Prakash Adhikari December 8, 2022

काठमाडौं, २२ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय बसुन्धारामा प्रतिनिधि सभातर्फ समानुपातिक सांसद चयनको विषयलाई लिएर नेता तथा कार्यकर्ताहरूले खबरदारी गरेका छन्।

रास्वपाले समानुपातिक उम्मेदवार छान्दा प्राइमरी इलेक्सन गरेको थियो। प्राइमरी इलेक्सनबाट धेरै मत ल्याएकाहरूलाई राखेर समानुपातिक उम्मेदवारको बन्दसूची बनाइएको थियो। तर अहिले समानुपातिकतर्फ सांसद चयन गर्दा प्राइमरी इलेक्सनविपरीत गर्न खोजेको भन्दै विरोध भइरहेको छ।

आज पार्टी कार्यालयमा खबरदारी गर्न पुगेका सुनसरी जिल्ला सभापतिसमेत रहेका सुनसरी २ मा रास्वपाबाट मंसिर ४ को चुनावमा प्रतिनिधि सभातर्फ प्रत्यक्ष उम्मेदवार भएका लालविक्रम थापाले प्राइमरी इलेक्सनअनुसार नै समानुपातिक सांसद चयन गरिनुपर्ने माग गर्दै खबरदारी गरिएको बताउनुभयो।

‘हामीले पार्टीमा डिजिटल डेमोक्रेसी सुरूवात गरेको हो। उम्मेदवार छान्दा प्राइमरी इलेक्सनबाट छानिएको हो,’ थापाले भन्नुभयो, ‘समानुपातिक सूची बुझाउँदा पनि प्राइमरी इलेक्सनमा आएको मतका आधारमा नामहरू समावेश गरिएको हो। तर अहिले सांसद छान्दा प्राइमरी इलेक्सनलाई वेवास्ता गर्न खोजिएकोले खबरदारी गर्नुपरेको हो।’

रास्वपाले प्रत्यक्षतर्फ ७ सिट जितेको छ भने समानुपातिकतर्फ १३ सिट जितेको छ। समानुपातिक १३ सिटमा सांसद पठाउँदा समावेशी सिद्धान्तअनुसार क्लस्टर मिलाएर पठाउनुपर्ने हुन्छ। रास्वपाले केन्द्रीय समिति बैठक गरेर समानुपातिक सांसद चयन गर्ने बताइरहेको छ।

केन्द्रीय समिति बैठक बस्नुअघि नै प्राइमरी इलेक्सनअनुसार समानुपातिक सांसद पठाउनुपर्छ भनेर आफूहरूले पार्टीमा खबरदारी गरेको थापाले बताउनुभयो।

‘भोट माग्न जाँदा हामीले अरू पार्टीभन्दा फरक छौं भनेका हौं। प्राइमरी इलेक्सन गरेको भनेका छौं। यसमा तलमाथि नहोस्,’ थापाले भन्नुभयो।

उहाँले जनताले प्रतिपक्षमा बस्न म्यान्डेट दिएकोले पार्टी सरकारमा जान नहुने र प्रतिपक्ष बस्नुपर्ने पनि बताउनुभयो ।

Share Now

Leave a comment.