Prakash Adhikari October 4, 2026

 

काठमाडौं, १८ असोज। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसददेखि राजनीतिक दलभित्रसम्म जनताका प्रश्न, असहमति र विचारका लागि खुला ठाउँ आवश्यक रहेको बताउनुभएको छ। संसद र पार्टीभित्र पर्याप्त खुलापन नभएकाले देशलाई खुलामञ्च आवश्यक रहेको उहाँले बताउनुभएको हो।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले १० वर्षपछि खुलामञ्च खुलेको उल्लेख गर्दै यो काठमाडौंको एउटा चौर मात्रै नभएको बताउनुभयो। नेपाली राजनीतिक आन्दोलनमा खुलामञ्चले महत्वपूर्ण भूमिका निर्वाह गरेको र यहीँबाट धेरै राजनीतिक दल तथा नेताले आफ्नो राजनीतिक यात्रा अघि बढाएको उहाँले स्मरण गर्नुभयो।

‘खुलामञ्च १० वर्षपछि खुलेको छ। यो काठमाडौंको चौर मात्रै होइन,’ थापाले भन्नुभयो, ‘यहाँ बसेर ठूला दल बनेका छन्, यहीँबाट साना पनि बनेका छन्।’

जननायक बीपी कोइराला, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाले समेत यही खुलामञ्चबाट भाषण गरेको स्मरण गर्दै थापाले खुलामञ्चले फरक विचार र मतभेदलाई एउटै ठाउँमा ल्याएर संवाद गर्ने अवसर दिएको बताउनुभयो।

‘खुलामञ्चले मतभेदलाई एकै ठाउँमा राख्न सहयोग गर्छ,’ उहाँले भन्नुभयो।

थापाले अब यस्ता खुलामञ्च देशका विभिन्न ठाउँमा आवश्यक रहेको बताउनुभयो। त्यसका लागि सबैभन्दा पहिले सिंहदरबार र संसदभित्रै खुलापन आवश्यक रहेको उहाँको भनाइ थियो।

‘संसद अहिले खुला छैन। प्रधानमन्त्रीले जनताको कुरा नसुनेसम्म संसद खुला रहँदैन,’ उहाँले भन्नुभयो ।

सत्तामा रहेकाहरूले जनताको प्रश्न सुन्नुपर्ने र जनतासँग संवाद गर्नुपर्ने भन्दै थापाले लोकतन्त्रमा जनताको आवाजलाई बन्द गर्न नहुने बताउनुभयो। संसद जनताको आवाज र प्रश्नको प्रतिनिधित्व गर्ने थलो भएकाले त्यसलाई थप खुला र उत्तरदायी बनाउनुपर्ने उहाँको भनाइ थियो।

थापाले पहाडदेखि तराईसम्म र भौतिक ठाउँदेखि विद्युतीय माध्यमसम्म खुला संवादका थलो आवश्यक रहेको बताउनुभयो। नागरिकले आफ्ना कुरा राख्न र नेतृत्वलाई प्रश्न गर्न पाउने वातावरण देशभर बनाउनुपर्ने उहाँको धारणा थियो।

पार्टीभित्र पनि यही संस्कार विकास गर्नुपर्नेमा जोड दिँदै थापाले नेतामाथि प्रश्न उठाउँदा पार्टी सदस्यता नै गुम्ने अवस्था अन्त्य गर्नुपर्ने बताउनुभयो।

‘पार्टीभित्र पनि खुलामञ्च चाहिएको छ। नेतालाई प्रश्न गर्दा सदस्यता नकाटियोस्,’ उहाँले भन्नुभयो।

उहाँले फरक मत राख्ने, नेतृत्वलाई प्रश्न गर्ने र आलोचना गर्ने अधिकारलाई पार्टीभित्रै संस्थागत गर्नुपर्ने बताउनुभयो। लोकतन्त्र बाहिर मात्रै खोजेर नहुने भन्दै थापाले राजनीतिक दलको आन्तरिक संरचना र कार्यशैली पनि लोकतान्त्रिक हुनुपर्ने धारणा राख्नुभयो।

