काठमाडौं, १८ असोज। जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता शरतसिंह भण्डारीले नेपाली जनतालाई कुनै पनि बहानामा ‘नियन्त्रित लोकतन्त्र’ स्वीकार्य नहुने बताउनुभएको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भण्डारीले मुलुक गम्भीर आर्थिक, सामाजिक तथा भू–राजनीतिक संक्रमणबाट गुज्रिरहेको बताउनुभयो। उहाँले वर्तमान चुनौती सामना गर्न प्रमुख राजनीतिक दलहरूबीच सहकार्य र राष्ट्रिय एकता आवश्यक रहेको बताउनुभयो।
भण्डारीले वर्तमान संविधानलाई आवश्यकता र समयअनुसार संशोधन तथा परिमार्जन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई अझ बलियो र प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभयो ।
‘वर्तमान संविधानलाई आवश्यकता र समयअनुसार संशोधन तथा परिमार्जन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई अझ बलियो र प्रभावकारी बनाउँदै मुलुकलाई पूर्ण समावेशिताको बाटोमा अघि बढाउने जसपा नेपालको अभियानमा नेपाली कांग्रेसको बलियो साथ र समर्थनको अपेक्षा गर्दछु,’ उहाँले भन्नुभयो।
उहाँले लोकतन्त्रलाई कुनै पनि रूपमा संकुचित गर्न नहुने बताउनुभयो। ‘नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन। नेपाली जनताले लोकतन्त्रको कुनै पनि संकुचन स्वीकार गर्ने छैनन्,’ भण्डारीले भन्नुभयो।








