभयो । उहाँले स्वच्छ खानेपानीको स्रोतहरु सीमित भएकोले अभाव देखिएको र तिनको समयमा नै संरक्षण गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

कार्यक्रममा पूर्व मन्त्री गणेश साहले थोपा थोपा पानीको महत्व रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “अहिल्यै विश्वको जनसंख्या ८ अर्ब पुगिसकेको छ । सबैलाई सम्मानित जीवन बिताउनका लागि हामीले यथेष्ट पानी,ऊर्जा र खाद्यान्न पुर्याउनु पर्दछ ।”
उहाँले पानीको स्रोतहरुको संरक्षण गर्ने, आकाशे पानीको सदुपयोग गर्ने, नवीकरणीय ऊर्जाको उपयोग बढाउने, थोरै पानीको प्रयोग गरी बढी अन्न उब्जाउने प्रविधि विकास गरेर यो क्षेत्रमा देखिएका चुनौतीहरुको समाधान गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
कार्यशालाको उद्घाटन शत्रलाई सम्बोधन गर्दै पूर्वसचिव सुमनप्रसाद शर्माले विश्व जनसंख्यालाई भोकमरी मुक्त पार्न र पोषिलो खाना उपलब्ध गराउने कार्य चुनौतीपूर्ण रहेको बताउनुभयो । नेपालका बालबालिकामा पोषणको अभावले पुड्कोपन देखापरेको उल्लेख गर्दै उहाँले सन २०५० मा विश्व जनसंख्या ९ अर्ब पुग्ने भएकोले तिनलाई स्वच्छ खानेपानी, पर्याप्त स्वच्छ ऊर्जा र पोषणयुक्त खाद्यान्न पुर्याउन सरकारहरु गम्भीर हुनुपर्ने बताउनुभयो ।

कार्यक्रमका सभापति तथा स्मार्ट वास सोलुसन्सका अध्यक्ष ई. रामदीप साहले बढदो शहरी जनसंख्याका लागि स्वच्छ खानेपानी, स्वच्छ ऊर्जा र पर्याप्त पोषिलो खाद्यान्न कसरी पुर्याउन सकिन्छ भनेर विकसित देशको अनुभव लिन कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।
कार्यक्रमको व्यवसायिक शत्रमा एशियन वाटर काउन्सिल र के वाटरका जे.डब्ल्यू लि.ले कोरियाली युद्धपछिको ३० बर्षमा कोरिया कसरी विकसित देशमा पुग्यो र स्वच्छ पानी र ऊर्जाको आवश्यकतालाई सरकारी स्वामित्वमा रहेको कोरिया वाटर(के वाटर)ले कसरी समाधान गरिरहेको छ भन्ने विषयमा प्रस्तुति दिनुभएको थियो ।
अर्का विज्ञ डा. उनहर शिनले पानी,ऊर्जा र खाद्यान्नको अन्तरसम्बन्ध,शहरी खानेपानी व्यवस्थापन,खानेपानीको चुहावट नियन्त्रण,दीगो विकास अनुरुपको व्यवस्थापन शैलीको बारेमा प्रकाश पार्नुभएको थियो ।

ब्यवसायिक शत्रमा काठमाडौं विश्वविद्यालयका प्रा.डा. बिम श्रेष्ठले पानी ऊर्जा र खाद्यान्न अन्तरसम्बन्ध विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशक डा.मधुसुदन अधिकारीले नवीकरणीय ऊर्जा प्रविधिमार्फत नेपालमा खानेपानी,ऊर्जा र खाद्यान्न सुरक्षामा गरिएका योगदानबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।


