‘संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ,’ थापाले भन्नुभयो।

१० वर्षपछि खुलामञ्चमा कांग्रेसको महाधिवेशन आयोजना हुनु पनि खुला संवाद र जनताबीचको सम्बन्धलाई पुनः स्थापित गर्ने प्रतीक भएको उहाँको भनाइ थियो। खुलामञ्चलाई राजनीतिक सभा गर्ने ठाउँका रूपमा मात्रै नभई प्रश्न, संवाद, असहमति र विचार आदानप्रदानको खुला थलोका रूपमा विकास गर्नुपर्ने थापाले बताउनुभयो।

जेनजी आन्दोलनको कारण

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा उही अनुहार दोहोरिरहने प्रवृत्तिले नेपालको राजनीति ‘म्युजिकल चियर’ जस्तो बनेको बताउनुभएको छ। यस्तो प्रवृत्तिले सबै राजनीतिक दल र नेता एउटै हुन्, सबै खराब छन् भन्ने सन्देश जनतामा गएको र त्यसकै परिणाम भदौ २३ र २४ गतेको आएको उहाँको भनाइ छ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्री बनेका व्यक्ति फेरि प्रधानमन्त्री बन्न खोज्ने, नेता बनेका व्यक्ति फेरि नेतृत्वमा दोहोरिरहने र मन्त्री बनेका व्यक्ति पनि पटकपटक सत्तामा जाने प्रवृत्तिले जनतामा राजनीतिप्रति वितृष्णा बढाएको बताउनुभयो ।

‘म्युजिकल चियरजस्तो बनेको थियो। प्रधानमन्त्री बनेका फेरि बन्न मन लाग्ने, नेता बनेका फेरि बनिरहने, मन्त्री पनि बनिरहने, सत्ता नछोड्ने,’ थापाले भन्नुभयो, ‘यसले सबै पार्टी र नेता सबै एउटै हुन्, सबै खराब हुन् भन्ने सन्देश गयो।’

राजनीति समाजका हरेक क्षेत्रमा हाबी भएको भन्दै थापाले सामाजिक सञ्जालदेखि सार्वजनिक जीवनसम्म अत्यधिक राजनीतिकरण भएको बताउनुभयो। फेसबुकदेखि ट्विटरलगायतका माध्यममा हरेक विषयलाई राजनीतिक दृष्टिले हेर्ने प्रवृत्ति बढेको उहाँको भनाइ थियो।

‘अति राजनीति पनि छ। फेसबुकदेखि ट्विटरदेखि सबै क्षेत्रमा राजनीति हुन्छ। फेरि जनता हाइपर पोलिटिक्सतिर गयो। जे भए पनि राजनीतिको आँखाले हेर्न थालियो,’ उहाँले भन्नुभयो।

राजनीतिक दल र नेतृत्वप्रतिको असन्तुष्टि विस्तारै बढ्दै गएर ‘भुसको आगो’ जस्तो बनेको थापाले बताउनुभयो। त्यसले कुनै एउटा दल वा नेतालाई मात्रै नभई समग्र राजनीतिक प्रणाली र नेतृत्वलाई नै प्रभावित गरेको उहाँको भनाइ थियो। ‘यो भुसको आगोले सबैलाई एकैपटक खायो,’ उहाँले भन्नुभयो।

थापाले दुई पार्टी मिलेर बनेको दुईतिहाइको सरकार र त्यसको कार्यशैलीबारे जनतासँग पर्याप्त संवाद हुन नसकेको बताउनुभयो। राजनीतिक दलहरूले बदलिँदो जनभावना र असन्तुष्टिलाई समयमै बुझ्न नसक्दा भदौ २३ र २४ गतेको परिस्थिति आएको उहाँको भनाइ थियो।

