Prakash Adhikari December 6, 2022

काठमाडौं, २० मंसिर । दोलखाको मत गणनापछि समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीले एक एक सिट गुमाएका छन् । त्यसको फाइदा नेपाली कांग्रेस र नेकपा एमालेलाई भएको छ । ती पार्टीले एक–एक सिट बढाएका छन् ।

समानुपातिक तर्फको हालसम्मको १ करोड ५ लाख ६० हजार ६७ मतगणना हुँदा एमालेले २८ लाख ४५ हजार ६ सय ४१ मत पाएको छ । जसअनुसार एमालेले समानुपातिकमा ३४ सिट पाउने पक्का भएको छ ।

त्यस्तै नेपाली कांग्रेसले समानुपातिकतर्फ २७ लाख १५ हजार २ सय २५ मत पाएको छ । यो मतका आधारमा कांग्रेसले ३३ सिट सुरक्षित गरेको छ ।

यस्तै समानुपातिकतर्फ ११ लाख ७५ हजार ६ सय ८४ मत पाएको माओवादी केन्द्रले १४ सिट, ११ लाख ३० हजार ३ सय ३४ मत पाएका राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट, ५ लाख ८८ हजार ८ सय ४९ मत पाएको राप्रपाले ७ सिट, ४ लाख २१ हजार ३ सय १३ मत पाएको जनता समाजवादी पार्टीले ५ सिट र ३ लाख ९४ हजार ६ सय ५५ मत पाएको जनमत पार्टीले ४ सिट पाउने भएको हो ।

दोलखाको मतगणना अघि रास्वपाले १४ र जनमत पार्टीले ५ सिट पाउने देखिएको थियो भने एमालेले ३३ र कांग्रेसले ३२ सिट पाउने देखिएको थियो ।

हाल बाजुरा जिल्लाको समानुपातिक तर्फको मतगणना कार्य भइरहेको छ । भोलिसम्म गणना सकिने भएपनि दलहरुले हालसम्मको अवस्थामा पाउने सिटमा तलमाथि नहुने बताइएको छ ।

Share Now

Leave a comment.