‘दुई पार्टी मिलेर बनेको थियो दुईतिहाइको सरकार। सबैले थाहै पाएनन्, जसका कारण भदौ २३ र २४ आयो,’ थापाले भन्नुभयो।

भदौ २३ र २४ को घटनाबाट कांग्रेससहित अन्य राजनीतिक दलका नेता तथा कार्यकर्ता समेत प्रभावित भएको उहाँले बताउनुभयो। त्यसबाट पाठ सिक्दै कांग्रेसले आफूलाई सम्हाल्न विशेष महाधिवेशनमा गएको उहाँले स्मरण गर्नुभयो।

‘यहीँ हामीले बुझेनौँ। यसले कांग्रेस र अन्य पार्टीका नेता र कार्यकर्ता पनि भिक्टिम भए। तर पनि हामी सम्हालिनुपर्छ भनेर विशेष महाधिवेशनमा गयौँ,’ उहाँले भन्नुभयो।

विशेष महाधिवेशनपछि कांग्रेस निर्वाचनमा गएको तर परिणाम आफ्नो पक्षमा आउन नसकेको उहाँले बताउनुभयो। कांग्रेसले यसअघि पनि विभिन्न निर्वाचनमा हार र जित व्यहोर्दै आएको उल्लेख गर्दै थापाले अहिले पार्टी नयाँ महाधिवेशनको चरणमा प्रवेश गरेको बताउनुभयो।

‘त्यसपछि चुनावमा गयौँ, तर हाम्रो पक्षमा आएन। कांग्रेसले धेरै चुनावमा हार्ने र जित्ने गरेको छ। अब नयाँ महाधिवेशनमा अहिले होमिएका छौँ,’ उहाँले भन्नुभयो।

थापाले १५औँ महाधिवेशनलाई विगतका कमजोरीको समीक्षा गर्दै कांग्रेसलाई नयाँ राजनीतिक यात्रामा अघि बढाउने अवसरका रूपमा लिनुपर्ने बताउनुभयो। जनतामा बढेको राजनीतिक वितृष्णा र दलहरूप्रतिको अविश्वास चिर्न कांग्रेसले आफ्नो नेतृत्व, व्यवहार र राजनीतिक कार्यशैलीमा परिवर्तन गर्नुपर्ने उहाँको भनाइ छ ।

देउवाको लागि कुर्सी खाली

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका लागि महाधिवेशनमा कुर्सी खाली राखिए पनि उहाँ सहभागी हुन नआएको बताउनुभयो।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले देउवालाई लिनका लागि पार्टीका नेताहरू कति पटक जाने र कसरी जाने भन्ने प्रश्नसमेत उठाउनुभयो।

‘पूर्वसभापति शेरबहादुर देउवाका लागि कुर्सी खाली राखेका थियौँ। तर आउनुभएन। कति पटक जाने हो, लिन कसरी जाने हो ?’ थापाले भन्नुभयो।

उहाँले कांग्रेसका केही साथीहरू पार्टीबाट बाहिरिएको उल्लेख गर्दै उनीहरूलाई कांग्रेस छाडेको हो कि होइन भन्ने विषयमा पनि अब स्पष्ट उत्तर दिनुपर्ने बताउनुभयो।

‘केही साथीहरू छोडेर जानुभएको छ। उहाँहरूलाई कांग्रेसले छाडेको हो। यो पनि हामीले भन्नुपर्ने छ। यसको उत्तर अब दिनुपर्छ,’ थापाले भन्नुभयो।

थापाले नयाँ नेतृत्वसँगै कांग्रेसले विगतका विषयमा स्पष्ट समीक्षा गर्दै अघि बढ्नुपर्ने संकेत गर्नुभयो। उहाँले पार्टीभित्र रहेका सबैलाई समेट्ने र बाहिरिएका नेताहरूका सम्बन्धमा पनि स्पष्ट धारणा बनाउनुपर्ने बताउनुभयो।

Share Now